काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले बोल्ने ठाउ नदिएको भन्दै सरकार र नेतृत्वको आलोचना गरेका छन् । पार्टी एकतापछि पहिलोपटक सांसदलाई बोल्न दिएको संसदीय दलको बैठकमा सांसदले सो गुनासो गरेका हुन् ।
पार्टीभित्र बोल्ने ठाउँ र सुन्ने नेतृत्व नभएका कारण संसद्मै बोल्नुपरेको गुनासोसमेत उनीहरूले गरेका छन् । उनीहरूले बाध्य भएर आफुहरू सरकारको आलोचनामा उत्रिनुपरेको उल्लेख गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सोमबार करिब ४ घण्टा लामो बैठकमा ९ सांसदले बोलेका थिए ।
जसमध्ये अधिकाशंले मन्त्रीको कार्यशैली, एकल निर्णय र बजेटका बारेमा गुनासो पोखेका थिए । ‘पार्टी र सरकारका कामबारे हामीसँग सरसल्लाह हुँदैन, आफ्नो कुरा राख्ने ठाउँ पनि पाइएन, त्यसो गर्नु राम्रो त होइन तर संसद्को बैठकमा बोल्नुबाहेक विकल्प पनि रहेन’, सांसदले नेतृत्वलाई सुनाएका थिए ।
बैठकमा बोल्दै सांसद भिम रावलले सरकार र पार्टीलाई लिखित सुझाब दिँदै नेतृत्व नसुध्रिए स्थिति झनै भयावह आउन सक्ने चेतावनी दिए । उनले विधेयक ल्याउँदा र सरकारले अरू निर्णय गर्दा पनि पटक्कै सरसल्लाह नगरेको भन्दै सरकार र पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए । ‘विधेयक ल्याउँदा न पार्टीभित्र सरसल्लाह हुन्छ न बाहिर हुन्छ । मन्त्रीहरूले पनि हाम्रो कुरा गम्भीररूपमा लिनुहुन्न । हामी त कुरै नबुझ्ने जस्तो भइयो’, रावलको भनाइ थियो । मन्त्रीहरूले बजेट मनपरी ढंगले बाँडेको भन्दै आलोचना पनि गरे ।
सरकारको चर्को आलोचना गर्दै आएका सांसद जनार्दन शर्माले पनि जनताका कुरा भन्नैका लागि संसद्को सहारा लिनुपरेको बताए । ‘जनताका कुरा सरकारालाई सुनाउनैपर्यो, संसद्बाटै हो भन्ने’, उनले भने, ‘यस्ता फोरम नराखेपछि संसद्कै सहारा लिएका हौँ, संसदीय दल नियमित बसेको भए हामीले संसद्मा कराउनै पर्दैनथियो ।’ अर्की सांसद रामकुमारी झाँक्रीले पार्टीका फोरम नहुँदा अगाडि बढ्नै नसकिएको बताइन् । ‘बोल्नै ठाउँ नै पाइएन’, उनले भनिन्, ‘हामीले कुरा सुनाउने ठाउँ नपाएपछि सरकारलाई के सुनाउनु ?’
मन्त्री महासेठसँग वाकयुद्ध
बजेट बाडँफाँडका विषयमा सांसद र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबिच वाकयुद्ध नै चलेको छ । सांसद रावलले मन्त्रीहरूले आफ्ना कुरै नसुन्ने बताएपछि अन्य सांसदले पनि हो मा हो मिलाएका थिए । ‘मन्त्रीहरूले हाम्रा कुरै सुन्दैनन, आफूखुसी योजना बनाएर आफ्नो जिल्लामा धेरै पारेका छन’, रावलले भने, ‘यस्तो मनपरी भएपछि सरकार समस्यामा पर्छ नि ।’
रावलले यसो भनेपछि मञ्चमा रहेका महासेठ उठेर योजना बनाउन कसैले सिकाउन नपर्ने बताए । त्यसपछि रावलले ‘हाम्रा कुरा नसुन्ने … को हो भन्दै महासेठविरुद्ध खन्निएका थिए । त्यसपछि मन्त्री महासेठको जुहारी अर्का सांसद लालबहादुर थापासँग पनि पर्यो । लालबहादुरले आफ्नो आलोचना गरेपछि जंगिएका महासेठले वामदेव गौतम लगाएर दबाब दिएको भन्दै आक्रोशित भए ।
थापासँग महासेठको तँ तँ म म परेसँगै अर्का सांसद झपट रावलले पनि सरकारको आलोचना गरे । ‘मन्त्रीहरूले आफूखुसी बजेट बनाएका आलोचना गरेको हो’, उनले भने, ‘कुरा राख्ने ठाउँ पाएनौँ, त्यही भएर संसद्मा मौनधारण गर्नुप¥यो ।’
धैर्य गर्न अध्यक्षद्धयको आग्रह
लामो समयपछि सांसदका गाली सुनेका नेतृवले भने सांसदलाई धैर्य राख्न आग्रह गरेका छन् । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका कतिपय निर्णयमा सरसल्लाह गर्न नपाएको भन्दै केही समय धैर्य गर्न आग्रह गरे । उनले नेकपा र वर्तमान सरकारप्रति जनताको ठूलो भरोसा भएकाले त्यसलाई टुट्न दिन नहुने बताए । ‘हामीप्रति जनताको ठुलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि हामी सबैले जो जहाँ छौँ त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले यसै आर्थिक वर्षभित्र पार्टी एकताका सबै काम टुंगिसक्ने जानकारी गराउँदै आगामी वर्ष उत्साह र उमंगको हुने बताए । ‘पार्टी एकता भएन भनेर अब धेरै निराश हुनु पर्दैन । असारभरीमा एकताका काम टुंगिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘आगामी आर्थिक वर्ष हाम्रा लागि उत्साह र उमंगको वर्ष हुनेछ ।’
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले अहिले मिलेर जानुको विकल्प नभएको बताएका छन् । केही शक्ति खेलिरहेको भन्दै आफूहरूले आँटेर गरेको पार्टी एकता केही दिनभित्रै पूरा गर्ने आश्वासन दिए । पार्टीमा एकता गर्दादेखि नै प्रस्तुतिमा केही फरक रहेको र त्यो अहिले पनि देखिएको भए पनि पार्टी एकतालाई टुंगोमा पु¥याउनुको विकल्प नभएको उनले बताएका छन् । ‘मेरो आफ्ना कुराहरू राख्ने सन्दर्भमा पनि पार्टी एकतामै अर्को अर्थ लाग्ने केही भनेको रहेछु भने फिर्ता लिन्छु’ उनले बैठकमा भने ।
आफू र अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली सल्लाह गरेर नै काम गरिरहेको उनले सुनाए । उनले अघि भने, ‘हामी एउटै डुंगामा छौँ, डुबे सबै डुब्छौँ, भेलले बगाए सबैलाई बगाउँछ । एकतालाई टुंगोमा पु¥याउनुको विकल्प छैन ।’ सोमबारको बैठकमा १७४ सांसद मध्ये २९ जनाले मात्र बोलेकका छन् । अर्को बैठक २१ गते शनिबार बोलाइएको र त्यहा बाँकी रहेका सांसदले बोल्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा सांसदहरू टेकबहादुर बस्नेत, भीम रावल, रामकुमारी झाँक्री, झपट रावल, रामनारायण बिडारी, लाबहादुर थापा र जनार्दन शर्मासहित २९ जनाले बोलेका हुन् ।
प्रतिक्रिया