‘द सुपर मम’ प्रतियोगिता : आर्थिक चलखेलमा ताज किनबेच भएको खुलासा

काठमाडौं । गत बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरि आफूहरुको आत्मसम्मानमा ठेस पु¥याउने काम गरेको भन्दै प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले गम्भिर आरोप लगाएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी दश जना प्रतियोगीहरुले एकै स्वरमा यस्तो दाबी गरेका हुन् । नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ । उनीहरुकाअनुसार उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए ।

निर्णयकर्ताहरुको निर्णयलाई बेवास्ता गरि आयोजक पूजना प्रधानले एक्लैले के उद्देश्यका लागि निर्णय गरिन् ? भन्दै उनीहरुले प्रश्नसमेत तेर्साएका छन । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘७ जना निर्णयकर्तामध्येबाट पनि ३ जनाको निर्णयलाई हामी आमाहरुसमक्ष किन ल्याईएन ?’ आएका निर्णयहरुपनि तलमाथि गरि नम्बर घटाउने र बढाउने काम गरेको पुष्टि हुन आएको पनि उनीहरुको दाबी छ ।

आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै उनीहरुले गम्भिर असन्तुष्टि पोखे । आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको उनीहरुको दाबी छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागीमध्येकी एक र प्रतियोगितामा सेकेण्ड रनरअपको ताज पाएकी र हाल ताज फिर्ताको घोषणा गरेकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएकोले आफूहरुले पाएको ताजसमेत फिर्ता गरेको स्पष्ट पारिन् । उनले भनिन्,‘यो प्रतियोगिता समाजभित्र पिल्सिएर बसेका महिलाहरुलाई सशक्त बनाउनु थियो । तर, आयोजकको तर्फबाट महिलाहरुको भावनामाथि खेलबाड गर्ने प्रयास भयो । हामीहरुलाई सौन्दर्यको वस्तु बनाईयो । यसमा हाम्रो गम्भिर आपत्ति छ ।’

शर्माले आयोजकले आफूहरुलाई गुमराहमा राखी निर्णयकर्ताहरुको निर्णयसलाई समेत अवमूल्यमन गरेको गुनासो पोखिन् । उनले थपिन्,‘निर्णर्यकर्ताहरुको निर्णयलाई लुकाइएको कुरा हामीसँग प्रमाण सुरक्षित छ । अहिलेसम्म सायद नेपालमै यस्तो धाँधली र पूर्व सुनियोजित तवरले प्रतियोगिता भएको छैन होला । आखिर, पूर्व तयारीअनुसार नै विजेता बनाउने हो भने प्रतियोगिताको आयोजना गर्नुको के महत्व हुन्छ ?’

शर्माले आफूहरु आयोजकबाट ठगिएपनि अब आईन्दा आफूहरुजस्तै अरु आमाहरु नठगियुन भन्ने हेतुले बाध्य भएर आफूहरुले आयोजको ज्यादती र मनोमानीको भण्डाफोर गरेको स्पष्ट पारिन् ।

पुजना प्रधानले आफूहरुजस्ता आमाहरुलाई सौन्दर्य प्रदर्शन गराई गलत फाईदा उठाई कमाउ धन्दामा लागेर अयोग्य र असक्षम प्रतियोगीलाई ताज जिताउन दुवैबीच आर्थिक सम्झौता भएको पनि आफूहरुले पेश गरेको कागजजातले पुष्टि गरेको प्रतियोगितामा सहभागी प्रतिष्पर्धी निलम श्रेष्ठले दाबी गरिन् । श्रेष्ठले भनिन्,‘यो प्रतियोगितामा पैसाको चलखेलमा पहिलो विजेता बनेकी थाईल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज नेपालमै फिर्ता गरिनुपर्छ ।’

प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनको लागि सोधिने प्रश्नपत्र आउट गरिएको र प्रतियोगीकी बुहारीलाई त्यसै कार्यक्रममा सहभागी गराई सम्पूर्ण निर्णयकर्ताको निर्णय निज बुहारीले संकलन गरेको प्रत्यक्ष दर्शक र आफूहरु प्रतियोगीहरुले देखेको कुरा पनि पुष्टि हुने उनीहरुको दाबी छ ।

उक्त कार्यक्रममा बोलाईएका संचारमाध्यम र फोटोग्राफरलाई मन परेका प्रतियोगीहरुलाई मात्र अग्रसर गराई पक्षपात ढंगले उनीहरुमाथि मात्रै केन्द्रित गरिएको पनि उनीहरुको गम्भिर आरोप छ । त्यस्तै, फोटोजेनिक हुनै नसक्ने प्रतियोगीलाई फोटोजेनिक अवार्ड दिईएको उनीहरुको अर्को गम्भिर आरोप छ ।

जारी विज्ञप्तीमा थप भनिएको छ,‘पुजना प्रधानले आफ्नो हिट्लर शैलीमा हामी सोझा साझा आमाहरुलाई प्रयोग गरि उनको आर्थिक र सामाजिक प्रतिष्ठा कमाउन हामीलाई किन प्रयोग गरियो ?’
एक्काईसौं शताब्दीमा पनि महिलाले महिलाहरुमाथि यति शोषण गर्ने घरभित्रका आमाहरुलाई शसक्त बनाउने बहानामा उल्टै आर्थिक र सामाजिक शोषण गर्ने सौन्दर्यको प्रदर्शन गराई आफूहरुको आत्मासम्मानमा नै आँच आउने काम गर्ने व्यक्तिलाई कानूनी कठघरामा उभ्याई कारबाही गर्नुपर्नेपनि उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागी अर्की प्रतिष्पर्धी सुष्मा कार्कीले निर्णायकहरुको नम्बरको आधारमा आफू तेस्रो हुनुपर्नेमा उपाधिविहीन बनाईएको आरोप लगाईन । त्यस्तै, उनले शीर्ष दशभित्रपनि आउन नसक्ने प्रतिष्पर्धी एमी कमार्चार्यालाई फष्ट रनरअप र बाला राईलाई तेस्रो विजेता बनाईएको दाबी गरिन् ।

सम्पूर्ण निर्णयकर्ताहरुको निर्णय आफूहरुलाई दिन नसकेको र आएको निर्णयहरु पनि केरमेट भएकोले आफूहरुमाथि ठूलो अन्याय भएको भन्दै प्रतियोगितामा लागेको सम्पूर्ण खर्च आयोजकले फिर्ता दिनुपर्ने उनीहरुले माग गरे । प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरुको खर्च भएको भन्दै आयोजक पुजनाले उक्त रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरु निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए ।

प्रतिक्रिया