तरकारी र भैँसीपालनमा अब्बल हेर्नीकाँध

मुगु । डोकोमा तरकारी, हातमा दूधको भाँडो लिएर हरेक बिहान गमगढी बजारमा बिक्री गरेर फर्किनु छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँकी कुशुमदेवी कार्कीको नियमित कार्य हो ।

कार्की मात्रै होइन गाउँका २३ वटै घरधुरीका महिलाको दिनचर्या यसैगरी बित्ने गर्छ । महिला बहुउद्देश्यीय कृषि तथा पशुपालन समूह गठन गरी यस गाउँका महिलाहरूले बाह्रै महिना तरकारी खेती गर्दै आइरहेका छन् । महिलाहरू एक घण्टाको पैदल यात्रागरी मुगुको एक मात्र व्यापारी केन्द्र गमगढी बजारमा दैनिक तरकारी बेच्न आउने गरेका हुन्छन् ।

आयातित तरकारीलाई निरुसाहित गर्नुपर्ने मान्यता बोकेका महिला बिहान बेलुुका समय मिल्नासाथ पिठ्युमा डोको बोकी तरकारी बेच्न बजारमा आउने गरेका र तरकारीबाटै हेर्नीकाँधका महिला नमुना बनेका छन् । हेर्नीकाँधका महिलालाई जिल्ला सफल उद्यमीका रूपमा हेर्ने गरेको छ ।

विगत लामो समयदेखि तरकारी खेतीमा अब्बल देखिएको छायानाथ रारा नगरपालिका–३ स्थित हेर्नीकाँध गाउँ पछिल्लो समयमा भैंसीपालनमा समेत नमुना बन्दै गएको छ । अति विपन्न किसान सरकार हातेमालो कार्यक्रमअन्तर्गत यो गाउँका २३ घरधुरीले दुहुनो भैँसीपालन सुरु गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २५ लाखको लगानीमा गाउँका सबै घरधुरीले दुहुनो भैँसी किनेका हुन् ।

विज्ञ केन्द्र र छायानाथ रारा नगरपालिकाको समन्वयमा हेर्नीकाँध गाउँलाई जिल्लाकै नमुना गाउँ बनाउने गरी छनोट गरी व्यावसायिक भैँसीपालन सुरु गरिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताए । भैँसीपालन सुरु भएपछि दैनिक यो गाउँबाट ७० देखि सय लिटरसम्म दूध बजारमा आउने गरेको छ ।

तरकारी खेतीमा राम्रो उत्पादन गरिरहेको यो गाउँका कृषकलाई भैँसीपालनमा अनुदान दिनुको साथै गोठ सुधार तथा कम्पोस्ट मल उत्पादन, दूध संकलन केन्द्र, बजार व्यवस्थापन, उन्नत जातको घाँसलगायत क्षेत्रमा नगरपालिकाको साझेदारीमा सहयोग गर्ने पशुविज्ञ केन्द्रका कार्यालय प्रमुख भीमचन्द्र बुढाले जानकारी दिए । सदरमुकामदेखि आधा घण्टाको दुरीमा पर्ने यो गाउँलाई यसै वर्षभित्र सडकसँग जोड्ने, कृषि पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ यो गाउँ छनोटमा परेको विज्ञ केन्द्रले जनाएको छ ।

यो गाउँका सबै महिला तरकारी खेती र भँैसीपालनमा सक्रिय छन् भने लोग्नेमान्छेको पनि उत्तिकै भूमिका रहेको स्थानीयवासी तथा शिक्षक हंशबहादुर बुढाले बताए । तरकारी बेचेर मात्र मासिक यो गाउँमा पाँच लाखसम्म आम्दानी हुँदै आएकोमा व्यावसायिक भैँसीपालनले आम्दानी अझै बढ्ने र पोषण तथा स्वास्थ्यमा सुधार आउने अर्का स्थानीय रंगबहादुर कार्कीले बताए ।

तरकारी खेती र भैँसीपालनपछि स्थानीयको जीवनस्तरमा निकै सुधार आएको कार्कीको भनाइ छ । सबैको घर खर्च सञ्चालनमा सहज र बालबालिकालाई पठनपाठनमा सहज भएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया