सेफ्टीट्यांकीमा खसेर चार बालबालिकाको मृत्यु

दार्चुला । नौगढ गाउँपालिकामा विद्यालयको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ । जिर्ण रहेको सो सेफ्टीट्यांकीमाथी खेल्दै गरेका चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

नौगढ गाउँपालिका– ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको करिव पाँच वर्ष पुरानो सेफ्टीट्यांकीमाथी थुपारिएको माटोमा उनिहरु खेलिरहेका थिए । सिप्टी चौकीका इन्चार्ज देवदत्त भट्टका अनुसार मृत्यु हुनेमा बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी, कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना र कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी छन् ।

सेफ्टीट्यांकीको ढक्कनमाथि माटो राखेर बनाइएको मैदानमा खेल्दै गरेका ती बालबालिकाको एक्कासी ढक्कन भाँसिदा त्यसभित्रै मृत्यु भएको स्थानीयले बताएका छन् । ढक्कन भाँसिदा ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर गहिरो ट्याङ्किमा पुरिएका थिए ।

घटना घटेको केही समयपछि थाहा पाएकाले उद्धार गर्नसमेत तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज भट्टले जानकारी दिए । ‘माटोसहित बालबालिका ट्याङ्कीमा परे, वर्षा पनि लगातार भई रहेकोले बेलुका मात्रै ट्याङ्कीबाट लाश निकालेर सनाखत गर्न सकियो’ स्थानीयले भने । प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीका अनुसार अपराह्न करिब चार बजे सेफ्टीट्यांकीमाथि खेलिरहँदा ट्यांकी भासिएको थियो ।

अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए । अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए । विद्यालयका शिक्षक जगतसिंह चैसिरले भने,‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन् । खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो ।’

बालबालिको लाश पहिचान भएपछि पूरै सिप्टी गाउँ शोकमा डुबेको छ । ‘भर्खर विद्यालय जान लागेका बालबालिका खेल्दाखेल्दै विद्यालय परिषर मै मृत्यु भयो, सधैँ बालबालिका खेल्थे, बेलुकी चरा जस्तै स–साना नानीहरूको हुल हुन्थ्यो, नानीहरूको मृत्यु सपना जस्तै भएको छ’ मलिन अनुहारमा जयमति धामीले भनिन् । घटना भएको थाहा भएलगत्तै सबै अभिभावक आफ्ना बालबच्चा खोज्न लागेका थिए । शुरुमा कति बालबालिका खाल्डोमा पुरिएका हुन् यकिन भएको थिएन । बुधबार पोस्टमार्टम गरिने र अन्तिम संस्कार गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया