चीनद्वारा हुम्ली कामदार निकाला

हुम्ला । चीनले कामको खोजीमा त्यहाँ पुगेका करिब २५ सय हुम्ली युवालाई स्वदेश फिर्ता पठाइदिएको छ । उनीहरूको सीमा पास खोसेर नेपाल फिर्ता पठाउने निर्णय गरेको हो ।

निर्माण सम्बन्धी र घरेलु कामदारको रूपमा चिनको पुराङ काउन्टीमा गएका अधिकांश कामदार हुम्ली नागरिक हुने गरेका छन् । कामको सिलसिलामा हिल्सा नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा पुगेका हुम्लीलाई चीन सरकारको प्रशासनले फिर्ता पठाउने गरेको छ ।

हुम्लीहरूलाई यसरी नेपाल फर्काइँदा रोजीरोटीसमेत खोसिएको सुकवीर रोकायाले ताक्लाकोटबाट सौर्य दैनिकलाई जानकारी दिए । मे महिनाभित्रै चीनको भूमि छोड्न समेत स्थानीय सरकारले उर्दी गरेको छ । एक महिनादेखि काम गरेर बसेका र भर्खरै ताक्लाकोट पुगेकोहरू अब रित्तो हात घर फर्कनु पर्ने अवस्था भएको कारण बिचल्ली भएको छ । जेठ पहिलो हप्ता हुम्ली नागरिक पेज फडेराले चिनियाँ युवतीको हत्या गरी धनमाल लुटपाट गर्ने प्रयास गरेपछि त्यहाँको प्रशासनले सबै हुम्लीको सीमा पारवहन अनुमति पत्र कब्जामा लिएर हुम्ला फर्काउने निर्णय गरेको हो ।

यो वर्ष करिब २५ सय कामदार चीन पुगेको हुन सक्ने हुम्ला प्रशासनले अनुमान गरेको छ । बिहीबार मात्रै तिब्बतको प्रशासनले करिब छ सय जनाको सीमापास कब्जामा लिएको छ । ताक्लाकोटमा वर्षौंदेखि व्यवसाय गरेर बसेका हुम्लीको लागि भने चिनियाँ प्रशासनले कुनै अवरोध गरेको छैन । उनीहरूले स्वतन्त्र रूपमा व्यापार व्यवसाय गर्न पाउने र घुम्न आउने पर्यटकको हकमा भने अनुमति पाउने व्यवस्था त्यहाँको स्थानीय प्रशासनले गरेको छ ।

हरेक वर्ष हुम्ली कामदार चिनको पुराङ काउण्टीमा गएर कामदारको रूपमा मासिक ३० देखि ७० हजार नेपाली रुपैयाँ कमाउने गरेका थिए । कामदारको रुपमा वर्षायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई मनग्ये आम्दानी गर्ने गरेका थिए । ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मूख्य स्थलको रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् ।

हुम्लाबाट जडिबुटी, काठका सामग्री, हस्तकलाका सामग्री लगायतको सामान चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ । उताबाट नेपालीले दैनिक उपभाोग्य सामान, लत्ताकपडा, निर्माण सम्वन्धी सामग्री आयात गर्ने गरेका छन् । त्यसैगरी त्यहाँको स्थानीय प्रशासनले दैनिक उपभोग्य सामानको निर्यातमा पनि कडिकडाउ गरेको छ । गतवर्षदेखि मैदा, खाद्यपदार्थ लगायतका समग्री मनग्य आयात हुम्ली नागरिकले गर्न पाएका छैनन् ।

हुम्लाका स्थानीय वासिन्दाको लागि भने स्थानिय प्रशासनले प्रदान गरेको सिमा पारवहन अनुमति पत्रको आधारमा पुराङ काउण्टीको स्थानीय सरकारले आवतजावत र कामकाज गर्न दिने गरेको थियो । अन्य जिल्लावासी र देशका नागरिकलाई भने नेपालस्थित चिनियाँ दुतावासको भिसा अनुमतिले मात्र प्रवेश पाउने गरेका छन् ।

विशेष गरी हुम्ला हुँदै पुराङ काउण्टीमा मानसरोवर कैलाश दर्शन गर्नको लागि छिमेकी मुलुकका पर्यटक, हुम्ली नागरिक जाने गरेका थिए । चिनियाँ स्थानीय सरकारले गरेको हुम्लीलाई देश निकाला अभियानले हुम्लाको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । धेरै पहिले कमाइको लागि भारत जाने गरेका हुम्ली भने दश वर्ष अगाडिदेखि चीन नै प्रमुख आयस्रोतको स्थल बन्दै गएको थियो ।

प्रतिक्रिया