वर्षदिनसम्मै आलटाल

काठमाडौं । गत वर्ष जेठ ३ गते नेता मदन भण्डारीको स्मृति दिवसका अवसर पारेर दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एक भएको घोषणा गरे । निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई पार्टीले झन्डै दुईतिहाइ मत ल्याएपछि एकताको घोषणा गरेका हुन् ।

राष्ट्रिय सभागृहको हलमा र बाहिर खचाखच भरिएका नेता कार्यकर्ताबीच दुवै पार्टीका नेताले नेकपाको जन्म भएको भन्दै एकताको घोषणा गरे । एकतासँगै उनीहरूले तीन महिनाभित्र बाँकी रहेका एकताका पूरा गर्ने वचन समेत नेता कार्यकर्तालाई दिए । तर, यसैसाता सो एकता भएको एक वर्ष पूरा हुँदैछ ।

अहिलेसम्म एकताले पूर्णता होइन प्रदेश, जिल्ला र केही जनवर्गीय संगठनको मात्र एकता पूरा भएको छ । जसमध्ये पनि केही ठाँउमा अझै विवाद कायमै रहेको छ । एकतालाई एकैचोटी पूर्णता दिँदा जिम्मेवार पाउने नेता कार्यकर्तामा निरासा छाउने आंकलनका साथ नेकपाको नेतृत्वले विस्तारै विस्तारै एकतालाई अघि बढाइरहेको छ ।

जेठ ३ गतेसम्म सम्पूर्ण एकतालार्इ पूर्णता दिने नभए पाेलिटब्युराे गठन गर्ने तयारी भर्इरहेकाे छ । पूर्वएमालेबाट ८२ र पूर्वमाओवादी केन्द्रबाट ६५ सदस्य रहनेगरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठनको तयारी

तर, यसले पनि नेता कार्यकर्तामा निरासा छाएको छ । जसले गर्दा नेतृत्वलाई एकतालाई पूर्णता दिन निरन्तर दवाव परिरहेको छ । एकतालाई पूरा गर्न अब पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको काम सकिएको छैन । भातृ संगठनहरू युवा, विद्यार्थी, पत्रकार, शिक्षक लगायत धेरै जनवर्गीय संगठनको दोहोरो अस्तित्व अझै पनि कायमै छ ।

कार्यकर्ताको दवावलाई मत्थर बनाउन केही समय अघि दुवै अध्यक्षले जेठ ३ गते एकताको सबै काम टुंग्याउने घोषणा गरिसकेका छन् । त्यसका लागि अहिले पनि दोस्रो तहका नेतामा निरन्तर छलफल चलिरहेको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली अहिले भियतनाम र कम्बोडियाको भ्रमणमा छन् । उनी जेठ १ गते स्वदेश फर्किदै छन् । उनि फर्किएपछि जेठ ३ गतेभित्र पोलिटब्युरो गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाड टुंग्याउने तयारी भइरहेको नेताहरूले बताएका छन् । सकेसम्म सम्पूर्ण एकतालाई पूर्णता दिने नभए पोलिटब्युरो गठन गर्ने तयारी भईरहेको छ

। पार्टी अध्यक्ष ओली भियतनाम तथा कम्बोडिया भ्रमणमा जानुपूर्व अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय तहका नेतासँग छलफल गरी पोलिटब्युरो गठनको प्रस्ताव तयार पारिसकेका छन् । पूर्वएमालेबाट ८२ र पूर्वमाओवादी केन्द्रबाट ६५ सदस्य रहनेगरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठनको तयारी नेकपाले गरेको छ । नेकपाको अन्तरिम विधानमा केन्द्रीय कमिटीको एकतिहाइ नबढ्नेगरी पोलिटब्युरो गठन गर्न सकिने व्यवस्था छ ।

यसअघि एमालेमा पूर्ण र वैकल्पिक गरी ६६ सदस्यीय पोलिटब्युरो थियो । जसमध्ये उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश–३ का सभामुख सानुकुमार श्रेष्ठ, महान्यायाधिवक्ता अग्नी खरेल पनि अब पोलिटब्युरो सदस्य रहने छैनन् । अमृत बोहोरा पदेन सदस्य थिए भने सोमनाथ प्यासी, पुष्प कँडेल, केशव बडाल पनि आमन्त्रित सदस्य थिए । यसर्थ साविक कमिटीबाट ५९ जना रहने र बाँकी २९ जना नयाँ पोलिटब्युरो सदस्य छानिने छन् ।

२९ जना मध्ये बोहोरा, प्यासी, कँडेल र बडाललाई स्वतः पोलिटब्युरो बनाउने प्रस्ताव छ । तत्कालीन एमालको पाँचौँ महाधिवेशनमै केन्द्रीय सदस्य भएकाहरू पनि पोलिटब्युुरोमा थिएनन् । घनेन्द्र बस्नेत, देवराज घिमिरे, नरेश खरेल, केदार न्यौपानेलाई पोलिटब्युरोमा समेट्ने तयारी नेकपाको रहेको स्रोतले जानकारी दिएको छ ।

त्यस्तै यसअघि नै पोलिटब्युरोमा रहेका कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, धर्मनाथप्रसाद साहलाई पनि पोलिटब्युरो बनाउने प्रस्ताव छ । उनीहरू एमालेको पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित थिए । गुरु बराल, भानुभक्त जोशी, शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, ममता गिरी, सुशीला नेपाल, गरिमा शाह, गोमा देवकोटा, केशवलाल श्रेष्ठ, चन्द्रबहादुर शाही, वैजनाथ चौधरी, ठाकुर गैरे, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, राजेन्द्र राई, डा. विजय सुब्बा, चुडामणि जंगली विश्वकर्मा, रामचन्द्र यादवलगायतको नाम पोलिटब्युरोमा प्रस्ताव गरिएको नेकपा स्रोतले जानकारी दिएको छ ।

पूर्व माओवादीमा कमिटीका संरचना ठूलो भएको र युद्धकालपछि पार्टीमा भित्रनेको संख्या अधिक भएकाले उसलाई व्यवस्थापन गर्न गाह्रो परेको स्रोत बताउँछ । तथापि पूर्वमाओवादीले शान्तिवार्ता हुनुअघि युद्धकालमा केन्द्रीय कमिटीमा रहेकाहरूलाई पोलिटब्युरोमा लैजाने तयारी गरेको छ । युद्धकालमा तत्कालीन नेकपा माओवादीको ९९ सदस्यीय कमिटी थियो ।

रामबहादुर थापा बादल समूहमा रहेकाहरूलाई पनि स्थान दिनुपर्ने हुनाले क्लस्टर मिलाएर पोलिटब्युरो छान्ने तयारी भइरहेको पूर्वमाओवादी निकट स्रोत बताउँछ । सचिवालयमा रहेका पुष्पकमल दाहाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ स्वतः पोलिटब्युरोमा रहनेछन् । त्यस्तै स्थायी कमिटीमा रहेका अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गणेश साह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, शक्तिबहादुर बस्नेत, हरिबोल प्रसाद गजुरेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट पनि स्वतः पोलिटब्युरो सदस्य हुनेछन् ।

प्रतिक्रिया