साहित्यमा समृद्ध समाज

काठमाडौं । प्रा.डा.कृष्णप्रसाद घिमिरेले समृद्ध समाज निर्माणमा साहित्यको भूमिका विशिष्ट रहने बताएका छन् । साहित्य सन्ध्याको नियमित मासिक ३९५औँ शृंखलामा प्रा.डा.घिमिरेले ‘समृद्ध समाज निर्माणमा प्रगतिशील साहित्यको भूमिका’ विषयमा चर्चा गर्दै तत्ववेत्ता मानिसको चेतनातत्वको विकास प्रकृतिबाट हुने विचार व्यक्त गरे । उनले ‘कला कलाका लागि’ भन्ने र ‘कला जीवनका लागि’ भन्ने दुई खाले मत पाइने र ‘कला जीवनका लागि’ भन्ने दार्शनिकहरू ‘साहित्य जीवनसँग सम्बन्धित हुन्छ’ भन्ने अवधारणाको विकास भएको भनाइ राखे ।

सन् १९४७ को सेप्टेम्बरमा हंस पत्रिकामा भारतीय समालोचक रामविलास शर्माले समाजलाई प्रगतिशील साहित्य किन आवश्यक छ भन्नेबारेमा चर्चा गरेको बताउँदै उनले अहिले पनि प्रगतिशील साहित्यले समाज रूपान्तरणका पक्षमा चिन्ता गर्ने, व्यक्तिमनमा चेतना सम्प्रेषण गर्ने काम गर्दछ भन्ने बहस गम्भीररूपमा र राष्ट्रियस्तरमा आवश्यक रहेको जिकिर गरे ।

यस कार्यमा साहित्य सन्ध्याले नियमित काम गरेको उनले जनाए । उनले भने, ‘समयसापेक्ष, कालसापेक्ष, वर्गसापेक्ष र विधासापेक्ष रूपान्तरणको आग्रह गर्ने, परिवर्तनको अपेक्षा गर्ने साहित्य प्रगतिशील साहित्य हो । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै भन्ने अनि रूपान्तरणको आवाज सम्प्रेषण गर्ने काम प्रगतिशील साहित्यले गर्दछ । बहुजनहितायलाई स्वीकार गर्दै समाजका सामान्य विसंगत समेतलाई उजागर गर्ने र रूपान्तरणको चिन्तन बोल्नसक्ने, मानव हितकारी पक्षलाई ग्रहण गर्ने र विसंगत पक्षको विरोध गर्ने काम प्रगतिशील स्रष्टाले गर्दछ ।’

समुन्नत समाज निर्माणका लागि सत्यम्, शिवम्, सुन्दरम्को लक्ष्य बोक्ने, अग्रगामी चिन्तन राख्ने साहित्य प्रगतिशील हुने जनाउँदै प्रा.डा. घिमिरेले रूपमा मात्र होइन सारमा, पूरै रूपान्तरणको आवाज व्यक्त नगरेर संकेत मात्र ग¥यो भने पनि त्यस्तो साहित्यले समाज रूपान्तरणमा योगदान गर्नसक्ने बताए । उनले प्रगतिशील साहित्यले सकारात्मक चिन्तन र गति दिने दाबी गरे ।

कविगोष्ठीमा प्रकाश बस्नेत ‘गफाडी’, रूपक अलंकार, विधान आचार्य, ललिता दोषी, भोलानाथ सुवेदी, गोविन्द नेपाल, माधव प्रधान, प्रशान्त खरेल, नर्मदेश्वरी सत्याल, कल्पना आचार्य, डिल्लीराज अर्याल, शीतल गिरी, चुडा निर्भीक, भावना न्यौपाने, धनबहादुर मगर, कृतिका आचार्य, दुर्गा रिमाल, भारद्वाज मित्र र मन्दिरा मधुश्रीले कविता, गजल, गीत, हाइकु वाचन गरे । उक्त अवसरमा गायक माधव प्रधानले सय वर्ष पहिले निरंकुश राणा शासनले सहिद बनाएका गंगालालले लेखेको कवितालाई संगीत भरेर गाएका थिए ।

वाचित रचनामाथि टिप्पणी गर्दै साहित्यकार नर्मदेश्वरी सत्यालले कविता भनेको संछिप्तताभित्र विस्तृतता अभिव्यक्त गर्ने विधा भएको बताइन् । उनले सर्जकले सिर्जना गर्दा सकारात्मक सोच राखेर गर्नुपर्ने जिकिर गरिन् । उनले भनिन्, ‘समस्याको प्रकटीकरण वा उदात्तीकरण मात्र होइन संकेत वा उपायसमेत देखाउनु आवश्यक हुन्छ । विचार र व्यवहारको तालमेलयुक्त लेखन आवश्यक हुन्छ ।’

उनले सिर्जना पुरानो भन्ने हुँदैन बरु कालजयी हुने बताउँदै नकारात्मक कुराहरू, विकृति र विसंगतिका सूक्ष्मातिसूक्ष्म पक्षलाई उजागर गर्दै रूपान्तरणको आग्रह कविले प्रभावकारीरूपमा गर्न सक्नुपर्ने भनाइ राखिन् । उनले घर तथा समाजमा रहेका बालबालिकाको क्षमता विकासका लागि स्रष्टाले शिल्प तथा वैचारिकताका माध्यमबाट सिर्जना गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरिन् । वाचित रचनाले समाजका समसामयिक असन्तुष्टिलाई पनि कलात्मक बान्कीमा अभिव्यक्त गरेको सुनाउँदै उनले भनिन्, ‘कविताले सामाजिक विकृतिका प्रति प्रहार गरेका छन् । सँगसँगै ध्वन्यार्थमा रूपान्तरणको आग्रह गरेका छन् ।’

गोष्ठीमा सन्ध्याका अध्यक्ष राम विनयले स्रष्टाले निराशाका विषय लेख्न नहुने बताए । उनले सर्वहारा अधिनायकवाद होइन, सबैलाई मिलाएर लानुपर्ने र शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्नुपर्दछ भन्ने खुस्चेभको मान्यतानुसार नै हाम्रो मुलुकको शासनसत्ता अहिले चलिरहेको दावी गरे । उनले भने, ‘हामी साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवादको चर्काे प्रहार पनि भोगिरहेका छौँ । यसैको प्रतिबिम्बन स्वरूप समाजमा नकारात्मकताको विकास भएको पाइन्छ ।

त्यसैले राम्रोलाई राम्रो भन्ने र नराम्रोलाई नराम्रो भन्ने क्षमताको प्रदर्शन गर्दै स्पष्ट दिशाबोधसहितका सिर्जना अहिले आवश्यक छ । ज्यादै नकारात्मक सोचले प्रतिगामीलाई प्रोत्साहित गर्दछ । विचार, कला र विषयको तालमेलका साथ समाज रूपान्तरणका पक्षमा स्रष्टाले सिर्जना गर्न सक्नुपर्दछ । सन्ध्याले नियमित प्रगतिशील साहित्य र समृद्ध समाज निर्माण गर्ने लक्ष्यलाई आत्मसात् गर्दै सिर्जनशील कार्य गर्दै आएको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले बताए ।

प्रतिक्रिया