सम्पत्तिमा अनाधिकृत कब्जा

काठमाडौं । भनिन्छ, नेपालको सबैभन्दा धनी मन्दिर भनेको पशुपतिनाथ हो । काठमाडौंको एक मुख्यस्थानमा हजारौँ रोपनी जग्गा ओगटेको यसको सम्पत्ति अथाह रहेको छ ।

वार्षिक लाखौँ भक्तजन उपस्थित हुने पवित्र मन्दिर पशुपतिनाथमा मासिक रूपमै लाखौँ रुपैयाँ भेटिका रूपमा संकलन हुने गरेको छ । तर, कुल सम्पत्ति कति हो भनेर अहिलेसम्म पनि एकिन विवरण पत्ता लाग्न सकेको छैन ।

मानिसहरू आफ्नो रक्षा र सुख समृद्धिको कामना गर्दै पशुपति आउँछन् । तर, तिनै पशुपतिनाथ आफ्नो सम्पत्तिको रक्षा गर्न भने असमर्थ देखिन्छन् । विभिन्न छानविन समिति बनेपनि तिनले यत्ति नै सम्पत्ति पशुपतिनाथको हो भनेर पत्ता लगाउन सकेका छैनन् । पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले पछिल्लो ५७ वर्षमा ९ किलो बढी सुन रहेको जनाएको हो ।

पशुपतिनाथ मन्दिरको मूल ढुकुटीमा चल सम्पत्तिका रूपमा ९ किलो २ सय ७६ ग्राम सुन र ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी देखिएको जनाएको हो । वि.सं. २०१९ देखि २०७५ सम्ममा मन्दिरको नगद सम्पत्ति एक अर्ब २९ करोड ३८ रुपैयाँ रहेको समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए । तर, समितिले २०१९ अघि सुन कति थियो भनेर पत्ता लगाउन सकेन । त्यस अघिको लागत राख्ने नगरेको र मिलेमतोमा व्यक्तिले लैजाने गरेको छानविन समितिको आशंका रहेको छ ।

वि.सं. २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का नै प्राप्त गर्न नसकेको समितिले जनाएको छ । लिच्छवी राजा सुपुष्प देवले सुरुमा निर्माण गरेको पशुपतिनाथ मन्दिरको यो ढुकुटीमा २०६८ सालसम्म कति सुन जम्मा भएको थियो भनेर पत्ता लाग्न सकेको थिएन । त्यस बखतसम्म आएका सुन कसले कति राख्यो वा कोषमै कति जम्मा गर्यो भनेर एकिन थिएन । तत्कालीन अवस्थामा रहेका पुजारीले भेटी मात्र लिने गरेको नभई मन्दिरको ढुकुटीमा पनि पठाएका छौँ भनी देखाउन केही भेटी रकमबाट सुन किन्ने गरेका थिए । तर, उनीहरूले कसको रोहवरमा सुन किन्ने गरेको केही खुल्न सकेको छैन ।

विगतमा भेटी पशुपतिनाथका पुजारी तथा भण्डारीले बाँडीचुँडी भाग लगाई लैजाने परम्परा रहेको थियो । जसका कारण भेटी यति नै संकलन भएको भनेर एकिन छैन । २०६८ चैत ६ गते भेटी परिचालनसम्बन्धी नियमावली जारी भएपछि भने यस्तो रकम केही हदसम्म पारदर्शी भएको छ । नियमावलीपछि पशुपति क्षेत्र विकास कोषले भेटीलाई बैंकमा राख्ने प्रबन्ध गरेको छ ।

मूलपुजारीसहित भण्डारीको तलव भत्ता, मन्दिर भित्रका निर्माण कार्य तथा व्यवस्थापनमा हुने खर्च भेटीमा प्राप्त रकमबाट गरेको छ । ढुकुटी र मन्दिरको गजुर मुन्तिरको तलामा के के छ ? भन्ने पनि यकिन छैन । गजुर मुन्तिरको भागमा प्रवेश गर्ने खापा सोही तलामा छ । रङरोगन गर्ने क्रममा सो तलामा युद्धमा लगाउने फलामे कवच र केही हतियारसम्म देखिएको भन्ने कुरा बाहिर आएको छ ।

