काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस यतिवेला जागरण अभियानमा छ । केपी ओली नेतृत्वको सरकारले गरेका गलत काम कारवाही तथा कमजोरीहरू जनताबीच लैनाने उद्देश्यका साथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत वैशाख २१ गतेदेखि १ महिने जागरण अभियान सुरु गरेको हो । जागरण अभियानका क्रममा ७७वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । धेरै जसो केन्द्रीय सदस्यहरू यतिवेला आफूलाई खटाइएको जिल्लामै बसेर विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
ओली सरकार एक पछि अर्को प्रकरणमा मुछिएर अलोकप्रिय बन्दै गएको सन्दर्भमा प्रमुख प्रतपक्षी नेपाली कांग्रेसले आरम्भ गरेको जागरण अभियानमा उल्लेख्य जनसहभागिता रहने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका थिए । तर, कांग्रेसले जिल्ला सदरमुकाममा आयोजना गरेका आमसभाहरूमा पार्टीका क्रियाशील सदस्य तथा स्थायी रूपमा भोट दिनेबाहेक उल्लेख्य उपस्थिति देखिएको छैन ।
जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले पनि कार्यकर्ताले उठाएका जिज्ञासाको उत्तर दिन सकिरहेका छैनन् । अर्थात् केन्द्रीय प्रतिनिधिले दिएको उत्तरबाट कार्यकर्ताहरूले चित्त बुझाउन सकिरहेका छैनन् । जसका कारण सिन्धुपाल्चोक ललगायत केही जिल्लामा आपसी झडप तथा अधिकांश जिल्लामा बिवाद उत्पन्न भएका समाचारहरू आएका छन् । संस्थापन पक्षका केन्द्रीय प्रतिनिधि सहभागी भएको ठाउँमा सस्थापन इतर पक्षका कार्यकर्ताहरूले सहभागिताका लागि जाँगर नदेखाएको र संस्थापन इतरका केन्द्रीय प्रतिनिधि सहभागी भएको ठाउँमा संस्थापन पक्षका कार्यकर्ताहरूले सहभागिताका लागि जाँगर नदेखाएको समाचार आएका छन् ।
कन्द्रीय प्रतिनिधिहरूलाई जागरण अभियानमा जानुअघि ओली सरकारका कुन कुन गलत कामहरूको भण्डाफोर गर्ने ? भन्ने सन्दर्भमा विज्ञहरूलाई बोलाएर सूची नै बनाइएको थियो । यो सूचीमा ओली सरकारद्वारा न्यायधीशका रूपमा कार्यकर्ता भर्ना गरिएको , वाइडबडी विमान प्रकरणमा भ्रष्टाचार गरिएको , प्रधानमन्त्री निवास वालुवाटारको १ सय १४ रोपनी सरकारी जग्गा व्याक्तिका नाममा दिइएको , काठमाडौंको खुलामञ्चमा सटर बनाएर भाडामा दिइएको , राजदूत लगायत संवैधानिक अंगका सदस्य तथा पदाधिकारी नियुक्ति सिफारिस गर्दा प्रमुख प्रतिपक्षीदलका नेतालाई बैठकमा नबोलाइएको लगायतका मुद्धाहरू समावेश छन् । केन्द्रीय नेताहरूले यी मुद्धा उठाइरहँदा कार्यकर्ताहरूले पनि थप जिज्ञासा राखेका छन् । तर, ती जिज्ञासाको चित्तबुझ्दो उत्तर केन्द्रीय प्रतिनिधिहरूले दिन नसक्दा कार्यकर्ताहरू खिन्न बनेका छन् । कार्यकर्ताहरूका जिज्ञासा छन् –
१ कुमार रेग्मीलाई प्रधानन्यायधीशसम्म पुग्ने गरी नियुक्ति गर्ने शर्तमा पार्टी सभापति देउवाले सर्वोच्च अदालतका चार र उच्च अदालतका १७ जना न्यायधीश नेकपाका पार्टी कार्यकर्ता बनाउने गरी ‘गिभ एन्ड टेक’ गरेको समाचार आएको छ , यो समाचार कतिसम्म सत्य हो ? राजतन्त्र पुनर्वाहालीको अभियानमा लागेका कुमार रेग्मी नै सभापति देउवाका लागि निर्विकल्प हुनु को कारण के हो ? कुमार रेग्मीको सिफारिसले कांग्रेस सभापति देउवा फेरी पनि प्रतिमगन निम्त्याउने अभियानमा छन् भन्ने आशंकाको जवाफ हामीले कसरी दिने ?
२ संवैधानिक परिषद्को बैठकमा देउवालाई बोलाइएको भए विगतमा राजदूत पद बिक्री गरेर पार्टीलाई बद्नाम गराए जस्तै फेरी पनि बद्नाम बनाउने थिएनन् भन्ने ग्यारेन्टी थियो ?
३. वाइडवडी विमान खरिद गर्ने निर्णय तथा बैना रकम पठाउँदा काँग्रेसकै नेता जीवनबहादुर शाहीले पर्यटन मन्त्रालय सम्हालेको र पहिलो किस्ता पठाउँदा सभापति देउवाले नै पर्यटन मन्त्रालय सम्हालेको समाचार बाहिर आएको छ । यो समाचारमा कत्तिको सत्यता छ ? यो समाचार बाहिर आएसँगै सभापति देउवाको मुख किन बन्द भयो ?
