भारतीयद्वारा नेपाली सांसद बन्धक

बाँके । बाँके प्रदेशसभा १ (क) बाट निवाचित सांसद कृष्ण केसीलाई शुक्रबार नरैनापुरमा उनकै निर्वाचन क्षेत्रका बासिन्दाहरूले बन्धक बनाउने प्रयास गरेको बताएकि छन । साँझ करिब ६ बजेदेखि सांसद केसीलाई गाउँपालिकाको कार्यालयबाट बाहिर आउन नदिइएको केसीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएकी हुन् ।

साँझ करिब ६ बजे नरैनापुर पुगेकी सांसद केसीलाई नेपालगञ्जबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले राति १० बजे सकुशल उद्धार गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय भगवानपुर हुँदै राति २ बजे सदरमुकाम नेपालगञ्ज पु¥याएको हो ।

भारतीय सीमासँग जोडिएको बाँकेको नरैनापुर गाउँपालिकाको नरैनापुरमा लाग्ने हाटबजारमा ब्यवसाय गर्ने भारतीय नागरिक देबिदिन विकलाई प्रहरीले शुक्रबार अपरान्ह पाँच किलो चरेससहित पक्राउ गरेपछि घटना सुरु भएको थियो । विकको रिहाइका लागि सीमापारिबाट भारतीय नागरिक समेत नरैनापुर आइपुगेका थिए ।

भारतीय सीमासँग जोडिएको नरैनापुरमा लाग्ने हाटबजारमा ब्यवसाय गर्ने भारतीय नागरिक पाँच किलो चरेससहित पक्राउ परेपछि तनाव शुरु, निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा रहकी सांसद केसीलाई भेटिएपछि निर्दोष भएकाले तत्काल रिहाइ गर्न माग गर्दै चार घण्टा बनाए बन्धक

सोहीक्रममा निर्वाचन क्षेत्रको स्थलगत निरीक्षणमा रहकी सांसद केसीको गाडी रोकेर उनीहरूले भारतीय नागरिक निर्दोष भएकाले तत्काल रिहाइ गरिदिन दबाब दिएका थिए । शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलनमा कुरा गर्दै सांसद केसीले भनिन्, ‘आफ्नै निर्वाचन क्षेत्रमा बाहिरका मानिसबाट बन्धक हुनुपर्दा असह्य पीडा महसुश भएको छ ।’ प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बनेको थियो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै प्रहरी चौकी घेराउ गरेका थिए ।

नेपालगञ्जबाट नरैनापुर पुगेर लागुऔषध विरुद्ध परिचालित प्रहरीको विशेष टोलीले भारतीय नागरिक देवीविन विश्वकर्मालाई पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । पक्राउपछि भारतीय नागरिकलाई प्रहरी चौकीमा राखेर मुचुल्काका लागि गएको प्रहरी टोलीमाथि ढुंगामुढा गरेपछि उत्पन्न भएको थियो । प्रहरी चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउन्ड हवाई फायर गर्नुपरेको बाँके प्रहरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनले भने, ‘त्यहाँको अवस्था अहिले नियन्त्रणमा छ । थप घटना हुन नदिनसुरक्षाकर्मी परिचालन गरेका छौँ ।’

चरेशसहित पक्राउ परेका भारतीय नागरिक देवीविनलाई अबेर राति नै नेपालगञ्ज ल्याइसकिएको छ । देवीदिन पक्राउ परेपछि सीमापारिबाट आएका भारतीय युवाले उनलाई नछोडेसम्म प्रहरीलाई जान नदिने भन्दै घेरा हालेका थिए । सो क्रममा इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड भएको छ ।

‘प्रहरीको गाडीमा आगजनीको प्रयाससहित र ढुंगामुढा गरेपछि थप प्रहरी बल पुगेर अवस्था नियन्त्रण गर्न खोजेको थियो’,प्रहरी नायब उपरीक्षक सापकोटाले भने,‘ तर प्रहरीको उपस्थिति कमजोर देखेपछि उत्तेजित झीडले क्रमशः आक्रोश फैलाउँदै चौकीमै घेराउ गर्न पुगे । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर नै गर्नुर्पयो ।’ देवीविनलाई पक्राउ गरेपछि सीमा क्षेत्रबाट आएका भारतीय नागरिक आक्रमक भएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरूलाई स्थानीय गाउँलेले साथ दिएपछि मुठभेडको अवस्था सिर्जना भएको थियो ।

जिल्लाबाट बन्दोबस्तीसहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राति १२ बजेतिर घटनास्थललाई पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । ‘चार सय बढी मानिसले चौकी घेराउ गरेका थिए । नेपालगञ्जबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन वटा टोली, आसपासका चौकीबाट समेत नरैनापुरमा मद्दतका लागि पुगेका थिए भने नेपालगञ्जमा थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको थियो’,प्रहरी नायब उपरीक्षक सापकोटाले भने, ‘स्थिति नियन्त्रणमा आएपछि थप बल त्यतर्फ जानुपरेन ।’

तस्करी गरेर नेपाल ल्याउँदै गएको मालसामानसहित गत साता सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका अपराधीलाई पनि यसरी घेरा हाली भारतीयले छुटाएर लैजान सफल भएका थिए । ‘राज्यको कमजोर उपस्थिति देखेर यसपटक पनि तस्करलाई त्यसैगरी छुटाएर लैजाने प्रयास भयो’, प्रहरी नायब उपरीक्षक सापकोटाले भने, ‘हामीले त्यो प्रयासलाई असफल पारेका छौँ ।’

पत्रकार सम्मेलनमा प्रदेश सांसद केसीले निक्कै कठिन अवस्थाबाट आफुहरू बाच्न सफल भएको बताइन् । ‘निकै डरलाग्दो अवस्थाको सामना गरियो, झण्डै चार घण्टापछि प्रहरीले उद्धार गरेपछि मात्र आफुहरू बाच्न सफल भइयो,’सांसद केसीले भनिन, ‘अहिले मलाई ति क्षेत्रका बासिन्दाको व्यवहारले दुखी छु ।’ स्थलगत अनुगमनमा गएका बेला आफूमाथि भएको आक्रमण प्रयासलाई ‘गम्भीरतापूर्वक लिएको’ सांसद केसीको भनाइ छ । सांसद केसीसहित टोलीलाई घेराबन्दी पारेपछि सशस्त्र प्रहरीले कडा सुरक्षा दिएर सांसद र गाउँपालिकाका प्रमुखलाई झण्डै चार घण्टासम्म गाउँपालिकाको कार्यालयभित्र राखेको थियो ।

राति १० बजेपछि सांसद केसीको टोलीलाई भगवानपुर प्रहरीले सुरक्षा दिएर आफ्नो कार्यालयमा पु¥याएको थियो । सीमा क्षेत्रको स्थलगत फर्किएका प्रदेश सांसदसहित नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहमाथि पनि आक्रमण प्रयास भएको थियो । ‘मेरा कुरा पनि सुनेनन, धेरै दुःख लागेको छ’, सौर्य दैनिकसँगको टेलिफोन कुराकानीमा अध्यक्ष शाहले भने, ‘सामान्य घटनामा भारतीय घुसपैठ भएर गम्भीर बन्यो ।’

प्रतिक्रिया