बढ्दो घरेलु हिंसा र नेपाली महिला

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अर्काे कुनै सदस्यमाथि गरिने हिंसा हो । अर्काे शब्दमा भन्नुपर्दा परिवारका सदस्यद्वारा परिवारकै सदस्यविरुद्ध गरिने शारीरिक, मानसिक, आर्थिक सामाजिक र यौनजन्य क्रियाकलापहरूलाई घरेलु हिंसाको श्रेणीमा राखिएको छ । घरेलु हिंसा पीडितका रूपमा महिला, बालबालिका, पुरुष, एवं तेस्रोलिंगी जो कोही पनि हुन सक्छ । घरेलु हिंसाबाट मुलतः महिला नै पीडित भइरहेको पाइन्छ । वर्तमान समयमा घरेलु हिंसाले कुनै राष्ट्र विशेष मात्रको समस्या नभएर यो विश्व भरिकै समस्याको रूपमा अगाडि आएको छ । विभिन्न अनुसन्धानका अनुसार हरेक ३ जना महिलामध्ये ९ जनाले आफ्नै परिवारका सदस्यबाट दुव्र्यव्यहार भोगिरहेको हुन्छन् भन्ने तथ्य विभिन्न अध्ययन अनुसन्धानले सार्वजनिक गरेका छन् ।

सार्वजनिक निजी जीवनमा लिगंका आधारमा हुने हिंसाजन्य कार्य जसले महिलालाई शारीरिक, मानसिक वा यौनजन्य क्षति तथा पीडा पु¥याउँछ, खासमा त्यस्तो कार्य गर्ने धम्की दबाब वा महिलाको स्वतन्त्रतामा बन्देज लगाउने कार्यसमेत यसमा पर्छ । यसका साथै विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन । विश्व परिवेशबाट नियाल्दा यस समस्याले विकराल रूप लिएको छ , र कुनै पनि समुदाय यस्तो समस्याबाट अलग समेत हुन सकेको छैन् । यस्तो समस्याका कारण विकासका कार्यमा पनि अगाडि बढ्न नसकेको कुरा हामी सजिलै अनुमान गर्न सक्छौँ । घरेलु हिंसा भोगिरहेका हरेक मानिसले शारीरिक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको छ । मूलरूपमा हिंसाबाट महिला नै पीडित भइरहेको सन्दर्भमा यसलाई महिला विरुद्ध हुने हिंसाका रूपमा लिने गरिन्छ । वर्तमान सन्दर्भमा यसलाई कुनै राष्ट्र विशेष मात्रको समस्या मात्र भन्न सकिने स्थिति छैन् । नेपालको सन्दर्भमा खासगरी घरेलु हिंसाका प्रकृति हेर्दा खानलाउन नदिएको, गाली बेइज्जती गरेको, घरबाट निकाला गरिदिएको र मानसिक यातना दिएको जस्ता घटना छन् । पीडित हिंसाको सिकार हुनुपर्ने कारणमा परिवारका अन्य सदस्यसँग मनमुटाव, आर्थिक विपन्नता, विवाहेतर सम्बन्ध र अत्यधिक मध्यपान रहेको पाइन्छ ।

नेपालको सन्दर्भमा विभिन्न पिछडिएका या अविकसित स्थलहरूमा घरेलु हिंसाहरू देखिन्छन् । नेपालमा घरेलु हिंसा भोगिरहेका मानिसले शारीरिक आर्थिक मानसिक तथा यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । सामाजशास्त्रीय मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिने गरिन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला भएको कारणबाट महिला माथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यव्यहारहरूलाई लिन सकिन्छ । घरेलु हिंसा खासगरी हरेक देश, समाज, जाति, वर्ग र धर्ममा विभिन्न व्यवस्थाअनुसार व्याप्त रहेको छ । खासरूपमा भन्नुपर्दा घरेलु हिंसा सामाजिक रोगका रूपमा आएको पाइन्छ ।

जसले पीडित महिलालाई मात्र होइन विभिन्न व्यक्तिहरूलाई विभिन्न क्षेत्रमा असर पारेको छ । यो लैगिकतामा आधारित महिला विरुद्धको हिंसा हो । जसअन्तर्गत सामान्यतया निम्न कार्य पर्दछन् । गर्भ अवस्थामा लिंग पहिचान र भ्रूणहत्या, शिक्षामा विभेद, बालविवाह, वेश्यावृति, कुटपिट, भावनात्मक दुव्र्यव्यवहार, यातना शारीरिक, मानसिक आर्थिक, यौन व्यवहार, दाइजोका कारण दुव्र्यवहार, अगांग र विधवामाथिको दुव्र्यव्यवहार आदि रहेका छन् । विकिपिडियामा उल्लेख भएअनुसार खासगरी नेपालमा हिमाल, पहाडदेखि तराईसम्म उच्च घरानीया देखि सुकुम्वासी झुपडीसम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सके सम्भावनाको जोखिममा महिलाहरू छन् । नेपाली महिलाहरूलाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो साहू मालिक्नी किन नहोस् सबैले महिलामाथि हिंसा गरेका छन् । खासगरी मदिराजन्य पदार्थहरू र लागूपदार्थ सेवनका कारण अधिकांश हिँसाजन्य घटनाहरू घटेको छ । यस्ता घटनाहरूको समस्या बढ्नुमा पनि मदिरा विशेष दोषी देखिएको छ ।

यस्ता विभिन्न मदिराजन्य पदार्थहरू पनि समाजमा बर्जित गर्नु नितान्त आवश्यक छ । अर्काेतर्फ विभिन्न सामाजिक कुसंस्कार, कुरीतिले पनि हिंसा उत्पन्न भएको देखिन्छ । घरेलु हिंसा कसुर र सजाय ऐन ०६६ ऐनको दफा २ को खण्ड क मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध अर्काे कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पु¥याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ भनेर घरेलु हिंसालाई फराकिलो दायरामा परिभाषित गरेको देखिन्छ । यो परिभाषाले घरेलु हिंसा महिला माथि मात्र हुदैन् पुरुष माथि पनि हुन सक्छ भन्ने कानुनले नै संकेत गरेको देखिन्छ ।

यति हुँदा हुँदै पनि मानिसहरूमा एउटा छाप के छ भने घरेलु हिंसा भन्नासाथ महिला माथि नै हुने हिंसा हो । मान्छेहरूमा रहेको यही बुझाइका कारण पुरुष माथि पनि हिंसा हुन्छ भन्ने कुरा सहजै स्विकार्न मान्छेहरू तयार देखिँदैन । यस ऐनले घरेलु हिंसालाई नियन्त्रण गर्ने मनसाय राखेका यसको प्रस्तावनाबाट देखिन्छ । उक्त ऐनको प्रभावकारी कार्यान्वयनका लागि यसको नियमावली ०६७ पनि आएको थियो । उक्त ऐन आउनु अघि मुलुकी ऐन २०२० को कुटपिट, बिहाबारी, जबर्जस्ती करणी, आशय करणी, हाडनाताकरणी, अंशबन्डा, लाग्ने स्वास्नीको महल, गालीबेइज्जती ऐन २०१६ र केही सार्वजनिक ( अपराध र सजाय ) ऐन २०२८ लगायत कानुन प्रयुक्त थिए ।

घरेलु हिंसाको गम्भीर नकारात्मक असर बालबालिका तथा युवामा पर्छ यो बालबालिका माथि हुने दुव्र्यव्यवहारको रूप पनि हो । घरेलु हिंसा देखेका बालबालिका तथा युवा त्रसित र उदासिन त हुन्छन् नै साथै विद्यालयमा पनि राम्रो नतिजा ल्याउन सक्दैन् । घरेलु हिंसा बढ्दै गएर गम्भीर चोटपटक र कहिलेकाहीँ मृत्युसम्म निम्त्याउन गरेको छ । हिंसा पीडितलाई उनीहरूको प्रतिष्ठा र आदरका साथ सुरक्षा प्रदान गर्नु मुख्य चुनौतीको कुरा हो । पुरुष पनि घरेलु हिंसाबाट पीडित हुन्छन् भन्ने विभिन्न समयमा भएका अध्ययनहरूले देखाएका छन् । घरेलु हिंसाको सिकार प्रायः महिला मात्र हुने गरेको देखाए पनि वास्तविकतामा भने पुरुष झन् यसको सिकार भएका छन् । खासगरी हिंसाको कानुन पीडित मैत्री नभएका कारण दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन समस्या परेको छ । घरेलु हिंसा भएको भन्दै पुरुषले पनि प्रहरीमा उजुरी दिने गरेका छन् । यस्ता उजुरी दुई वर्षमा करिब एक हजारको हाराहारीमा परेको महिला तथा बालबालिकाअनुसार घरेलु हिंसाबाहेक अरू कुनै हिंसाबारे पुरुषले उजुरी गरेका छैनन् । बितेको एक वर्षमा महिला हिंसातर्फ सबैभन्दा बढी जबर्जस्ती करणीको घटना भएको प्रहरी तथ्यांक छ ।

वास्तवमा घरेलु हिंसा महिलाको मात्र समस्या होइन्् यो त मानव समाजको नै समस्या हो । खासगरी, समाजमा प्रत्यक्ष पीडित महिला देखिए पनि कुनै न कुनै रूपको पीडा सिंगो परिवार तथा समाजले भोगेको हुने गर्दछ । त्यसैले घरभित्र हिंसा हुन नदिन हरेक व्यक्तिले आफ्नो भूमिकासमेत चिन्न सक्नुपर्छ । घरेलु हिंसा जस्तो समस्यामा आफू परे कस्तो हुने होला भनेर अर्काको ठाउँमा बसेर हेर्ने हैसियत पनि समाजका प्रत्येक व्यक्तिले बनाउनुपर्छ ।

खासगरी, समाजमा पीतृसत्तात्मक सोचका कारण पनि विशेष रूपमा महिला हिंसा बढेको देखिन्छ । यस्तो अवस्थामा समाजका मानिसहरूले यस्तो सोचलाई नकार्दै महिला पुरुष बराबर हुनुपर्ने धारण निर्माण गर्नु आवश्यक छ । यसरी यस्तो सोच बनाउन सकेमा मात्र समाजमा सकारात्मक परिवर्तन हुन्छ र सबै क्षेत्रमा हिंसाको अवस्था कम हुन आउछ । यस्तो समाजमा महिला र पुरूपको समान सहभागिता पनि हुनसक्छ ।

समाजमा मदिराजन्य पदार्थहरू र लागूपदार्थ सेवनका कारण अधिकांश घरेलु हिंसाका घटनाहरू बढेको छ । यस्ता विभिन्न मदिराजन्य पदार्थविरुद्ध जनचेतना फैलाउन र बिक्री वितरणमा सरकारी निकायबाट नै प्रतिबन्ध गरिनु आवश्यक छ । समाजमा जातजातिअनुसार मदिराजन्य पदार्थ खान छुट भएको भएता पनि यसलाई नियन्त्रण तथा सीमितता गर्नु आवश्यक छ । विभिन्न समाजमा यस्ता व्यापक प्रयोगबाट यस्ता घटना सिर्जना गर्ने भएकाले बर्जित गर्नसमेत सरकार पछि पर्नु हँुदैन ।

प्रतिक्रिया