कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

बैठक अवरोध: प्रतिनिधिसभाको मंगलबारको बैठक नाराबाजीका साथ अवरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेकाका सांसद् । प्रधानमन्त्री भन्दा आफूहरूले पहिला बोल्न पाउनुपर्छ भनी नारा जुलुस गरेका हुन् ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

कांग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको सुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले समय उपलब्ध नगराएकाले विरोध गर्नुपरेको जनाएको छ । कांग्रेसका सांसदहरुले आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा सभामुख महराले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहएकाले उनको वक्तव्यपछि उनिहरुलाई बोल्न समय दिने बताएका थिए ।

सभामुखले प्रतिपक्ष दलका सांसदलाई उक्त आग्रह गरिरहँदा विपक्षी सांसदले संसदीय मर्यादा कायम गरियोस् र प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्ट्रम अगाडि गएर नाराबाजी गरेका थिए । सभामुखले विरोध जनाइरहेका सांसदहरूलाई पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।

प्रधानमन्त्री ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा उभिरहेका थिए । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको घोषणा गरे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूची थियो ।

प्रतिक्रिया