आठौं राष्ट्रिय खेलकुद २७ चैतदेखि

नेपालगञ्ज । पटक पटक मिति तोक्दै र तयारी पूरा नभएको भनेर स्थगित हुँदै आएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रो पटक मिति तोकिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रोपटक मिति तोक्दै चैत २७ गतेदेखि सुरु हुने जनाएका छन् ।  प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २७ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको विष्टले जानकारी दिए । यसअघि दुईपटक मिति तय गरिए पनि तयारी नपुगेका कारण स्थगित भएको थियो ।

राखेपले २७ गते प्रतियोगिता संचालन गर्ने निर्णय १५ चैतमा बस्न राखेपको बोर्ड बैठकले निर्णय गर्ने बताए । भिआइपी प्याराफिट सोमबार विहानदेखि नेपालगन्ज रंगशालामा जडान हुने बताउँदै उनले भिआइपी प्याराफिटलाई जडान गर्न १५ दिन लाग्ने जानकारी दिए ।

नेपालगञ्जमा एक अर्वको लगानीमा भौतिक संरचना निर्माण भएको बताउँदै राखेप सदस्य सचिव विष्टले नेपालगन्जको इतिहासमै यति ठूलो लगानीमा पहिलो पटक प्रतियोगिता हुन लागेको बताए । ‘नेपालगञ्जले भौतिक संरचनामात्र पाएको छैन, प्रतियोगिताले नेपालगन्जको अर्थतन्त्रमा समेत टेवा पु¥याउने छ,’ उनले भने ।

प्रतियोगिताकोे उद्घाटन भव्य समारोहका विच हुने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । भारतमा अड्किएको प्याराफिट आइतबार साँझ आइपुग्ने र सोमबारदेखि जडान सुरु हुने अध्यक्ष ओलीको भनाइ छ ।

समन्वय बैठकमा उपस्थित नेपालगञ्ज उपमहानगरपालीकाका मेयर डा. धवल शम्शेर राणा, उप मेयर उमा थापामगर, खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपति, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख एसपी अरुण पौडेल, सशस्त्र प्रहरी बल प्रमुख एसपी भेषबहादुर शाह, नेपालगञ्ज उद्योग बाणिज्य सघंका अध्यक्ष नन्दलाल वैश्य लगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया