पुग्नै पर्ने ठाउँ मुक्तिनाथ

नेपाल यस्तो देश हो जहाँ गए पनि कुनै न कुनै प्राकृतिक सुन्दरता र केही न केही विषेशता पाउन सकिन्छ । देशको सबैजसो भागले भौगोलिक रूपमा कुनै न कुनै विशेषता बोकेको छ । रमणीय दृश्य हेर्नका लागि लाखौँ रूपैयाँ खर्चेर विदेश जानै पर्दैन, नेपालमा हिमाल, पहाड र तराईमा रहेका कैयौँ दृश्य यस्ता छन् जुन विश्वमा कहीँ गए पनि भेटिन्न । त्यस मध्येको एक हो हिमाली जिल्ला मुस्ताङ । मुस्ताङ धेरै कुराले प्रख्यात छ । भौगोलिक सुन्दरता, धार्मिक महत्व र स्वादिष्ट स्याउँ फल्ने जिल्ला पनि हो मुस्ताङ । मुस्ताङको सुन्दरता मात्रै पनि वयान गरेर सकिँदैन ।

नेपालको महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थलमा पर्ने मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिरको दर्शन र त्यहाँको सुन्दर स्थानको अवलोकन गर्ने चाहना यसपटक पूरा भएको छ । ०७५ को चैत अन्तिम साताबाट हामीले यात्रा सुरू गरेका थियौँ । मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूका लागि एक महत्वपूर्ण तीर्थस्थलरूपमा चिनिन्छ । धार्मिक दृष्टिका साथै पर्यटकीयरूपमा रमणीय रहेको मुस्ताङको उपल्लो भागमा पर्ने मुक्तिनाथ यात्रा धेरैको रोजाइमा पर्ने गरेको छ ।

मेरा लागि मुक्तिनाथ यात्रा धेरै दृष्टिले रमणीय र स्मरणीय रह्यो । यात्रा पहिलोपटक भएकाले पनि मुक्तिनाथ, जोमसोङ र त्यहाँको सुन्दरताका बारेमा धेरै कूतुहलता थिए । साँच्चै कस्तो होला मुक्तिनाथ, जोमसोम र मुस्ताङ र त्यहाँका भौगोलिक बनोट ! यात्रा स्मरणीय हुनमा पहिलो कुरा आफैँ हुर्केको र लामो समय राजनीतिक सामाजिक रूपमा काम गरेको ठाउँका अभिभावकसँग यात्रा गर्न पाउनु, ठूलो समूहमा रहेको हुनाले थकाइ वा अफ्ठ्यारो महसुस नहुनु ।

पिकनिकजस्तै विभिन्न परिकार नभए पनि ठाउँठाउँमा आफैँले पकाएको ताजा र स्वस्थ्य दाल, भात र तरकारी वनभोजको शैलीमा खाँदै हिँड्नुको मज्जा नै बेग्लै थियो । बाटो भरी एकआपसमा भजन गाउँदै, अन्ताक्षरी खेल्दै हाँस्दै ठट्टा गर्दै आफूसँग भएको खानेकुरा बाँढ्दै र खाँदैको यात्रा एक्लै दुक्लै गर्नुभन्दा कैयौँ गुणा रमाइलो थियो । त्यस प्रकारको अवसर चाहेर पनि सधैँ पाउन सकिन्न । यात्रामा रहेका बारा जिल्लाका हामी ३१ जनाको समूहले निकै आनन्दको अनुभूति गर्यौँ । अर्को कुरा जीवनमा पहिलोपटक घोडामा चढ्ने अवसर पनि मुक्तिनाथमा पाइयो ।

यात्रामा रहेका मध्ये केहीको यो यात्रा नयाँ थियो भने केहीका लागि नवीकरण जस्तै । पहिले गएकाबाट अझ धेरै कुरा र त्यहाँको बारेमा जानकारी लिँदै अघि बढने क्रममा म्याग्दीको लातोपानी कुण्डमा स्नान गरी बिताएको एक घण्टा र चौरमा बनाएर खाएको खाना अझै लोभलाग्दो थियो । प्राकृतिक रूपमा मूलबाट निस्केको तातोपानीमा डुबुल्की मार्दा निकै आनन्दको अनुभूति भयो । उक्त तातोपानीमा स्थान गर्दा प्राकृतिक उपचारसमेत हुने विश्वास भएकाले हामी अझ उत्साहित भएका थियौँ । हुन पनि जाडो मौसममा तातोपानी तताएर नुहाउन पल्केका हाम्रा लागि त्यो पानी लोभलाग्दो थियो । चैत महिनाको अन्त्यतिरको गर्मीमा पनि मजाले डुबियो तातोपानी कुण्डमा । जब मुक्तिनाथमा रहेको १ सय ८ धारामा स्नान गर्न थालेका थियौँ त्यही तातोपानी बेस्सरी सम्झियौँ ।

