चार सय हेक्टरमा सिँचाइ पुग्दै

दाङ । जिल्लाको ४ सय हेक्टर क्षेत्रफलमा चालु आवमा सिँचाइ पुग्ने भएको छ । चालु आवभित्र पाँच वटा सिँचाइ आयोजना निर्माणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासिनीले जानकारी दिए ।

उनका अनुसार सुकदेवा सिँचाइ आयोजनाको काम पूरा भएको भए पनि क्लाङखोला सिँचाइ आयोजना, भवानी कुलो सिँचाइ आयोजना, खटारे कुलो सिँचाइ आयोजना, जितपुरे सिँचाइ आयोजनाको काम चालु आवभित्रै सक्ने गरी काम अगाडि बढेको छ ।

उनले १ करोड ५१ लाख लागतमा निर्माण भइरहेको क्वाङ्खोला सिँचाइ आयोजनाको काम ९५ प्रतिशत पूरा भएको जानकारी दिए । त्यस्तै सोही लागतमा निर्माण हुन लागेको भवन सिँचाइ आयोजनाको ७५ प्रतिशत काम पूरा भएको उनले बताए । बजेट अभावका कारण यी सिँचाइ आयोजनाको कामसमेत प्रभावित हुने गरेको उनको भनाइ छ । ‘बजेट अभावले गर्दा कामले गति लिन सकेको छैन’, उनले भने, ‘यी आयोजनाका लागि करिब नौ करोड बजेट आवश्यक छ ।’

त्यस्तै निर्माण भइरहेको खटारे सिँचाइ आयोजनाको काम ५० प्रतिशत पूरा भएको छ, भने जिपपुरे सिँचाइ आयोजनाको काम २० प्रतिशत पूरा भएको उनले जानकारी दिए । यी दुई सिँचाइ आयोजनाको काम पूरा गर्न आठ÷आठ लाख बजेट आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो समय दाङमा उचित सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता छ ।

यसैगरी तुलसीपुरमा नयाँ स्थानमा निर्माण भएको अटोभिलेज संरक्षणका लागि करिब दुई करोड बजेट छुट्याएको छ । तुलसीपुर उपमहानगरपालिकाका ६ र ९ नं वडाको बीचमा पर्ने पातुखोलामा निर्माण भएको उक्त अटोभिलेजलाई सुरक्षित राख्न संघीय सरकारको ४० प्रतिशत समपूरक अनुदान र प्रदेश सरकारको ६० प्रतिशत अनुदानबाट उक्त बजेट छुट्याइएको हो ।

अटोभिलेज संरक्षण गर्न ३ सय १७ मिटर लम्बाइको आरसिसी तटबन्ध निर्माणका लागि १ करोड ९० लाख बजेट आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख गणेश मरासिनीले जानकारी दिए । उनका अनुसार पातुखोलाको वडा नं ६ तर्फ पर्ने किनारमा तटबन्ध निर्माण हुनेछ । उक्त तटबन्ध निर्माणको काम चालु आर्थिक वर्षभित्र सकिने र त्यसका लागि गत आइतबार बोलपत्रसमेत आह्वान भइसकेको उनको भनाइ छ ।

यसअघि उपमहानगरपालिका र व्यवसायीको करिब डेढ करोड लगानीमा वडा–९ तर्फ तटबन्ध गर्ने काम भइरहेको अटोभिलेज व्यवस्थापन समितिका उपाध्यक्ष पदमप्रसाद पोखरेलले बताए । ‘पातुखोलाको किनारमा हामी अटो व्यवसायी बसेका छौँ’, उनले भने, ‘तटबन्ध निर्माण नभए वर्षात्मा अटोभिलेज बगाउने डर थियो, तर अब दुवैतर्फ तटबन्ध निर्माण हुने भएपछि भने ढुक्क भएका छौँ ।’

तुलसीपुर बसपार्कमा बस्दै आएका अटो व्यवसायीलाई खाली रहेको पातुखोलाको जग्गालाई व्यवस्थापन गरी त्यहाँ सारिएको छ । तुलसीपुर बसपार्कलाई आधुनिक बनाउन त्यहाँबाट व्यवसायीलाई भर्खरै मात्रै उक्त स्थानमा सारिएको हो । अहिले करिब डेढ सय अटो व्यवसायी त्यहाँ बस्दै आएका छन् । व्यवसायी तथा उपमहानगरपालिकाको गरी करिब आठ करोडको लागतमा अटोभिलेज निर्माण भएको हो ।

पातुखोलाको दुवैतर्फ किनारामा अटोभिलेज निर्माण भएकाले व्यवसायी तथा सेवाग्राहीलाई वारपार गर्न पुल निर्माण आवश्यक रहेको उपाध्यक्ष पोखरेलले बताए । उनका अनुसार त्यसका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारलाई आफूहरूले ध्यानाकर्षण गराएको समेत बताए । साथै उपमहानगरपालिकाबाट समेत त्यसका लागि पहल भइरहेको उनले बताए । पुल निर्माणका लागि उपमहानगरले केन्द्र सरकारसँग २५ करोड बजेट माग गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया