सुमार्गीले छले ४ अर्ब लाभकर

काठमाडौं । विवादस्पद व्यापारी अजयराज सुमार्गीले एनसेल जस्तै राजस्व छली गरेको भेटिएको छ । उनले करिब साढे चार अर्ब बढी रकम राजस्व छली गरेको भेटिएपछि आन्तरिक राजस्व कार्यालयले १५ दिनभित्र तिर्नका लागि पत्राचार गरेको छ ।

सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई सो रकम तिर्नका लागि पत्र पठाएको राजस्व कार्यालयले जानकारी दिएको छ । सुमार्गीले कार्यालयले पठाएको पत्र लिन अस्वीकार गरेपछि उसले सार्वजनिक सूचना नै जारी गरेको हो । बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले सुमार्गीको पारिवारिक लगानी रहेको हेलो नेपालले चार अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर तिर्नुपर्ने ठहर गरेको छ ।

एनसेलको सेयर खरिद–बिक्रीमा सुमार्गीले आफ्नो कम्पनी ‘हेल्लो नेपाल’ ब्रान्डको जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’को लाभकर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले पत्र लेखेको छ । पटक–पटक कर तिर्न ताकेता गर्दा अस्वीकार गरेपछि सुमार्गीको नाममा राजस्व कार्यालयले सूचना जारी गरेको हो ।

लाभकर छलिको आदेश पटक–पटक बुझाउन जाँदा पनि अस्वीकार गरेपछि आन्तरिक राजस्व कार्यालयद्वारा सार्वजनिक सूचना नै जारी

०६८÷६९ मा भएको बिक्रीको लाभकर तिर्न राजस्व कार्यालयले यसै साता पत्र काटेको हो । कार्यालयले आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिम कर तिर्ने सूचना गत बैशाख ११ मा जारी गरेको थियो । १२ बैशाखमै करदाताको विद्युतीय ठेगानामा सूचना पठाएको र सोको जवाफ कम्पनीले २७ गते पठाएको कार्यालयले जानकारी दिएको छ ।

करदाताको जवाफ आएपछि ३१ वैशाखमा निर्णय गरी आयकर ऐन, ०५८ को दफा १०२ बमोजिम कर निर्धारण आदेश गरी जेठ १ गते पठाएपनि सुमार्गी र उनको कम्पनीले बुझ्न अस्विकार गरेका छन् । कम्पनीबाट पत्र बुझ्न अस्वीकार गरी फिर्ता भएकाले प्रा.ली.को विद्युतीय ठेगानामा र हुलाकमार्फतसमेत पठाइएको कार्यालयले जनाएको छ ।

नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत टेलियासोनेरा कम्पनीलाई बिक्री गर्दाको लाभकर तिर्न राजस्व कार्यालयले पत्र लेखेको हो । नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर ५ अर्ब ७१ करोड रुपैयाँमा बिक्री भएको राजस्व कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त बिक्रीबाट नेपाल स्याटेलाइटलाई पाँच अर्ब ६३ करोड ५० लाख रुपैयाँ लाभ भएकाले त्यसमा लाभकर लाग्ने राजस्व कार्यालयले जनाएको छ ।

आयकर ऐनले २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ वैसाखमा आन्तरिक राजस्व कार्यालयले उक्त कम्पनीलाई एक अर्ब ४० करोड ८७ लाख कर निर्धारण गरेको थियो । उक्त रकमका ब्याजसमेत जोड्दा असुल गर्नुपर्ने बक्यौता ४ अर्ब ३१ करोड पुगेको कार्यालयले जनाएको छ ।

विदेशबाट भित्राएको लगानी विवादमा रहेको समयमा सुमार्गी पुनः नयाँ कर छलीमा संलग्न भएको पाइएको छ । सोही रकम ‘असुल गर्नु नपर्ने ठोस प्रमाण भए पेस गर्न’ सूचनामा भनिएको छ । त्यसमा कम्पनीले जवाफ दिएपछि ३१ वैसाखमा अन्तिम कर निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

अन्तिम कर निर्धारण भएपछि रकम भुक्तानी गर्न आग्रह गर्दै पत्राचार गर्दा कम्पनीले पत्र बुझ्न अस्वीकार गरेपछि राजस्व कार्यालयले इमेल र हुलाकमार्फत पत्र पठाएको थियो । त्यसको पनि जवाफ नआएपछि कार्यालयले नयाँ सूचना जारी गरेको हो । नेपाल स्याटेलाइटमा सुमार्गी पत्नी सम्झना अर्याल, सुमार्गीको अर्को कम्पनी मुक्तिश्री टेलिकम प्रालि, सेवा प्रालि बंगलादेशको पनि सेयर छ ।

प्रतिक्रिया