मदन भण्डारीप्रति बेइमानी

नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका दूरदर्शी नेता मदन भण्डारीको निधन भएको आजदेखि २६ वर्ष पुगेको छ । ०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय मोटर दुर्घटनामा भण्डारीको निधन भएको थियो । उक्त दुर्घटना षड्यन्त्रमूलक हत्या हो या चालक अमर लामाको लापरबाही हो भन्ने रहस्य अझै खुल्न सकेको छैन । एक मात्रै साक्षी जिप चालक लामाको डेढ दशकअघि नै हत्या भएका कारण यो दुर्घटनाको रहस्य इतिहासको गर्भमा अनुत्तरित नै रहने सम्भावना देखिएको छ । सामान्य दुर्घटना नभएर हत्या नै भएको ठहर त्यतिवेला नै मदन भण्डारीको पार्टी नेकपा एमालेले गरेको थियो । त्यसयता नेकपा एमालेका मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली गरी चारजना प्रधानमन्त्री भइसकेका छन् । ओली त दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छन् । भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी पनि दोस्रो कार्यकालका लागि राष्ट्रपतिपदमा आसिन छन् । दुईपटक प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल प्रचण्ड पनि यतिवेला मदन भण्डारीले पुनर्ताजगी गरेको पार्टीमै छन् । तर, मदन भण्डारीको हत्या भएको हो या दुर्घटना मात्रै हो ? भन्ने प्रश्नको निक्र्योल गर्नेतर्फ ध्यान गएको देखिँदैन । वर्षाैँ बितिसकेको र प्रमाण नष्ट भइसकेका कारण अब पार लाग्दैन भनेर पनि नेकपाका नेताहरूले निच मारेका हुन सक्छन् । तर राज्यले चाहने हो भने एउटा अनुसन्धान आयोग खडा गर्न नसकिने होइन । अनुसन्धान आयोगले आफ्नो काम गर्दैजाँदा कसैको केही विगार हुँदैन । हत्या हो या दुर्घटना मात्रै हो ? भन्ने कुराको जबसम्म निक्र्योल हुँदैन तबसम्म मदन भण्डारीको आत्माले शान्ति पाउँदैन । आफू सत्तामा नपुग्दा सम्म हत्या भयो भन्दै हंगामा मच्चाउने, हत्यारा पत्ता लगाएर कारबाही गछौं भन्दै मत मागेर चुनाव जित्ने तर सत्ता प्राप्ति भइसकेपछि निच मारेर बस्ने प्रवृत्ति भनेको ठूलो राजनीतिक बेइमानी हो ।

जुन वेला विश्वभरिका कम्युनिस्ट पार्टी तथा सत्ताहरू आफ्नै कारण चकनाचुर हु“दै गइरहेका थिए त्यही वेला नेपालको कम्युनिस्ट पार्टी (नेकपा) एमाले असाधरण रूपमा संगठित तथा लोकप्रिय भइरहेको थियो । नेकपा एमाले असाधरण रूपमा संगठित र लोकप्रिय बन्दै जानुको एक मात्रै कारण थियो मदन भण्डारीको दूरगामी सोच । उनले ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त हो’ भन्ने नयाँ अवधारणा अघि सारे । ‘के भइरहेछ त्यो हेर्ने मात्र होइन, के हुनुपर्छ र के हुन सक्छ’ भनी सर्वमान्य विकल्प खोजी गर्न सकिएन भने कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ भन्दै प्रभावशाली भाषणको माध्यमबाट कार्यकर्तामा उर्जा भर्ने काम उनले गरे । जुन वेला विश्वभरि नै कम्युनिस्ट पार्टीहरूलाई उग्रवामपन्थी चिन्तनका कारण हिंसा र अधिनायकत्वको प्रतिक मानिन्थ्यो त्यो वेला उनले दलीय प्रतिस्पर्धामा आधारित जनमतको माध्यमद्वारा पनि कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गर्नसक्छन् भन्ने कुरालाई प्रमाणित गरिदिए । विश्व कम्युनिस्ट आन्दोलनमा उत्पन्न समस्या र संकटलाई विश्लेषण गर्दै अघि बढ्ने सन्दर्भमा भण्डारीको बहुदलीय जनवादले प्रजातान्त्रिकरणको क्रान्तिकारी धार, क्रान्तिकारीको जडसूत्रवादी धार र उदारीकरणको विसर्जनवादी धारजस्ता तीन किसिमका अवधारणाहरूको ठोस विश्लेषण गर्दै नेपाली जनवादी क्रान्तिलाई अगाडि बढाउन मौलिक र बैज्ञानिक कार्यक्रम पेस गरेको छ । तर भण्डारीको निधनपछि यो वैज्ञानिक कार्यक्रम जनताका पक्षमा कार्यान्वन गर्ने सन्दर्भमा उनका उत्तराधिकारीहरूले बेइमानी गरेका छन् ।

मदन भण्डारीले कोरेको मार्गचित्र भनेको सत्ता प्राप्ति मात्रै होइन, मोजमस्तीका लागि नभएर जनताको पक्षमा काम गर्नकै लागि हो सत्ता प्राप्ति । तर, उनको निधनपछिको यो २६ वर्षको अवधिमा नेकपा एमाले (हाल नेकपा) ले पाँचपटक आफैँ सरकारको नेतृत्व गर्ने अवसर पायो । ९ पटक अर्को पार्टीको नेतृत्वको सरकारमा सामेल हुने अवसर पायो । यो अवधीमा एमालेका नेताहरूले मोजमस्तीमा बढी समय दिए कि ? जनताको पक्षमा काम गर्न बढी समय दिए ? उत्तर ज्यादै निराशाजनक छ । जनता गरिबको गरिब छन् तर नेताहरू धेरै धनी भइसकेका छन् । गरिब जनताको पसिना चुसेर धनी बनिरहेका नेताहरूले मदन भण्डारीको चेलो हुँ भनेर दाबी गर्नुभन्दा ठूलो पाखण्ड केही पनि होइन ।

प्रतिक्रिया