पशुपतिनाथ मन्दिरको सम्पत्तिमा पहिलादेखि नै लापरवाही हुँदै आएको छ । तर, अझ रोचक कुरा त के छ भने पशुपतिनाथको करिब १९ हजार रोपनी जग्गामा १ सय ९५ वटा गुठी सञ्चालनमा रहेका छन् । मूल मन्दिर वरपर रहेका अन्य मन्दिरको सम्पत्ति कति छ भनेर यकिन विवरण कसैसँग छैन । ‘गुठी संस्थानले असुल उपर गरी श्रीपशुपति क्षेत्रभित्र चलाउन पर्ने महास्नान पोता समेत गरी जम्मा १ सय ९५ वटा गुठी रहेको र सोसँग सम्बन्धित मठ मन्दिरका देवी देवताका अंगमा लगाएको र ढुकुटीमा रहे भएको गरगहना तथा जिन्सी सामानहरू विवरण हालसम्म प्राप्त नभएको’ समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्दिर मातहतमा रहेका १ सय ९५ गुठीका तर्फबाट मन्दिरलाई प्राप्त हुने गरगरहना तथा जिन्सी सामान एकिन नभएको समितिले जनाएको छ । गुठीहरूले आफुखुसी सम्पत्तिको प्रयोग गर्ने गरेका कारण विवरण बुझाउन नसकेको स्रोतले जानकारी दिएको छ । ति गुठीले जिम्मा लिएका मन्दिरमा वार्षिक लाखौँ रुपैयाँ संकलन हुने गरेको छ । अधिकांश गुठीहरू स्थानीयबासीले सञ्चालन गर्दै आएका छन् । समितिले गत कात्र्तिक र माघमा दुई वटा पत्र पठाएर सम्पत्तिको विवरण माग गरेको थियो ।

‘सबै गुठीले अहिलेसम्म सम्पत्तिको कुनै विवरण पठाएका छैनन्’, संयोजक थापाले भने,‘ उनीहरूले पत्रको जवाफसमेत दिएका छैनन् ।’ गुठी संस्थानले मन्दिरको नाममा हुन आउने सम्पत्ति उपलब्ध नगराएपछि यसमा शंका गर्नुपर्ने थुप्रै ठाँउ रहेको छ । यसैगरी बम्बे ढुकुटी बापतको सम्पत्ति भान्छा घर भत्काइएकोले त्यहाँ पनि कति सम्पत्ति रहेको भन्ने सम्भव नभएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

मुआब्जा लिएर जग्गा छाडेनन 
पशुपतिनाथले अधिग्रहण गरेको जग्गामा अनाधिकृतरूपमा बसिरहेको खुलेको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समितिले पशुपति क्षेत्र विकास कोषलाई पाशुपत क्षेत्रमा रहेको ‘बी१३’ क्षेत्र खाली गर्न सिफारिस गरेपछि यो प्रकरण खुलेको हो ।

२०७० साल जेठ ३० गतेको अधिग्रहण सूचनाबाट ‘बी१३’ क्षेत्रका जग्गा सरकारले अधिग्रहण गरेको थियो । अधिग्रहण गरेकै समयमा प्रभावितलाई मुआब्जा समेत वितरण भइसकेको समितिले जनाएको छ । तर, अहिले पनि मुआब्जा पाइसकेकाले सो क्षेत्र खाली गराएका छैनन् । समितिका संयोजक डा. मिलनकुमार थापाले बुधबार ६ सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै खाली गराउन सिफारिस गरेका हुन् ।

‘बी१३’ क्षेत्रमा अधिग्रहण प्रभावितलाई मुआब्जा वितरण भइसकेकाले मुआब्जा पाउने व्यक्तिले हालसम्म घर खाली नगरेको अवस्था देखिएकाले तत्काल सो क्षेत्र खाली गराउन समिति सिफारिस गर्दछ ।’ प्रतिवेदनमा भनिएको छ । यसैगरी काठमाडौंस्थित गोठाटारमा रहेको कोषको ५ सय ३४ रोपनी जग्गालाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार तयार पारी ‘बी१३’ क्षेत्रका अधिग्रहण प्रभावित घरजग्गावालालाई स्थानान्तरण गर्न पनि सुझाएको छ ।

प्रतिक्रिया