विधेयकका विरुद्ध खबरदारी सभा

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी विद्येयक फिर्ता लिएपनि त्यसको खारेजीको माग गर्दै सम्पदाप्रेमीले काठमाडौंको माइतीघर मण्डलामा खबरदारी सभा गरेका छन् । बुधबार राजधानीबासी स्वतः स्फूर्त रूपमा खवरदारी सभामा सहभागी भएका थिए ।

उनिहरूले गुठी सम्बन्धी विधेयक फिर्ता हुनुलाई आंशिक सफलता भनेका छन् । खबरदारी सभामा भाग लिन काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयार सहित सर्वसाधारणहरू माइतीघर मण्डलामा भेला भएका थिए । उनीहरूले गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि निरन्तर खबरदारी जरुरी रहेको बताएका छन् । विधेयक फिर्ता हुनु सकारात्मक भएपनि पूर्ण रूपमा खारेज नभएसम्म आफूहरूको आन्दोलन जारी रहने उनीहरूको भनाइ थियो ।

सभामा भाग लिन स्वतःस्फूर्त रूपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा ओहिरिएका छन् । नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरू मण्डलामा जम्मा भएका हुन् । उनीहरूले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने भन्दै खारेज नै हुनुपर्ने माग अघि सारेका छन् । फिर्ता लिएको विधेयक जुनसुकै वेला पुनः प्रस्तुत हुन सक्ने भन्दै खारेज नै गर्नुपर्ने माग गरेका हुन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै वेला अघि बढ्नसक्ने भएकाले खारेजी हुनुपर्ने माग गरे ।

सभामा सहभागी हुन सहरका विभिन्न स्थानका गुठियार मौलिकता झल्काउने बाजागाजा एवं सांस्कृतिक पहिचानसहित आएको देखिन्थे । कार्यक्रममा वरिष्ठ अधिकारकर्मी नेवाः देय् दबुका संरक्षक मल्ल के. सुन्दर, सम्पदा अभियानकर्मी शैलेश शाक्य बरेजु, सुदय सिलाकार, हलि नेवाः गुठीका संयोजक शान्तप्रकाश श्रेष्ठ, सेभ नेपाः भ्यालीका सुरज महर्जन, खोकना द्रुतमार्ग पीडित संघर्ष समितिका असोज महर्जन, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी, राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ, गुठी संस्थानको औचित्यबारे उच्चस्तरीय अध्ययन समितिका संयोजक पवित्र बज्राचार्य, सडक विस्तार पीडित आन्दोलनका अग्रज वरिष्ठ अधिवक्ता शंकर लिम्बू, जनकवि दुर्गालाल श्रेष्ठ, डा. महेशमान श्रेष्ठ, नेवाःदेय् दबुका अध्यक्ष नरेश ताम्राकार, बौद्ध बिहार संघ गुठी विधेयक विरुद्ध संयुक्त सघर्ष समितिका अध्यक्ष नानीभाइ शाक्यलगायतले सरोकार भएका निकायसँग छलफल नगरी ल्याइएको विधेयक खारेज गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रियसभामा गुठी विधेयक दर्ता भएपछि उपत्यकाका विभिन्न स्थानका साथै प्रमुख शहरमा पनि यसको विरोध भएको थियो । गुठी अभियानकर्मीले गरिएको वृहत् प्रदर्शन एवं सभामा उपत्यकाका तीनै सहरका गुठियार बाजागासहित उपस्थित भएका थिए । प्रदर्शनका कारण कोटेश्वरबाट रत्नपार्क आउने सवारी घण्टौँ प्रभावित भएको थियो । उनीहरूले सरकारविरुद्ध चर्को नारा समेत लगाएका थिए ।

सभ्य र भव्य आन्दोलन
आन्दोलन भन्ने वित्तिकै प्रहरीसँग धम्साधम्सी, तनाव, तोडफोड भन्ने बुझने गरिएको छ । तर, गुठी विधेयक फिर्ता लिएपनि खवरदारीका लागि गरिएको आन्दोलन निक्कै सभ्य र भब्य देखिएको थियो । प्रदर्शनमा सहभागीलाई उनीहरुले नै पिउने पानीको व्यवस्था मिलाएका थिए । चर्को गर्मीमा सहभागिलाई सहज होस् भनेर ठाउँठाउँमा पीउने पानीको प्रवन्ध मिलाइएको थियो ।

प्रदर्शनकारीले सडकमा हिँड्ने बटुवादेखि सुरक्षाका लागि खटिएका प्रहरीलाई पनि पानी खुवाएका थिए । यस्तै प्रदर्शनमा सहभागी भएका गायक योगेश्वर आमात्यले भने प्रदर्शनकारीलाई नियन्त्रण गर्न बसेका प्रहरीलाई पुष्प गुच्छा बाँडेर स्वागत गरेका थिए । केही दिनअघि पाटनमा निस्किएको जुलुसमा समेत उनले प्रहरीले पुष्प गुच्छा बाडेका थिए । आफूहरुले अहिलेसम्म शान्तिपूर्ण आन्दोलनबाट सरकारलाई धर्म संस्कृतिमाथि प्रहार नगर्न सचेत गराउँदै आएको र आगामी दिनमा पनि आफूहरुले गर्ने संघर्ष शान्तिपूर्ण नै रहने पनि अमात्यले बताए ।

सरकारले पनि आन्दोलनकारीका लागि सहज वातावरण बनाएको देखिएको छ । शान्तिपूर्ण आन्दोलनका लागि सरकारले नयाँ बानेश्वर क्षेत्रमा लगाएको निषेधित क्षेत्र पनि खोलिदिएको थियो । आन्दोलन निक्कै सम्भ बनाउन यसअघि नै तयारी भएको थियो । आन्दोलनले माइतीघर मण्डलासहित उपत्यकाका मुख्य सडकहरु प्रायः ठप्प बने पनि कुनै हिंसात्मक घटना भएन । एम्बुलेन्सलाई समेत उनिहरुले सहज रुपमा सो सडक प्रयोग गर्न दिने वातावरण बनाएका थिए ।

विगतमा प्रर्दशनकारीले ल्याएका प्लेकार्ड, पानीका बोतल आन्दोलनस्थलमै छाडेर जान्थे । तर, यो आन्दोलनमा भने आन्दोलनकारीले खवरदारी सभापछि आफैले सो सडक सफा समेत गरेका थिए । प्रदर्शनका क्रममा भएका फोहोर पनि प्रदर्शनकारीहरु आफैले उठाएर सफाइ गरेका हुन् । माइतीघर मण्डला र वरपर प्रदर्शनकारीहरुले खाएका खाली पानीका बोत्तल, जुसका डब्बादेखि चुरोटका ठुटा तथा गुट्खा, खैनीका खाली खोलसमेत उनीहरु आफैले उठाएर सफाइ गरे । सडकमा खसेका पम्पलेट, प्लेकार्ड तथा साना साना फोहोर टुक्रा पनि उठाएकाले माइतीघर मण्डला चिटिक्क देखिन पुग्यो ।

प्रतिक्रिया