आठौँ वर्षमा

सौर्य राष्ट्रिय दैनिक आजदेखि सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । ६२औँ प्रजातन्त्र दिवसको अवसर पारेर ०६८ साल फागुन–७ गतेदेखि सौर्य दैनिकको प्रकाशन सुरु गरिएको हो । यो सात वर्षे यात्रामा हामी आफ्नो प्रयासमा के कति सफल भएका छौँ, यसको मूल्यांकनको जिम्मा पाठक वर्गलाई सुम्पेका छौँ । साथै, पाठक वर्गबाट सल्लाह तथा सुझावको अपेक्षा पनि गर्दछौँ ।

मुलुकमा कस्तो शासन व्यवस्था स्थापना गर्ने ? भन्ने एजेन्डाका लागि २००७ साल फागुन ७ गतेयता मुलुकले लामो समय खेर फालेको छ । राजनीतिक एजेन्डाका लागि अमूल्य समय खेर गएका कारण आर्थिक समृद्धि तथा विकासमा हामी पछि परेका हौँ । ०६३ सालको परिवर्तनसँगै राजनीतिक एजेन्डामा प्रमुख दलहरू सहमतिमा पुगेका छन् । यो सहमतिलाई आधार मानेर मुलुकको विकास तथा आर्थिक समृद्धिमा जुट्नु नै आम नेपालीको कर्तव्य हो ।

सबैले आ–आफ्नो क्षमताअनुसार योगदान पुर्याउनुपर्छ भन्ने मान्यता सौर्य दैनिकको हो । संविधान निर्माणमा लामो समय लागेकोले मुलुकमा संक्रमणकाल पनि लम्बियो । तर, संविधान निर्माणपछि भने मुलुकको यात्रा सकारात्मक रूपमा अघि बढिरहेको छ । राज्यका तीनवटै तहमा जननिर्वाचित सरकारहरूले काम गर्न थालेको एक वर्ष बितिसकेको छ ।

विकास तथा आर्थिक समृद्धिका पाइला मुलुकले कसरी चालिरहेको छ ? भन्ने सन्दर्भमा सौर्य दैनिकले गत वर्ष फागुन–७ गते ‘समृद्धि’ नामक विशेषांकमार्फत आम जनतालाई सुसूचित गराउने प्रयास गरेको थियो । समृद्धि विशेषांक प्रकाशनको तयारी गर्दै गर्दा मुलुकका ७ सय ५३ वटै पालिका, सातवटै प्रदेश र केन्द्रमा भर्खर जननिर्वाचित नयाँ सरकार गठन भएका थिए ।

हामीले आफ्नो विशेषांकमा प्रधानमन्त्री केपी शर्मा ओली, सातै प्रदेशका मुख्यमन्त्रीहरू, ६ वटै महानगरपालिकाका प्रमुखसँग साक्षात्कार गरी उनीहरूका प्रतिबद्धतालाई संक्षिप्त रूपमा प्रकाशन गरेका थियौँ । तर, एक वर्षको अवधिमा उनीहरू आफ्ना प्रतिबद्धता कार्यान्वयनका सन्दर्भमा अलमलिएको जनताले महसुस गरेका छन् । जननिर्वाचित सरकारहरूको विकास तथा आर्थिक समृद्धिको यो एक वर्षे यात्रा उत्साहजनक हुन नसक्नु दुःखदायी हो ।

आठ वर्षको यो यात्रामा हामीले आम पाठकबाट माया पाइरहेका छौँ । पाठकहरूको हार्दिक मायाले हामीलाई ऊर्जा तथा हौसला थपिरहेको छ । आठौँ वार्षिकोत्सवको यो अवसरमा आमपाठक वर्गप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यहाँसम्मको यात्रा उत्साहजनक रूपमा तय गर्न हामी सफल हुनुमा व्यवसायी तथा विज्ञापन एजेन्सीहरूको सहयोग पनि त्यतिकै महत्वपूर्ण छ । समस्त विज्ञापनदाताप्रति कृतज्ञता ज्ञापन गर्दछौँ । साथै, हामी यहाँसम्म आइपुग्नुमा पत्रकार, स्तम्भकार तथा कर्मचारीहरूको अथक मिहिनेत पनि उत्तिकै महत्वपूर्ण छ । यस अवसरमा सबै पत्रकार, कर्मचारी तथा विज्ञापनदातालाई धन्यवाद प्रकट गर्दछौँ ।

प्रतिक्रिया