पाँचथर । मिक्लाजुङ गाँउपालिका–३ मा एकै परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा फेला परेको छ । आरुबोटे भन्ने स्थानमा बसोबास गर्ने बमबहादुर फियाक र उनका माइला ज्वाइँ धनराज शेर्माको परिवारका सदस्यको हत्या भएको हो ।
फियाकको घरका चार जना र शेर्माका घरका पाँच जनाको हत्या भएको अवस्थामा मंगलबार बिहान शब फेला परेको थियो । उनिहरूको घर २ किलोमिटर वरपर रहेको छ । प्रहरीका अनुसार फियाकको घरमा चार जनाको हत्यापछि शेर्माको परिवारका पाँच सदस्यको हत्या भएको छ । हत्या हुनेमा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक, २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीय आशिका खजुम लिम्बु रहेका छन् ।
यस्तै उनका माइला ज्वाइँ ४१ वर्षीय धनराज र उनकी श्रीमती ३६ वर्षीय जस्मिता, छोरीहरू १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इच्छा शेर्मा रहेका छन् । धनराज पाँच महिना अगाडि मात्र मेलेसियाबाट घर फर्किएका थिए । घटना मध्यराति भएपनि बिहानमात्र उनीहरूको शव देखेपछि घटनाबारे थाहा भएको थियो । शेर्माको घरमा भेटिएका शव सबै घर भित्र थिए भने फियाकको घरमा भने भित्र र बाहिर विभत्सरूपमा हत्या भएको अवस्थामा फेला परेको थियो । घटनामा १२ वर्षीय बालिका सीता खाजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् ।
मंगलबार बिहान ९ जनाको शव भेटिएपछि गाँउ नै त्रसित भएको थियो । कसले र के उदेश्यले हत्या भएको भन्ने अनुसन्धान जारी अवस्थामा रहेको थियो । दिन मध्यसम्म आईपुग्दा घटनास्थलबाट झण्डै डेढ किलोमिटर पर एक व्यक्तिको शव झुण्डिएको अवस्थामा फेला परेको खवर आयो । सो शव भेटिएपछि सामूहिक हत्याकाण्डको रहस्य खुल्न सुरु भएको थियो । त्यो शव थियो फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमको । सुरुमा आक्रमणकारीले नै उनको हत्या गरेको हुनसक्ने आंशका गरेपनि घटनास्थलबाट रगतमा लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीले नै हत्या गरेको आशंका गरिएको छ ।
पारिवारिक कलह
घटना तत्कालै कुनै आक्रोशमा नभएर सुनियोजित रहेको प्रहरीले आशंका गरेको छ । मानबहादुरले फियाककी कान्छी छोरी मनकुमारी फियाकसँग विवाह गरेका थिए । तर, पछिल्लो समय पारिवारिक बेमेलभएपछि मनकुमारी मानबहादुरलाई छाडेर माइतीघरमा बस्दै आएकी थिइन् । मानबहादुर भने मिक्लाजुङ–७ को घरमा एक्लै बस्दै आएका थिए । श्रीमतीले छाडेपछि उनी मानसिक रूपमा विक्षिप्त बनेको स्थानीयबासीको भनाइ रहेको छ ।
उनीहरूबीच सम्बन्ध विच्छेद गराउने तयारी भइरहेको बताइएको छ । तर, मानबहादुर अझै पनि आफ्नी श्रीमती मनकुमारीलाई फर्काएर आफ्नो घर लैजान चाहान्थे । त्यसक्रममा सोमबार दिउँसो मात्र उनी ससुराली घर आएका थिए । तर, त्यहाँ फियाकका माइला ज्वाइँ धनबहादुर पनि रहेका थिए । उनीहरूले मनकुमारीलाई नपठाउने बताएपछि मनबहादुर रिसले चुर हुँदै फर्किएका थिए ।
प्रहरीले अनुसन्धानलाई तीब्र बनाएका बेला मानबहादुर र उनका साढुदाइ धनराजबीच झगडा परेको विवरण गाउँलेले सार्वजनिक गरेका छन् । माइतमा बसेकी पत्नी मनकुमारीसँग सम्बन्धविच्छेद गराउन खोजेको कुरामा मानबहादुरले धनराजलाई दोषी ठानेको स्थानीय गाउँलेले बताएका छन् । सोमबार दिउँसो मात्रै आफ्नो गाउँबाट ससुराली आरुबोटे पुगेका मानबहादुरले त्यहाँका गाउँलेसँग धनराजलाई केही न केही गर्छु भन्दै हिँडेका थिए । ‘हामीले बुझ्दै जाँदा पत्नीसँगको झगडालाई लिएर ससुरा बमबहादुर र साढुदाइ धनराजसँग पनि झगडा परेको बुझियो’, मिक्लाजुङ–३ का वडाअध्यक्ष हस्तराज फियाकले भने, ‘सोमबार मात्रै ‘यसलाई म केही न केही गर्छु’ भन्दै धनराजलाई धम्क्याएको सुनियो ।’