४ प्रधानमन्त्री निवास वालुवाटारको जग्गा व्याक्तिका नाममा लैजाने सन्दर्भमा २०४८ देखि ५० सालसम्म देउवा गृहमन्त्री भएका बेला गृहमन्त्रालयले नै ठूलो बेइमानी गरेको समाचार बाहिर आउनासाथ सभापति देउवाको मुख किन बन्द भयो ? खुलामञ्चमा सटर बनाएर भाडामा दिने व्यापरी नेपाली काँग्रेसकै कार्यकर्ता भएको र उनलाई नेपाली कांग्रेसले नै संरक्षण गरेको समाचार आउँदा तत्कालै किन प्रतिवाद गरिएन ?
यसैगरी कार्यकर्ताहरूले थप प्रश्न राखेका छन् –
५ १३ औँ महाधिवेशनमा पार्टी सभापति निर्वाचित हुना साथ पार्टीलाई बलियो बनाउन तथा संगठनलाई पूर्णता दिनतिर नलागेर किन विगतमा जस्तै सत्ता समिकरणको खेलमा हाम्रा सभापति लागे ? त्यस अघि ३–३ पटक प्रधानमन्त्री हुँदा पनि विकृति नै विकृतिको भारी मुलुकलाई बोकाएर काँग्रेसलाई कमजोर बनाउने प्रयत्न गरेका सभापति देउवाकै कारण पार्टीले चुनाव हारेको हो कि होइन ?
६ अन्तिम पटक प्रधानमन्त्री हुँदा सभापति देउवाले काँग्रेसको प्रतिष्ठा बढाउने के के काम गरे ? आइजीपी काण्ड , प्रधानन्यायधीश काण्डले पार्टीको छवि माथि पु¥यायो कि तल झा¥यो ? भरतपुरको मेयर पदमा प्रचण्डकी छोरीलाई मत हाल्न नेपाली काँग्रेसका कार्यकर्तालाई बाध्य गराएर पार्टीलाई के के फाइदा भयो ?
७ . सभापति देउवाले सरकारको नेतृत्व गरेका बेला राजदूत लगायत राजनीतिक नियुक्तिका पदहरू किन खरिद बिक्री गरियो ? बद्नाम अनुहारलाई किन अघि सारियो ?
८. प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जसले बढी पैसा दिन्छ उसैलाई टिकट दिने विकृति किन भित्र्याइयो ? त्यो रकम खोई ?
९. विधानमा दुई महिना भित्र केन्द्रीय समिति तथा विभागलाई पूर्णता दिने प्रावधान छ । तर, महाधिवेशन सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि केन्द्रीय समिति तथा केन्द्रीय विभागहरूले किन पूर्णता पाउन सकेनन् ?
१० . राज्य पुनसंरचना भएको ४ वर्ष पुग्न लाग्दा समेत प्रदेश समिति , प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति , प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति , पालिका तथा वडा कार्य समितिहरू किन बन्न सकेनन् ?
११.महासमितिको बैठक सम्पन्न भए लगत्तै तत्काल पार्टीका संगठनहरूलाई पूर्णता दिने भनिएको थियो । तर, ४ महिना बितिसक्यो , नेतृत्व के हेरेर बसेको छ ?
१२. नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा आएको डेढ वर्ष पुग्न लागेको छ । तर, अहिलेसम्म छाँया सरकार गठन भएको खोई ?
१३ नेपाली काँग्रेसका सांसदहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न किन सकेनन् ?
१४. प्रमुख प्रतिपक्षीदलका नेता शेरबहादुर देउवा संसदमा उपस्थित नै हुँदैनन् भनेर मिडियामा समाचार आउन थालेका छन् , सभापति देउवा यस अवधिमा कति पटक संसदमा पुग्नु भयो ? र कति पटक बोल्नु भयो ? संसदीय समितिका बैठकहरूमा अहिलेसम्म कति पटक उपस्थित हुनुभयो ?
१५ . सत्तामा हुँदा आन्तरिक झगडा भए पनि प्रतिपक्षमा आउनासाथ एक ढिक्का हुने चरित्र नेपाली काँग्रेसले बोकेको थियो , तर यस पटक प्रतिपक्षमा आउँदा नेपाली काँग्रेसको आन्तरिक झगडा झन चर्र्किएको देखिएको छ , किन ?
१४. विधानद्वारा निर्धारण गरिएको ४ वर्षको अवधिमा १४ औँ महाधिवेशन हुन नसक्ने परिस्थिति के कति कारणले बन्यो ? सभापति देउवा आफ्नो पद लम्ब्याउने अभियानमा रहेका छन् भन्ने मिडियामा आएको समाचार सत्य हो ?
१५. १४ औँ महाधिवेशनको मिति निर्धारण नहुँदै करिब आधा दर्जन नेताहरूले सभापतिको उमेद्वार हुँ भन्दै प्रचार प्रसार गर्न थालेका छन् , यस्ता प्रचार प्रसारले पार्टीमा थप बिवाद ल्याउँदैन ?
१६ चुनावमा पार्टीको उमेदवारलाई असहयोग र अन्तर्घात गर्नेहरूमाथि किन कारवाही भइरहेको छैन ?
१७. मुलुकका जल्दा बल्दा समस्याप्रति पार्टीको धारणा आउन नसक्नुको कारण के हो ? सिके राउत प्रकरण , विप्लव माओवादीलाई प्रतिबन्ध लगाइएको प्रकरण , बालुवाटारको सरकारी जग्गा अपचलन गराइएको प्रकरण , नागरिकता प्रमाणपत्र वितरण प्रकरण लगायतमा पार्टीको धारणा हरेक साता परिवर्तन हुनुको कारण के हो ?
१८ महासमितिको बैठकले पारित गरेको विधानको प्रावधानलाई उल्ट्याउने हैसियत केन्द्रीय समितिको बहुमतले कसरी पायो ?
प्रतिक्रिया