मुक्तिनाथ समुन्द्री सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्दछ । यस मन्दिरलाई हिन्दूहरूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भनिँदो रहेछ । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्ये एक हो । कालीगण्डकीको तिरैतिरै हुँदै पुगिने यो क्षेत्र शालिग्राम भगवान्का लागि पनि प्रसिद्ध रहेको छ । शालिग्रामलाई पवित्र शिलाको रूपमा हिन्दू धर्ममा पुज्ने गरिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदीमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।

हिन्दू धार्मिक मान्यताको आधारमा यो क्षेत्रको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शनले मात्र मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिँदो रहेछ । वास्तवमा विज्ञान र भौतिक सुविधाका कारण मुक्तिनाथको यात्रा हिजोआज जटिल छैन । भौगोलिक रूपमा टाडा भए पनि पोखराबाट १० घण्टाको गाडीको यात्रामा मुक्तिनाथ पुग्न सकिने रहेछ । त्यहाँ पुग्नुअघि यो स्तम्भकारलाई पनि मुक्तिनाथको यात्रा त्यति सहज होला भन्ने लागेको थिएन

हिमाल पारीको जिल्ला भनिएकाले पनि धेरैलाई मुक्तिनाथ भौगोलिक रूपमा निकै टाडा भएको महसुस हुने गरेको छ । अझ केही समय अघिसम्म त्यहाँ जाने स्थलमार्ग (यातायातको सुविधा) नभएकाले पनि खर्चालु र धेरै समय लाग्ने भएकाले मान्छेलाई मुक्तिनाथ चाहना मात्रै थियो । तर, अहिले मुक्तिनाथ चाहना मात्रै होइन, यात्राको सुलभ र सहज सम्भावना बनेको रहेछ । बस तथा साना सवारी साधानमा मुक्तिनाथ सहजै जान सकिन्छ । बाटोमा समेत अत्याधुनिक नभए पनि काम चलाउ वास र गाँसको व्यवस्था गर्न सकस छैन ।

हिन्दू धार्मिक मान्यताको आधारमा यो क्षेत्रको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शनले मात्र मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिँदो रहेछ । वास्तवमा विज्ञान र भौतिक सुविधाका कारण मुक्तिनाथको यात्रा हिजोआज जटिल छैन । भौगोलिक रूपमा टाडा भए पनि पोखराबाट १० घण्टाको गाडीको यात्रामा मुक्तिनाथ पुग्न सकिने रहेछ । त्यहाँ पुग्नुअघि यो स्तम्भकारलाई पनि मुक्तिनाथको यात्रा त्यति सहज होला भन्ने लागेको थिएन । हिँडनु पर्ला, बाटो कस्तो होलाजस्ता

अनेक कुरा मनमा आइरहेका थिए । तर, कालिगण्डकीको तिरैतिर साँघुरो, कच्ची र जोखिम बाटो भए पनि सुनेजस्तो जटिल लागेन । गाडीबाट देखिने चाँदीजस्तै टल्किएका हिमाल कम सुन्दर थिएन । गाडी जता गयो उतै आफूसँगै हिँडेजस्तै लाग्ने ती सेता हिमाल अहिले नै चुमौँचुमौँ लाग्ने थिए । कतै हरिया डाँडा कतै मरूभूमिजस्तै रूखो डाँडो सबैका आ–आफ्नै सुन्दरता थिए । टुकुचे हुँदै मार्फा कटेपछि पछाडिपटि देखिने एकातिर नीलगिरि र अर्काेतिर धवलागिरिले हामी सबै मन त्यतै तानिरहेको थियो । ती दृश्य हेर्दै र त्यसको चित्र मोबाइल क्यामरामा उतार्दै जाँदा मुक्तिनाथधाम पुगेको पत्तै पाइएन ।

