काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मृत्यु हुनेको सख्या ३२ पुगेको छ । २१ जना बेपत्ता भएका छन् ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार १० हजार बढि घरपरिवार विस्थापित भएका छन् । यस्तै २३ घाइतेलाई उद्दार गरी अस्पताल पठाइएको जनाएको छ । सबैभन्दा बढि ललितपुरमा ६ जनाको मृत्यु भएको छ । भोजपुरमा पाँच, काठमाडौं, खोटाङ र काभ्रेपलाञ्चोकमा तीन-तीन जनाको बाढी र पहिरोमा परि मृत्यु भएको हो । यसैगरी मकवानपुर, धादिङ र सिन्धुलीमा दुई-दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएको बताइएको छ । बेपत्ता हुनेमा सिन्धुलीमा मात्रै ६ जना र इलाममा तीन जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार महोत्तरीमा ५००, रौतहटमा २००, सिन्धुलीमा ७०, काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक÷एक जनाको उद्धार गरिएको छ । बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ ।
प्रतिक्रिया