समग्रमा भन्नुपर्दा आजको मिति सम्म नेपाल र नेपालीका लागि शनिग्रह सरह नेपालको राजकाज सञ्चालनमा छ । लक्षण हेर्दा सुखमय वा आगामी दिनहरू पनि सुरक्षित र सहज होलान भन्ने देखिदैन । नेपाली राजनीतिक आकाशमा मडारिँदै गएको कालो बादल फाटेर छर्लंग घाम लाग्ला र स्वर्णीम दिनहरूको पुनरावृत्ति भएर सबै तह र तप्कामा यसले उज्यालो छर्ला भन्ने आशा गर्न सकिने अवस्था निकै कम देखिएको छ
नेपाली समाजको आमूल परिवर्तन गर्नका लागि निरंकुश राजतन्त्र, सामन्तवाद वा यस्तै यस्ता व्यवस्थाको अन्त्य गरी जनतालाई सार्वभौमशक्ति सम्पन्न बनाएको खण्डमा मात्र मुलुकको कायापलट हुने अभिव्यक्ति हिजोका दिनहरूमा आजका सत्तासिन दलहरूका उच्च नेता र स्थानीय नेता कार्यकर्ताहरूले व्यापक रूपले जनतामाझ हौवा फैलाए ।
नेपाली जनता पनि के कम ? जुन पार्टीले उच्च आदर्श र क्रान्तिको कुरा ग¥यो त्यसैका पछाडि लागिहाल्नुपर्ने र शान्तिपूर्ण होस् या सशस्त्र किन नहोस् आन्दोलनमा नेपाली जुझारूपन देखाइहाल्नुपर्ने । तिनै दलहरूको आह्वानमा हरेक चरणका र कालमा थालिएका आन्दोलनका प्रमूख हिस्सेदार बन्दै नेपाली जनताले ज्यानको आहुति दिँदै आन्दोलनका कालखण्डहरू पनि पार गरे । फलस्वरूप आन्दोलनले सार्थकता पनि पायो र देशमा व्यवस्था पनि परिवर्तनहरू भए ।
ती सबै आन्दोलन वा संघर्षको आशय भनेको नै नेपाली जनताको राज्य स्थापना वा जनताको अधिनायकत्व स्थापित गर्ने नै थियो तत्कालिन अवस्थामा । दलका नेता तथा नेतृत्वलाई जनताले आन्दोलनका क्रममा घरमा वास, गाँस र कपास दिएर सडकमा रानी माहुरीझैं बिचमा पारेर सुरक्षा पनि प्रदान गरे । जनताको बलका सामु कुनै पनि तानाशाहहरू टिक्न सकेनन् । जनताले विजयी नै प्राप्त गरेर छाडे । त्यसपछिका कालखण्डमा फेरी पनि नेपालमा केही शक्तिहरू परम्परागत जडसूत्रवादको मन्त्र जप्दै पुरानै व्यवस्था ठीक थियो भनेर विगत नियालेर वर्तमान अनि भविष्यको बाटो तय गर्नका लागि फेरी पनि जनताका माझ समर्थको कटौरा दिलएर शक्तिको भिक्षा माग्दै छन् ।
कोही दलहरू सत्तामा पुगेर विगत भुलेर भविष्यको पनि चिन्ता नै नगरेर तीनै जनतालाई शक्तिशाली होइन रैती बनाएर सत्ताको रसद चाखिरेका छन् भने हिजो वर्तमान अवस्था ल्याउनका लागि आन्दोलनको हिस्सा ओगटेका दलहरू सत्तासिन हुन नपाएको वा सरकारमा जान नपाएको झोकमा संसद, सडकमा विभिन्न समूहहरूलाई उकासेर आन्दोलनको राप बढाउँदैछन् ।