बाटोमा देखिने हल्का प्याजी र गुलाबी रंगको मिश्रणजस्तो स्याउको फूल र स्याउको बगैँचा हेर्दा तराईंमा ठुल्ठूला आँप र लिचीका रूख देखेका हाम्रा लागि अर्को नौलो अनुभूति थियो । हाम्रो यात्राका समयमा स्याउ फूल्ने मौसम भएकाले पनि बाटाभरी स्याउको फूल हेर्दै रमाइलो अनुभूति गरियो । तर, त्यहाँको ताजा स्वादिष्ट स्याउ खाने अवसर भने पाइएन ।

मुक्तिनाथलाई १ सय ८ दिव्य देशहरूमा एक स्थानका रूपमा पनि लिने गरेको पाइन्छ । यसका साथै यसलाई ‘दिव्य देश’ वैष्णवहरूको पवित्र मन्दिरका रूपमा पनि हेर्न गरेको धार्मिक रूपमा आस्था राख्नेहरू बताउँछन् । धार्मिक आस्था राख्ने नेपाल र भारतका हजारौँ तीर्थालुहरूले दैनिक मुक्तिनाथको दर्शन र पूजा गर्न जाने गरेका छन् । त्यसले भौगोलिक रूपमा विकट रहेको मुस्ताङ र त्यहाँ जान प्रयोग हुने मार्ग पोखरा, बाग्लुङ र पर्वतलाई समेत फाइदा पुगेको लाग्यो । गन्तव्यमा जानेले केही न केही किन्नाले त्यहाँको बजार र स्थानीयलाई राहत दिइरहेको थियो ।

मुक्तिनाथ जाने अधिकांश मान्छेका केही न केही चाहना हुन्छन् । कसैलाई त्यहाँ गएर हिउँ खेलौँ, कालिगढले मिहिनेत गरेर टल्काएको चाँदीजस्तै हिउँसहितको चारै तिरबाट घेरिएको (कचौरे बनोटको) डाँडाको दृश्य हेरेर आन्द लिऔँ र त्यसलाई तस्बिरमा कैद गरौँ । अर्का थरी मान्छेको चाहना धर्मिक दृष्टिले मुक्तिनाथमा गएर त्यहाँ रहेको १ सय ८ धारा र कुण्डमा स्नान गरी मन्दिरको दर्शन गरेर मोक्ष पाउँ । जे–जे चाहना लिएर गए पनि मुक्तिनाथ एकपटक जानै पर्दे रमणीयस्थल भने हो । अनेक धार्मिक मान्यता र किंम्वदन्ती बोकेको यस स्थानमा पुगेर चिसो हावामा सुस्ताउन पाउँदा बाटाका थकान र सबै प्रकारका अफ्ठ्यारा एकैपटक भुलिँदो रहेछ ।

हाम्रो टोलीमा रहनुभएका केही बुबाआमा जसको यो पहिलो यात्रा थियो । उहाँहरू अब मुक्ति पाइयो भन्दै दंग हुनुहुन्थ्यो । धेरैले लामो समयदेखि आउन चाहेर पनि अनुकूलता नमिलेका कारण आउन नपाएको बताए । सहयात्रीे मीरा अधिकारीले खुसी मुद्रामा भनिन्, ‘धेरै वर्ष अघिदेखि आउने भनेको के मिलेको थिएन के ? जे होस् आउनै पर्ने ठाउँ रहेछ आनन्द लाग्यो ।’ यात्रामा रहेका सबै दंग थिए । सासूससुरासहित यात्रामा रहेकी कल्पना पौडेलले भनिन्, ‘हाम्रो बाआमालाई गाडी चढ्नै हुँदैनथियो उल्टी आउँथ्यो, तर अहिले त केही भएन’, उनले खुसी हुँदै भनिन् ।

मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू दुवैका लागि एक महत्वपूर्ण तीर्थस्थलकोे रूपमा रहेको छ । यस मन्दिरमा दुवै धर्मका पुजारीले पूजा गर्ने व्यवस्था रहेको छ । मन्दिर परिसरमा गौतम बुद्धको विशाल मूर्तिको समेत स्थापना गरिएको छ । जहाँ मुक्तिनाथ दर्शन गर्ने हिन्दू वा बुद्धिष्ट सबैले दर्शन गर्ने गरेको पाइयो । त्यो एक प्रकारको धार्मिक सहिष्णुता पनि हो । त्यसले अनेक जातजाति मिलेर बनेको हाम्रो समाजका धर्म, आस्था, भगवान् पनि मिलेर बसेका छन् भन्ने अनुभूति गरायो ।

