अन्तर्राष्ट्रिय चलचित्रको रौनक

काठमाडौं । एक वृद्धले पहिलोपटक रजस्वला भएकी बालिकासँगको सहमतिमा राखेको यौनसम्बन्धले निम्ताएको सामाजिक तथा सांस्कृतिक विघटनको घटना निकै मार्मिक खालको छ । यही विषयमा केन्द्रित रही बनाइएको चलचित्र ‘पञ्चायत’ ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को दोस्रो दिन प्रदर्शन गरियो ।

२०३१ सालमा घटेको घटनालाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रमा टिएनएज अवस्थामा शरीरमा आउने परिवर्तन र त्यसले पार्ने प्रभावलाई उधिनिएको छ ।  नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृह तथा नेपाल पर्यटन बोर्डमा जारी पाँचदिने चलचित्र महोत्सवको दोस्रो दिन विश्व तथा नेपाली चलचित्रका बारेमा बहस तथा विभिन्न चलचित्र प्रदर्शन गरियो । तीनवटा नेपाली कथानक चलचित्र निर्देशक नवराज बुढाथोकीको भुइँमान्छे, निर्देशक शिवम् अधिकारीको पञ्चायत र निर्देशक छेतेन गुरुङको डमरुको डण्डिबियो प्रदर्शन गरियो । कथाहरूको उत्सवको रूपमा आयोजना गरिएको यसपालिको महोत्सवमा विश्वका विभिन्न ३१ राष्ट्रहरुका कथानक र छोटा चलचित्रहरु देखाइँदै छ भने तीमध्ये आज चार वटा कथानक र १० वटा छोटा चलचित्रहरु प्रदर्शन सम्पन्न भएको छ ।


शुक्रबार प्रदर्शित चलचित्रमा बंगलादेशको कोमोला रकेट पनि छन् भने छोटा चलचित्रमा श्रीलंकाको संग अफ इनोसेन्ट, युकेको लिभ अ प्वाइन्ट, इटलीको वन हन्डे«ड एअर, माल्टाको टोक्सिसिटी, रसियाको नाउआई सि यु, टुयनिसियाको कन्फेसन, बंगलादेशको अ लिटल रेड कार, ग्रिसको स्प्रिंग टाइम रेस्ट, नेपालको मि भर्सेस माइन् र नाइजेरियाको हेलो रेन प्रदर्शन गरियो । त्यस्तै, शुक्रबार भएको चलचित्रमा नारी विषयक बहसमा अभिनेत्री एवं निर्देशक दिपाश्री निरौला र सञ्चारकर्मी एवं निर्देशक संगीता श्रेष्ठ सहभागिता जनाएका थिए भने महिला अधिकारवादी मन्दिरा ढुंगेलले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तैगरी चलचित्रका लागि चुनौतीबारेमा भएको बहसमा निर्माता एवं अभिनेता आकाश अधिकारी, निर्माता एवं अभिनेता रविन्द्रसिं बानियाँ, निर्देशक हेमराज बि.सि. सहभागी भएका थिए भने पत्रकार अशेष अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार महोत्सवको शुभारम्भ गर्दै विश्वमा रहेका देशलाई एकअर्कामा आपसी एकता, सद्भाव बढाउन महोत्सवले भूमिका खेल्ने बताए । उनले भने, ‘महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेछ ।’ अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने सफल चलचित्र क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको धारणा राखे ।

उक्त कार्यक्रममा अग्रज कलाकार नीर शाहले नेपाली चलचित्रलाई विश्वव्यापी लैजान महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उनले नेपाली चलचित्र जगतको विकासमा प्रचण्ड प्रधानमन्त्री हुँदा महत्वपूर्ण र अविस्मरणीय काम भएको उल्लेख गरे । उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री भएका बेला नेपाली चलचित्र उद्योगमा दुई वटा महत्वपूर्ण काम भएका छन् । चलचित्र नीति बनाउने र कलाकार कल्याण कोषजस्ता कार्यक्रमले नेपाली चलचित्र जगतलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको छ ।’ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाललाई विश्वमा चिनाउन महोत्सवले निकै मद्दत गर्ने बताए । त्यस्तै, चर्चित अभिनेता सुनिल थापाले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी दिने बताए । उनले भने, ‘नेपाली सिनेमालाई व्यापक बनाउन यो महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा राख्न सकिन्छ ।’

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूला साना चलचित्र प्रदर्शन गरिने जानकारी दिए । उनले विभिन्न ६०० चलचित्रबाट उत्कृष्ट चलचित्रलाई प्रदर्शन गर्न थालिएको बताए । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा भइरहेको महोत्सव चार दिनसम्म सञ्चालन हुने छ । महोत्सवमा बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्स लगायतका कला, संस्कृतिसँग जोडिएका चलचित्र प्रदर्शन गरिने छ । महोत्सवका बेला चलचित्र निर्माण गर्ने निर्माता, निर्देशकसँग पनि अन्तरक्रिया गरिने प्रतिष्ठानका अध्यक्ष पाठकले बताए । त्यसैगरी प्रतिष्ठानका उपाध्यक्ष विजयरत्न तुलाधरले नेपाली सिनेमाको विकास, विस्तार, अन्तर्राष्ट्रिय पहुँच निर्माणमा महोत्सव निकै फलदायी हुने धारणा राखे ।

उक्त महोत्सवको सन्दर्भ पारे १५ भन्दा बढी चित्रकारले तयार पारेका चित्र प्रदर्शनी गरिएको छ । नेपाली संस्कृति, पर्यटनसँग सम्बन्धित दुई दर्जन बढी चित्र प्रदर्शनीमा राखिएको नेपाल ललितकला पत्रकार समाजका कोषाध्यक्ष दिवेश प्रधानले बताए । उनले भने, ‘नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव सफल हुने आशा राखेर चित्रकलालाई समेत त्यसमा जोडेका हौँ ।’ नेपाल ललितकला पत्रकार समाज (सोफाज) को संयोजनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागको सहकार्यमा स्याटडे प्लेन एअरको सहयोगमा उक्त प्रदर्शनी गरिएको हो ।

नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यका साथ प्रदर्शनी तथा कार्यशालाको आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुषमा राजभण्डारीले बताइन् । महोत्सवका बीचमा करिब एक दर्जन कलाकारले चित्र बनाउने समेत प्रधानले जानकारी दिए । प्रदर्शनी तथा कार्यशालामा सहभागी कलाकार राकेशचन्द्र श्रेष्ठले नेपाली कला र संस्कृतिलाई पर्यटनसँग जोडेर प्रदर्शनी गरिएको जनाए । उनले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सन्दर्भ कलाका फरक विधालाई एकैस्थलमा प्रदर्शनी तथा कार्यशाला गरी नेपाली पर्यटन प्रवद्र्धन गरिएको बताए । प्रदर्शनीमा कलाकार प्राज्ञ सुषमा राजभण्डारी, राजेन्द्र याकामी, विनोद गुप्ता, शंकरसन श्रेष्ठ, दिवेश प्रधान, केशव राज खनाल, राकेशचन्द्र श्रेष्ठ, देवेन्द्र थुम्केली, दीपेन्द्रमान बनेपाली, विक्रम प्रजापति, अनन्तमणि आचार्य, सूर्यराम सुवाल, राधेश्याम नकर्मी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विकास विशुंखे लगायतका चित्र राखिएको छ ।

महोत्सवको तेश्रो दिन शनिबार प्रसिद्ध अभिनेता, चलचित्र लेखक एवं निर्माता दीपकराज गिरीले आफ्नो कथा दर्शकसँग बाँड्ने कार्यक्रम रहेको छ भने क्याराभान जस्तो नेपालको तर्फबाट ओस्कर अवार्ड मनोनयनमा समेत परेको विश्व प्रसिद्ध चलचित्र निर्देशक इरिक भ्यालीले प्रमुख वक्ताको रुपमा आफ्नो अनुभव सुनाउने आयोजकले जनाएको छ । यस्तै नेपालका लागि चलचित्रमार्फत पर्यटन विषयक बहस पनि हुनेछ । बहसमा वरिष्ठ चलचित्रकर्मी यादव खरेल, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी वक्ताका रुपमा रहनेछ भने सहजकर्ता पर्यटन व्यवसायी राजन सिम्खडा गर्नेछन् ।  मैथली संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र भोर को प्रदर्शन हुनेछ ।

प्रतिक्रिया