प्रेस स्वतन्त्रता जनताका लागि

संयुक्त राष्ट्र संघको आह्वानमा विगत ३१ वर्षदेखि हरेक मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । हरेक दिवसमा कुनै न कुनै नारा तय गरिन्छ । यस वर्षको प्रेस स्वतन्त्रता दिवसको नारा ‘पृथ्वीका लागि प्रेस, वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने तय गरिएको छ । यो नारालाई गहिरिएर मनन् गर्ने हो भने प्रेसको महत्व र प्रेस जगतमा काम गर्नेहरूको जिम्मेवारी कति गहन छ भन्ने कुरा छर्लंग हुन्छ । ज्ञान र विज्ञान तथा प्रविधिमा जति जति उन्नति हुँदै गएको छ, प्रेसको महत्व तथा जिम्मेवारी त्यति नै बढ्दै गएको छ भन्ने सन्देश यस वर्षको प्रेस स्वतन्त्रता दिवसको नाराले दिएको छ । तर, प्रेस जगतको महत्व तथा जिम्मेवारीको वोध पृथ्वीको सिंगो मानव समुदायमा एकै खालको छैन । जुन समाज तथा राज्यमा जनचेतनाको विकास धेरै भएको छ, ती समाज तथा राज्यमा प्रेस जगतको महत्व तथा जिम्मेवारीको बोध धेरै छ । पिछडिएको समाज तथा चेनता कम भएको राज्यमा प्रेस जगत महत्वहीन छ र प्रेस जगतले पनि आफ्नो जिम्मेवारीको पूर्णबोध गर्न सकेको देखिन्न । यसैले प्रेस भनेको राज्य तथा समाजको ऐना पनि हो । विद्वानहरूले भन्ने गरेका छन्, ‘कुन समाज तथा राज्य के कति सभ्य छ ? भन्ने थाहा पाउन त्यहाँको प्रेसको अवस्था हेर्दा हुन्छ ।’

एकातिर पृथ्वीको रक्षा गर्ने दायित्व संयुक्त राष्ट्र संघले प्रेस जगतको काँधमा पनि थम्याएको अवस्था छ भने अर्कोतिर प्रेसलाई कुण्ठित गर्ने, प्रेस स्वतन्त्रतालाई शत्रु ठान्ने राज्यसत्ता तथा राज्य संयन्त्र भएका देशहरू पनि विश्वमा निकै धेरै छन् । प्रेसको जिम्मेवारी नबुझेका सञ्चारकर्मीहरूको संख्या पनि विश्वका धेरै देशहरूमा उल्लेख्य छ । यो मामिलामा हाम्रो देश नेपाल कहाँ छ ? भन्ने समीक्षा गर्नु सान्दर्भीक हुन्छ । हामी लोकतान्त्रिक शासन व्यवस्थामा छौँ । लोकतन्त्र भनेको पारदर्शी शासन व्यवस्था हो । त्यसैले संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख गरिएको छ । तर, व्यवहारमा पूर्ण प्रेस स्वतन्त्रता छ कि ? छैन ? भन्ने प्रश्न ज्यादै पेचिलो बनेको छ । पहिलो कुरा त पूर्ण प्रेस स्वतन्त्रताको जिम्मेवारी बहन गर्नसक्ने जनशक्ति नेपालमा के कति छ ? भन्ने प्रश्नसमेत अनुत्तरित छ । दोस्रो कुरा नेपाली समाजको ठूलो हिस्साले प्रेस तथा प्रेस स्वतन्त्रताको महत्व के हो ? प्रेस स्वतन्त्रता कसका लागि हो ? भन्ने कुरा बुझ्न अझै बाँकी छ । हाम्रो देशको राज्य संयन्त्रमा रहनेहरू यही समाजका उपज हुन् । त्यसैले हाम्रो देशको राज्य संयन्त्रमा रहने अधिकांशको बुझाइ छ, ‘प्रेस स्वतन्त्रता पत्रकार तथा मिडियाका लागि हो ।’ यो बुझाइ अत्यन्त गलत छ । राज्य संयन्त्रमा रहनेहरूले प्रेस स्वतन्त्रता भनेको जनताका लागि हो, त्यो पनि अझ तृणमूल तहका जनताका लागि हो भन्ने यथार्थता जबसम्म बुझ्दैनन् तबसम्म नेपालमा प्रेस स्वतन्त्रताको प्रत्याभूति हुने संभावना रहन्न ।

पहिलो कुरा त प्रेस स्वतन्त्रता भनेको जनताको नासो हो भन्ने कुरा पत्रकारिता जगतले बुझ्नु पर्छ । प्रेस स्वतन्त्रता भनेको पत्रकारका लागि नभएर आफ्ना लागि हो भन्ने महसुस आमजनताले गर्नुपर्छ । आमजनतालाई यो महसुस गराउने दायित्व प्रेस जगतकै हो । जब आमजनताले प्रेस स्वतन्त्रता आफ्ना लागि हो भन्ने बुझ्छन् तब प्रेस स्वतन्त्रका कुण्ठित गर्न खोज्नेहरू राज्य संयन्त्रबाट आफैँ किनारा लाग्दै जान्छन् । राज्यको चरित्र नै निरंकुश हुन्छ, राज्य संयन्त्रमा रहनेहरू सकेसम्म अपारदर्शी हुन खोज्छन् । त्यसमा पनि हाम्रो देशको राज्य संयन्त्रमा पुग्नेमध्ये अधिकांशको मानसिकता जे जसरी भए पनि सम्पत्ति आर्जन गर्नेतर्फ केन्द्रित छ । आपराधिक मानसिकता बोकेकाहरूका निम्ति मुख्य शत्रु भनेकै स्वतन्त्र प्रेस हो । त्यसैले उनीहरू प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन हरहमेशा सक्रीय भएको देखिएको छ । संविधान र कानुनका अनेक छिद्र खोज्ने र ती छिद्रको अपव्याख्या गर्दै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास राज्य संयन्त्रमा रहनेहरूबाट अहिले पनि भइरहेका छन् ।

प्रतिक्रिया