भाजपालाई अत्यधिक बहुमत

नयाँदिल्ली । भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (विजेपी)को गठबन्धन अत्यधिक बहुमत ल्याएको छ । विजेपी एक्लैले पनि सन् २०१४ को भन्दा धेरै सिटमा जीत हासिल गरेको छ ।

मत परिणामको रुझानपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले विजेपीलाई शुभकामना तथा बधाइ दिएका थिए । यो जीतसँगै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ । पहिलो पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने उनि पहिलो गैर कंग्रेसी पनि बनेका छन् । भारत स्वतन्त्र भएको ७२ वर्षमा पुनैपनि गैर कंग्रेसी लगातार दोस्रो पटक प्रधानमन्त्री बनेको इतिहास छैन । यसअघि भारतीय राष्ट्रिय कांग्रेसका नेताहरू जवाहरलाल नेहरू, इन्दिरा गान्धी र मनमोहन सिंहले मात्रै यस्तो अवसर पाएका थिए ।

बिहीबार बिहानदेखि मत मतगणना अनुसार सत्तारूढ भारतीय जनता पार्टीको गठबन्धन नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए)ले करिब ३५० सिटमा विजयी हासिल गर्नेतर्फ अग्रसर भएको छ । यो समाचार तयार पार्दासम्म विजेपी एक्लै करिब ३ सय सिटमा विजयी नजिक पुगेको थियो । त्यसैगरी प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले भने ५२ स्थानमा जित हासिल गरेको छ । कंग्र्रेस आई निकट युनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपीए) को ९४ स्थानमा अग्रता कायम रहेको छ । अन्य १०२ स्थानमा अन्य साना तथा क्षेत्रीय दलको अग्रता रहेको छ ।

भाजपा नेतृत्वको गठबन्धनले मोदीको गृह राज्य गुजरात, राजस्थान, दिल्लीका सबै स्थानमा जित हासिल गरेको छ । विधानसभा निर्वाचनमा भाजपा पराजित भएको राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र कर्नाटकामा समेत भाजपाले उल्लेख्य मत प्राप्त गरेको छ । कांग्रेसले केरल र पञ्जाब राज्यमा उल्लेख्य प्रदर्शन गरेको छ । दुवै राज्यमा भाजपा कमजोर रहेको छ । लोकसभामा सबैभन्दा धेरै स्थान रहेको उत्तर प्रदेश राज्यमा समेत भाजपा र त्यसका सहयोगी दलले ६० स्थान जित्ने देखिएको छ । भाजपाविरुद्ध क्षेत्रीय दलहरू समाजवादी पार्टी, बहुजन समाज पार्टी, राष्ट्रिय लोक दलको गठबन्धनले समेत मोदीको लहरलाई रोक्न सकेन ।

भाजपाले बहुमत आउनेभएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उनको गठबन्धनले अत्यधिक बहुमत स्थानमा अग्रता कायम गरेपछि मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खान, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतले बधाई ज्ञापन गरेको भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू, आफ्नो दल र आफू नेतृत्वको गठबन्धनलाई मतदान गरी विजयी गराउने भारतीय समर्थक, शुभचिन्तक, कार्यकर्ता तथा जीतका लागि अनवरत लाग्ने नेतृत्वलाई वधाइ दिएका छन् ।

उनले यो लोकतन्त्र र सम्पूर्ण भारतिय जनताको विजयी भएको बताएका छन् । निर्वाचनका लागि तय गरेको नारा सबको साथ, सबको विकास, सबको विश्वासको निष्कर्ष समग्र भारत र भारतीयहरूको विजय भन्ने वाक्यांश दोहोराउँदै भाजपाले आगामी दिनमा सवैलाई विश्वासमा लिएर अघि बढ्ने बताए ।

कंग्रेस नेता राहुल गान्धीले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएका छन् । निर्वाचन परिणाम कंग्रे्रेसका लागि अनपेक्षित रहेको भएपनि कंग्रे्रेसका शुभचिन्तकलाई नआत्तिन राहुल गान्धीले एक पत्रकार सम्मेलनमार्फत् आग्रह गरेका छन । उनले यस पहिल (सन् २०१४) मा करिब एक लाख मतका साथ विजय हाँसिल गरेको अमेठी निर्वाचन क्षेत्रमा आफ्नो हार स्वीकार गरेका छन् ।

उक्त क्षेत्रमा प्रतिश्पर्धामा रहेकी विजेपी नेता स्मृति इरानीलाई मतगणनाको अन्तिम परिणाम आउनुपूर्व नै गान्धीले वधाइ दिएका हुन् । त्यसैगरी गान्धीले निर्वाचनमा कंग्रेसको अपेक्षाकृत नतिजा नआएको भन्दै हारको जिम्मा पार्टीको अध्यक्षका हैसियतले आफूले लिने बताए । अप्रिल ११ मा सुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो ।

प्रधानमन्त्रीद्वारा मोदीलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएका छन् । उनले मोदीलाई टेलिफोन नै गरेर बधाई तथा आगामी कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।

बिहीबार मध्यान्ह नै ट्विटमार्फत बधाई दिएका ओलीले अपरान्ह टेलिफोनबाट बधाई दिएका हुन् । बिहीबार नै अपरान्ह साढे एक बजे प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रूपमा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका हुन् । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुँदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरूले व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया