जग्गाको मूल्य अझै घट्ने संकेत

जग्गा किनबेच मात्रै घटेको छैन, मूल्य पनि कहालिलाग्दो रूपमा घटिरहेको छ । ४ वर्षअघि कोरोनाको महामारीसँगै सुरु भएको जग्गा किनबेचको मन्दी घट्दो होइन बढ्दो क्रममा रहेको छ । विगतमा पाँच वर्षको अन्तरालमा जग्गाको मूल्य दोब्बर बढ्ने गथ्र्यो भने हरेक वर्ष किनबेचको संख्या १५ देखि २५ प्रतिशतसम्म बढ्ने गथ्र्यो । अरू बस्तुको ब्यापारभन्दा जग्गाको व्यापारमा उल्लेख्य प्रतिफल आउने देखेर धेरै व्यवसायीहरू जग्गाको कारोबारमा लागे । ठूला कित्ताका जग्गाहरू टुक्राटुक्रा हुन थाले । भविष्यमा चुनौती आउन सक्ने भन्दै सरकारले कित्ताकाटमा नियन्त्रण गर्न थाल्यो । पाँच वर्ष अघिको त्यो अवस्थामा अहिले धेरै परिवर्तन आएको छ । जग्गा व्यापारीहरूको दबाबपछि सरकारले कित्ताकाट खुला गरिसकेको छ ।

कोरोनाको कहर सकिएर देशको अर्थतन्त्र पूर्ववत आवस्था भन्दा पनि अगाडि बढिसकेको छ । ५ वर्षअघि देशको कुल ग्रार्हस्थ उत्पादन करिब ४० खर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिव ५५ खर्ब रुपैंया पुगेको छ । यस्तो अवस्थामा पनि जग्गाको मूल्य तथा किनबेच ज्यादै न्यून हुनु अर्थपूर्ण छ । आर्थिक मन्दीका कारण यो समस्या आएको भन्दैछन् जग्गा व्यापारीहरू । जग्गा ब्यापारलाई प्रोत्साहन गर्ने नीति नल्याउने हो भने आर्थिक मन्दी अझ गहिरो हुने तर्क उनीहरूको छ ।

सहकारी डुब्नु र बैंकहरू डुब्ने दिशातर्फ जानुमा जग्गा कारोबारमा आएको मन्दी हो भन्ने तर्क गर्दै व्यापारीहरूले सरकारलाई दबाब दिइरहेका छन् । सहकारीका सञ्चालकहरूले सर्वसाधारणको निक्षेप जग्गा खरिदमा प्रयोग गरे । बैंकहरूले पनि जग्गा खरिदमा धेरै नै ऋण प्रवाह गरे । तर, खरिद गरिएको जग्गा बिक्री भएन । खरिद मूल्यभन्दा कममा बेच्न खोज्दा पनि ग्राहक फेला परेनन् । त्यसैले सहकारीहरू संकटमा पर्नु र बैंकहरू संकटतिर धकेलिनुका कारण मध्ये मुख्य कारण जग्गाको कारोबारमा आएको मन्दी तथा मूल्य घट्नु हो भन्ने कुरामा दुई मत छैन । सहकारी तथा बैंकहरूको समस्या समाधान गर्ने नाममा जग्गाको कारोबार तथा मूल्य वृद्धिलाई ५ वर्षअघिकै अवस्थामा फर्काउने नीति ल्याउन व्यवसायीहरूले सरकारमाथि दबाब दिएका छन् । सरकारले यो दबाबलाई के कसरी लिन्छ हेर्न बाँकी छ । तर, जग्गाको किनबेच तथा मूल्य घट्नुका बास्तविक कारण आर्थिक मन्दी हुँदै होइन । बास्तविक रोग पत्ता नलागी उपचार थालियो भने झन् क्षति हुन्छ ।

पहिलो कुरा त निर्वाहमुखी कृषि व्यवसायबाट मानिसहरू धमाधम पलायन भइरहेका छन् । खेतबारी बाँझै छन् । अब कृषि प्रयोजनको जग्गाको मूल्य बढ्ने कुरा त परै जाओस्, बिक्रीका लागि पनि समस्या देखियो । घडेरी प्रयोजनाका जग्गा बिक्रीको संभावना पनि घटेर गएको छ । पहिलो कुरा त नेपालमा कुल घर परिवारको संख्याभन्दा प्लटिङ गरी बिक्रीमा राखिएका घडेरीहरूको संख्या धेरै रहेको ५ वर्ष अघिको तथ्यांकले नै देखाइसकेको थियो । दोस्रो कुरा ढिलो विवाह गर्ने र बढीमा २ मात्रै सन्तान जन्माउने क्रम सुरु भएको तीन दशक नाघिसकेको छ । छोराछोरी जन्माउने क्रम नै घटेपछि किन किन्नुपर्यो थप घडेरी ? तेस्रो कुरा जसका लागि घडेरी चाहिने हो उनीहरू धमाधम स्थायी बसोबासका लागि युरोप, अमेरिका तथा अस्ट्रेलियामा ओहिरो लाग्न थालेका छन् । त्यसैले अब धेरै नै महत्त्वपूर्ण सहरी क्षेत्र तथा व्यापारिक केन्द्रको बाहेक अन्यत्रको जग्गाको मूल्य बढ्दैन भन्ने कुरा धेरैले थाहा पाइसके । सर्वसाधारण जनता पनि सचेत भइसके । जग्गा खरिदमा गरिने लगानी अनुत्पादक मात्रै होइन डुब्नु हो भन्ने बुझिसके ।

यदि सक्छ भने सरकारले अब किसानलाई सहुलियत दिने नीति ल्याउनुपर्छ । विदेशी कृषि उपज आयातमा कडाइ गर्ने हो भने अझै पनि खेतीयोग्य जग्गा बाँझै छाड्ने समस्या समाधान हुनसक्छ । जग्गा कारोबारीहरूले भने अब जग्गाको मूल्य बढ्छ भन्ने नसोचे हुन्छ । बरु समयमै जग्गा कारोबार छाडेर अरू व्यवसाय सुरु गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया