प्रचण्डको आत्मप्रशंसा

शुक्रबार आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने–‘मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु, तर यस अवधिमा इतिहासले नै सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन् ।’ आँफुले गरेका ऐतिहासिक कामको उदाहरण दिँदै प्रधानमन्त्री प्रचण्डले शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व संकलनमा सुधार आएको बताए । यसैगरी लगानीमैत्री वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको , पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएकोे पनि प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन, मिटरब्याज पीडितहरूको समस्या समाधान , नागरिकता समस्या समाधान , समयमै पाठ्यपुस्तक उपलव्ध , समयमै रासायनिक मल उपलव्ध , बिपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार ९ सय निःशुल्क शैया तथा गैरआवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए । यसैगरी नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु,बंगलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु आफ्नो कार्यकालका मुख्य उपलव्धी भएको बताए ।

हाम्रो देशमा नेताहरुले बोलेको कुरा जनताले हतपत्ति विश्वास नगर्ने परिस्थितिको निर्माण भइरहेको कुरा साँचो हो । तत्कालनि प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मा प्रसंसा र परनिन्दा गर्ने चरित्रकै कारण नेताहरु फटाह कुरा गर्छन् भन्ने आम जनताले महशुस गर्नु स्वभाविकै हो । वर्तमान प्रधानमन्त्री प्रचण्डले आफ्नो यो १६ महिनाको कार्यकालमा जे जति प्रगति उल्लेख गरेका छन्, त्यो कुरा झुठो होइन । तुलनात्मक रुपमा हेर्दा यो सरकारले राम्रै गरेको छ । सबै भन्दा महत्वपूर्ण कुरा राजनीतिक तहबाट भ्रष्टाचार भएको समाचार मिडियामा आउने गरेका छैनन् । तर प्रधानमन्त्री प्रचण्डले भने जस्तो ऐतिहासिक काम भएका छन् भन्ने कुरा गलत हो । कि त ऐतिहासिक भन्ने शब्दको अर्थ नै प्रधानमन्त्री प्रचण्डलाई थाह रहेनछ भनेर बुझ्नु पर्यो , कि त प्रधानमन्त्री प्रचण्ड झुठ बोल्दैछन् , तत्कालिन प्रधानमन्त्री ओली जस्तै आत्मा प्रसंसा र परनिन्दाको बाटोतिर वर्तमान प्रधानमन्त्री प्रचण्ड पनि छन् भन्ने कुरा बुझ्नु पर्यो ।

आफ्नो अनिवार्य जिम्मेवारी भित्र पर्ने नियमित कामलाई ऐतिहासिक भनिन्न । चीरकालसम्म जनताले संझिइरहने कामलाई ऐतिहासिक भनिन्छ । २०४६ सालको परिवर्तन पछि हेर्ने हो भने अन्तरिम सरकारका प्रधानमन्त्री कृृष्णप्रसाद भट्टराईले एक वर्ष भित्रै संविधान निर्माण गर्ने र आम निर्वाचन गराउने काम पुरा गरे । त्यो काम ऐतिहासिक थियो । २०५१ सालको मध्यावधी निर्वाचन पछि प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले सामाजिक सुरक्षा भत्ताको अवधारण ल्याएर आम नेपालीलाई देश हाम्रो हो, राज्य हाम्रो हो भन्ने प्रत्याभुति गराए । २०६३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणतन्त्र तथा शान्ति प्रक्रियाको नेतृत्व गरे । २०७२ सालमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने अभिारा इमान्दारिताका साथ पुरा गरे । हो, यस्तै कामलाई भनिन्छ ऐतिहासिक । नेपालको विजुलीबाट भारतको आवश्यकता पुरा गर्न सहयोग गर्नुलाई ऐतिहासिक उपलव्धी भन्ने हो भने त राणाकाल र पंचायतकालमा थुप्रै काठ भारतमा विक्रि गरिन्थ्यो ।

हरेक वर्ष दुई हजार मेगावाटको दरले स्वदेशमै विजुली खपत बृद्धि हुने गरी औद्योगिक जग बसालिएको भए ऐतिहासिक भन्न मिल्थ्यो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पालामा भएको महाकाली सन्धीलाई ऐतिहासिक भन्ने जस्तै हो, वर्तमान प्रधानमन्त्री प्रचण्डले भारत सँग भएको विजुली खरिद विक्रि संझौतालाई ऐतिहासिक भन्नु । यो १६ महिनाको अवधीमा उत्पादनमुलक व्यवसाय कति थपिए ? रोजगारी वृद्धि कति भयो ? जनताको जीवन यापनको समस्या घट्यो की बढ्यो ? लगायतका प्रश्नको उत्तर खोज्ने हो भने सरकार असफल छ ।

प्रतिक्रिया