नेपालको राजनीतिमा फेरी १० वर्षे जनयुद्धताका जनताका बीचमा असहमतिपूर्ण जर्वजस्तवाद लादेर जनअनुमोदन विना शैन्य शक्ति परिचालन गरेर जनतालाई युद्धमा होम्याउने शक्ति जस्तै फेरी नयाँ जनवादी क्रान्तिको नाम दिएर भूमिगत बनेको अवस्था छ । सरकारले त्यो शक्तिलाई पूर्ण रूपले प्रतिबन्ध लगाइसकेको अवस्था छ । कतै विगतको अवस्था नेपालमा फर्किने पो होकी भन्ने भान आम नेपाली जनतामा त्यो शक्तिले पारिरहेको अवस्था पनि छ । जसले सूक्ष्मरूपले जनतालाई संगठित पार्ने र जनताका बीचबाट शक्तिको मुड्की तयार गरेर वर्तमान सरकारका विरूद्ध पड्काउने ध्याउन्नमा पनि लागिरहेको छ ।
यता वैधानिक रूपले विभिन्न जातजाति समुदायका मानिसहरूलाई आपसमा लडाएर जातीय र क्षेत्रीय राज्यमा नेपाललाई चक्लाबन्दी गर्दै छोटेराजाको शैलीमा देशलाई चलाउने सोचमा पनि केही शक्तिहरू लागि
परेका छन् । समग्रमा भन्नु पर्दा आजको मिति सम्म नेपाल र नेपालीका लागि शनिग्रह सरह नेपालको राजकाज सञ्चालनमा छ । लक्षण हेर्दा सुखमय वा आगामी दिनहरू पनि सुरक्षित र सहज होलान् भन्ने देखिँदैन । नेपाली राजनीतक आकाशमा मडारिँदै गएको कालो बादल फाटेर छर्लंग घाम लाग्ला र स्वर्णीम दिनहरूको
पुनरावृत्ति भएर सबै तह र तप्कामा यसले उज्यालो पन छर्ला भन्ने आशा पनि गर्न सकिने अवस्था निकै कम देखिएको छ । नेपालमा सञ्चालित राजनीतिक दलहरू र तिनका दर्शनहरूले देशलाई राष्ट्रियकरण गर्ने हो या अन्तर्राष्ट्रियकरण गर्ने हो त्यो भने आजै भन्न सकिने अवस्था छैन । नेपालका हरेक राजनीतिक दलहरूले राष्ट्र, राष्ट्रियता र समाजवाद र समृद्धिका कुराहरू राखेकै हुन्छन् । तर, ती राष्ट्रवाद र राष्ट्रियता सत्तामा वा शक्तिमा पुगेपछि सारा चक्नाचुर भएर परनिर्भरतामा परिणत हुने रहेछन् । राष्ट्रिय स्वाभिमानका लागि हिजो जसरी जनतालाई आन्दोलित गरियो त्यसपछिका दिनहरूमा तिनै जनतालाई सडकमा छाडेर अर्कै संसारको सुखानुभूतिमा लागने दलहरू र दलका उच्च नेताका कुर्तुतले जनता आक्रोशित र निरास बन्दै जान थालेका छन् ।
नेपाली जनताले जसरी राजनीतिक दलहरू र तिनका साना अनि अदूरदर्शी सोचले देश अनि राजनीति सञ्चालन गरिरहेका छन् त्यसको फाइदा पराइले लिएका छन् । आज वैदेशिक शक्ति केन्द्रहरूले मजाले हेर्दै नियाल्दै र त्यसैका आधारमा योजना बनाउँदै नेपालको स्रोत दोहन गर्ने अभिष्ट पूरा गर्दैछन् । समग्रमा नेपाली राजनीतिकर्मीहरूको परर्निभर राजनीति गर्ने नियति र परम्परालाई उनीहरूले लगाताररूपमा जारी रहेको हेर्न चाहन्छन् भाइ फुटे ग्वाँर लुटेको अवस्था नेपालमा कायमै रहोस् र आफ्नो स्रोतमाथिको लडार्इं सफलतातर्फ उन्मुख भइरहोस् भन्ने उनीहरूले चाहेका छन् । त्यसैको सिकार नेपाली राजनीतिकर्मी र नेतृत्वहरू भइरहेका छन् ।