माक्स लगाएर आएकाले हत्या गर्यो
निक्कै भयानक घटनामा बाँच्न सफल १२ वर्षीया सिताले कपडाले अनुहार छोपेर नचिनिने गरी आएको व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेको बताइन् ।
घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे ।’ सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ । उनले कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरेको प्रहरीलाई जानकारी दिएकी छन् । प्रदेश नम्बर एक प्रहरी स्रोतका अनुसार सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन् ।
आरोपित नै मृत भेटिएपछि
प्रहरीले घटनामा मनबहादुरकै हात रहेको प्रारम्भिक निचोड निकालेको छ । तर, आरोपित नै मृतक भेटिएपछि अनुसन्धानलाई नयाँ मोडबाट अगाडि बढाउनुपर्ने देखिएको छ ।
प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले मृत अवस्थामा फेला परेका मानबहादुर माखिमको शव भेटिए नजिक रगत लतपतिएको खुकुरी, दाप र रगत लागेको कपडासहित झोला फेला पारेको हो । उक्त घटनापछि मानबहादुर आफ्नो गाउँभन्दा लगभग डेढ किलोमिटरको दुरीमा रहेको फलेदोको रूखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । माखिमको घर मिक्लाजुङकै ७ नम्बर वडामा पर्छ ।
हत्यारा आशंका गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुरले मंगलबार बिहान ३ बजे सोही गाँउका एकजना र पल्लो गाँउका अर्का ब्यक्तिसँग इमर्जेन्सीमा उपचारका लागि जानुप¥यो भन्दै पैसा मागेको समेत खुलेको छ । माखिमले बोकेको मोबाइल मंगलबार ३ बजेर ५ मिनेटमा स्विच अफ भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्विच अफ गरिएको मोबाइल फोन सेट उनको शव नजिकै भेटिएको छ । त्योभन्दा अघि उनले दुईजना गाँउलेलाई फोन गरेको र नगद रकम मागेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।
‘उसको मोबाइल स्विच अफ भएको र दुई जनालाई फोन गरेको टावर एउटै हो,’ प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले भने ‘प्राविधिक परीक्षण नगरी यसै भन्ने अवस्था छैन, हाम्रो अनुसन्धानको सुई माखिमतर्फ सोझिएको हो ।’ परिवारभित्रको कहल हत्याको कारण हुनसक्ने आधारमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । ‘घटनास्थल, हतियार र मृतक सबैको फरेन्सिक जाँचपछि मात्र यकिनमा पुग्न सक्छौँ,’ डिआइजी रिजालले भने ‘अहिले केन्द्र, प्रदेश र जिल्लाको टोलीले अनुसन्धान गरिरहेका छन् ।’ प्रहरीले घटनामा भाग्न सफल सीता खजुमको बयानका आधारमा संलग्नको स्केच बनाएर अनुसन्धान थालेको छ ।
घटना अघि शंकास्पद क्रियाकलाप
स्थानीयबासीका अनुसार धनराजको घरमा सोमबार राति धामी राखिएको थियो । मध्यरातिसम्म चिन्ता बसाइसकेपछि आक्रमण भएको खुलेको छ । मध्यराति चिन्ता सकिएर छिमेकी र धामीसमेत गइसकेपछि धनराजको परिवारमाथि खुकुरी प्रहार भएको खुलेको हो । त्यसको एकसाता अघि पनि धनराज शेर्माको परिवारलाई सिसा हालेर ज्यान लिन खोजेको खुलेको छ । हत्या गरिएका मध्ये मुना शेर्मा, मनकुमारी फियाकले हप्तादिन अघि नै खाएको खानामा सिसायुक्त नुन मिसिएको पाइएको थियो । उनीहरू बिरामी परेपछि सिसायुक्त खाना खाएको फेला परेको थियो । एक तालिम कार्यक्रममा पकाएको थुक्पामा सिसा भेटिएको थियो । नुनमा सिसा कसले राख्यो भन्ने विषयमा प्रहरी टुंगोमा नपुग्दै दुइजनाका परिवारै मारिएका छन् ।
प्रतिक्रिया