केही वर्ष अघिसम्म मुक्तिनाथ जानेहरू बाग्लुङ, बेनीहुँदै हिँडेर जाने गरेको स्थानीयले बताए । केही भने पोखराबाट मुस्ताङको प्रख्यात ठाउँ जोमसोङसम्म हवाई यात्रा गरी त्यहाँबाट पैदल जाने गर्थे । त्यो केही महँगो पनि छ । तर, अहिले मुक्तिनाथ मन्दिरसम्म नै गाडी जाने भएकाले पनि मुक्तिनाथ यात्रा सामान्य तीर्थालु वा पर्यटकका लागि पनि सहज र सुलभ बनेको छ । मुक्तिनाथ जानेले थोरै भने पनि त्यहाँको उत्पादन बाहिर ल्याउन गरेको पाइयो । दामोदर कुण्डदेखि बगेको कालिगण्डकीको शालिग्राम, स्याउ, स्याउको सुकुटी, स्याउबाट बनेको मदिरा (मार्फा) र जिम्बु । हाम्रो टोलीले पनि आफ्नो रूची र आवश्यकताअनुसार केही सामान किन्न भ्याए ।

नेपालभित्रै रहेका यस्ता सुन्दर र ऐतिहासिक ठाउँको अवलोकन भ्रमण गर्नु राम्रो पक्ष पनि हो । नेपाली उखानमा भनेझैँ मृगले कस्तुरीको खोजमा सारा जंगल चाहारे जस्तै हामी कहिलेकाहीँ नेपाल बाहिर यस्तै स्थानको खोजीमा लाखौँ खर्चिने गर्छौं । आफ्नै छेउमा रहेको यस्ता रमणीय सुन्दर ठाउँ बिर्सिएर वा थाहा नपाएर । कतै हामी पनि सुन्दर स्थानको खोजीमा आफ्नै स्वर्गजस्तो ठाउँ छोडेर कस्तुरी खोज्ने प्रयास त गर्दै छैनौँ ?

हाम्रो यात्रामा रहेका अधिकांश धार्मिक आस्था राख्ने हुनुहुन्थ्यो । वृद्ध आमाबुबादेखि दांैतरीसम्म । मुक्तिनाथ दर्शन गरे मोक्ष पाइने लोभमा उहाँहरूले तय गर्नुभएको यात्रामा सहभागी भएर त्यति रमणीय दृश्य हेर्न पाउनु मेरा लागि ठूलै कुरा थियो । पाँच दिनको यात्रामा देखिएका र सुनेका कुरा जीवनका लागि सुन्दर सिकाइ पनि थियो । मुग्लिनबाट समूहमा समावेश भएको मैले पोखराबाट समूहलाई बिदाइ गर्नु पर्दा निकै नमीठो अनुभूति भएको थियो ।

मुक्तिनाथ यात्राले अझ धेरै कुरा सिक्ने र जान्ने अवसरसमेत दिएको थियो । यात्राका क्रममा ठाउँठाउँमा सञ्चालित धर्मशालाले दिएका सुविधाले पनि यस्ता यात्रा विचार पु¥याएर गर्दा कम खर्चमा रहज हुने अनुभूति गरायो । बेनीको गलेश्वरमा रहेको धर्मशाला र फर्कंदा पोखरामा बसेका मुक्तिनाथ धर्मशालाले दिएको सुविधा सम्झनलायक थिए । यस्तै बाटोमा पर्ने तातोपानी कुण्डको स्नान । एउटै यात्राले जुटाएको अनेक अवसरजस्तै ।

मुक्तिनाथमा देखिएका सामान्य दृश्य मेरा लागि निकै अनौठो थियो । काठमाडौं या कहीँको मन्दिरमा प्रायः आस्थाका आधारमा मान्छेले भेटी चढाउनेको भन्दाअघि भेटी टिप्नेको हात लम्कने गरेको देखेको थिएँ । कैयौँपटक आर्यघाटमा शवमा चढाइएको पैसा शवको छेउसम्म नपुग्दै अरूकै हातमा परेको हेरेको मेरा लागि मुक्तिनाथमा चढाइएका भेटी कसैले नटिपेको देख्दा अनौठो लाग्यो । अझै १ सय ८ धाराका वरपर पहेँला सिक्का बर्गेल्ती थिए । न व्यापारीको दबाब यो लैजानु त्यो लैजानु, मेरोमा खान आउनु भन्दै कराउने । सबै शान्तपूर्वक जानेलाई सामान बेच्ने वा खान दिन निकै प्रभावित बनायो उनीहरूको व्यवहारले ।

प्रतिक्रिया