जसको फलस्वरूप आज नेपालको राजनीतिले दिशा लिन सकेको छैन । हामीले पहिलोपटक प्रजातन्त्र प्राप्त गरेसँगै स्वतन्त्र भएका भारत, चीन लगायतका देशहरू संसारका सम्पन्न मुलुकको सूचीमा पुगिसकेका छन् । तर, नेपाली जनताले व्यवस्था परिवर्तनका लागि पुस्तौं —पुस्तासम्म दिनहरू बिताउनुपर्ने अवस्था किन आयो ? भन्ने कुराको सामान्य पनि समिक्षा नेपालका राजनीतिक दलहरूले गर्न सकिरहेका छैनन् । किन नेपाल असफल राष्ट्र बन्दै छ ? किन यो देशका जनताले पराईको गुलाम बन्नुपरिरहेको छ ? किन नेपाली भूमिमा शान्ति स्थापना हुन सक्दैन ? यसको ठण्डा दिमागले नेपालका राजनीतिक दलहरूले सोच विचार पु¥याउन सकेनन् । यो गम्भीर सोचनीय विषय बनेको छ ।
लाखौँ युवाहरू विदेशका खाडीमा श्रम बेचिरहेका छन् । सातामा एक दर्जनको शव बाकसमा नेपाल आइरहेको छ । किन महिलाहरू हिंसाका सिकार बनिरहेका छन् ? किन समाजमा अहिले पनि विभिन्न कु्रीति कुसंस्कारका कारण नेपाली जनता २१औं शताब्दी अर्थात् विज्ञानको दुनियाँमा अपवाद बनिरहेका छन् ? यस कुरालाई नेपालका राजनीतिक दलहरू र बौद्धिक जगतका बीच गम्भीर छलफलको विषय बन्न जरुरी देखिन्छ ।
नेपालीमा एउटा उखान छ–‘पैसा देखे महादेवका पनि तीन नेत्र’ भन्ने । यही उखान आज नेपाली राजनीतिमा लागू भइरहेको छ । सबै दल र सबै राजनीतिकर्मीहरू नभए पनि केही दल र सत्तामा रहेका दलका मन्त्री, सांसददेखि लिएर स्थानीय तहका जनप्रतिनीधिहरू विकलांग ताल देखाई रहेका छन् । जनताले लडाइँ लडेर उनीहरूलाई सत्ताका ठेकेदार बनाइदिए । भोट दिने र सत्ता परिवर्तन गर्ने जनताले केही नपाउने तर सत्तामा पनि पुग्ने, तलब पनि खाने अनि जनताको नाममा आएको विकास बजेट पनि पेटमा हाल्ने भ्रष्ट काम नेता र सरकारमा रहेका मानिसहरूले गर्लान् भन्ने कल्पना विगतमा कसैले पनि गरेका थिएनन् ।
जनताको बलिदानीस्वरूप सत्तामा पुगेर भत्ता खाँदै गर्दा नेता र मन्त्री, सांसद वा वडासदस्यले पनि यतिसम्म बुझेनन् कि, ‘म जनताको बलभन्दा माथि छैन ।’ जनता देउता हुन् र न्यायाधीश हुन भन्ने कुरालाई कदापि पनि बुझ्न सकेनन् । उल्टै जनतालाई रैती बनाएर राजनीतिक शक्तिलाई स्रोतको लोभमा डुबाएर राजनीति गर्ने जुन कुचेष्टा हाम्रा राजनीतिकर्मीहरूले गरिरहेका छन् यसले प्रतिक्रियावादी शक्तिलाई मलजल पु¥याएको छ । उनिहरूले वेलैमा सोचविचार पु¥याउन जरुरी देखिन्छ ।
हरेक कुराको सीमा हुने गर्दछ, त्यो विधी र विज्ञानलाइ राजनीतिक दलहरूले बलैमा बुझेनन् भने राष्ट्रियता र एकता खलबलिनेछ । राजनीतिक शक्तिलाई स्रोतले अवस्य पनि ओझेलमा पर्ने खतरा आउनेछ । त्यस कुरामा सरकारले जिम्मेवार बन्नुपर्छ भने प्रतिपक्षले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ । यसरी अगाडी बढेको खण्डमा मात्र नेपालले राजनीतिक, आर्थिक एवं सामाजिक रूपले विकासको बाटो तय गर्न सम्भव रहन्छ ।
प्रतिक्रिया