असन्तुष्टि सम्बोधन गर्न नसक्दा पार्टी फुट्नु दुःखद्

उपेन्द्र यादवले नेतृत्व गर्दै आइरहेको मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ । पार्टीका कार्यबाहक उपाध्यक्ष अशोक राईको नेतृत्वमा सोमबार जसपा नेपाल विभाजन भएको हो । विभाजित भएर बनेको नयाँ पार्टीको नाम जसपा राखिएको छ । तर, यो पार्टीले निर्वाचन आयोगबाट संवैधानिक तथा कानुनी वैधता पाउन भने अझै बाँकी छ । जसपा नेपालमा १२ जना सांसद थिए । जसमध्ये ७ जना राई नेतृत्वको जसपामा सामेल भएका छन् । जसपा नेपालका अध्यक्ष यादव यतिबेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री छन् । राई नेतृत्वको जसपाले पनि आफू वर्तमान सत्ता गठबन्धनलाई थप बलियो बनाउने घोषणा गरेको छ । पार्टीभित्र सैद्धान्तिक तथा वैचारिक मतभेद रहेको दावी पनि राई समूहले गरेको छैन । त्यसैले किन र के का लागि जसपा फुट्यो ? भन्ने प्रश्न अनुत्तरित छ । यादवले निरन्तर अध्यक्ष पद हडपिरहेका कारण राईको नेतृत्वमा छुट्टै पार्टी गठन गर्नुपरेको नेताहरूले जनाएका छन् । तर, राई पनि यो मामिलामा पानीमाथिको ओभानो छैनन् । राई २०६९ सालमा आफ्नो नेतृत्वमा संघीय समाजवादी पार्टी गठन गरी एमालेबाट बाहिरिएका थिए ।

नेपालको इतिहास हेर्ने हो भने मधेसीदल गठन हुनु, फुट्नु र जुट्नु नयाँ कुरा हुँदै होइन । त्यसमा पनि २०५४ सालमा एनजिओको रूपमा गठन भएको मधेसी जनाधिकार फोरम २०७७ सालमा जसपा नेपाल हुँदै अहिलेसम्मको २७ वर्षे यात्रमा कतिपटक फुट्यो ? कतिपटक अरू पार्टीसँग एकीकरण ग¥यो र कतिपटक नाम परिवर्तन ग¥यो ? भन्ने उत्तर खोज्नका लागि कापीकलम लिएरै हिसाबकिताब निकाल्नुपर्ने अवस्था छ । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा ५४ सिटसहित मधेसी जनाधिकार फोरम संसद्को चौथो दल बनेको थियो । एक वर्ष नपुग्दै भाग्यनाथ गुप्ता र किशोर विश्वासलगायत नेताहरू अलग भएर मधेसी जनअधिकार फोरम (मधेस) गठन गरे । त्यसको केही समयपछि अमर यादवले मधेस तराई फोरम गठन गरे । २०६६ साउनमा २५ सांसद लिएर फोरमबाट गच्छदारले लोकतान्त्रिक फोरम नामको नयाँ दल खोले ।

२०६८ जेठमा जयप्रकाशप्रसाद गुप्ताले १३ सांसद लिएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक गठन गरे । २०७२ जेठको अन्तिम साता उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकीकरण भयो । पार्टीको नाम संघीय समाजवादी फोरम राखियो । २०७६ वैशाख २३ गते त्यही पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी बन्यो । २०७७ वैशाख १० गते महन्थ ठाकुर, राजेन्द्र महतो सहितले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टीसमेत जोडेर यादवले जनता समाजवादी पार्टी बनाए । २०७८ भदौमा महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीले उपेन्द्रको नेतृत्वबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे । २०७९ साउनमा बाबुराम भट्टराई पनि छुट्टिए ।

पार्टी स्थापनादेखि हालसम्म यादव निरन्तर पार्टी अध्यक्ष छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र छैन भन्ने कुराको पुष्टि यसले गर्छ । तर यादवसँग छुट्टिएर भिन्न भएर नयाँ पार्टी खोल्नेहरू मध्ये केही अपवादबाहेक अहिलेसम्म कसैले पनि गरिखाएका छैनन् । संभवतः अशोक राई समूहले पनि गच्छदार, गुप्ता, डा. भट्टराईकै बाटो तय गरेको हो । मधेसी दल मात्रै होइन कम्युनिस्ट पार्टीहरू पनि धेरैपटक फुटेका छन्, तर फुटेर बनेका पार्टीहरूले निरन्तरता दिन सकेका छैनन् । देशको सबैभन्दा पुरानो तथा बहुदलीय संसदीय व्यवस्थालाई साधन र साध्य दुवै मान्ने पार्टी हो, नेपाली कांग्रेस । नेपाली कांग्रेस पनि पहिलोपटक मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा र दोस्रोपटक शेरबहादुर देउवाको नेतृत्वमा विभाजन भएको थियो । तर, उनीहरू दुवैले पार्टी अघि बढाउन सकेनन् ।

प्रतिक्रिया