२५ हजार जुम्ली शब्दकोश तयार

खलंगा । नेपाली खस भाषाको बृहत् जुम्ली शब्दकोश लेखन कार्य भइरहेको छ । करीब हजार पृष्ठ लामो शब्दकोशका लागि अहिलेसम्म २५ हजार शब्द सङ्कलन भएको सम्पादक रमानन्द आचार्यले जानकारी दिए ।

बहत्तर वर्षीय भाषाविद् तथा लेखक आचार्यद्वारा शब्दकोशको लेखन कार्य भइरहेको छ । पुस्तकले बढीभन्दा बढी ‘खसिया आखर’ शब्दलाई लक्ष्य बनाएको उनले बताए । तत्कालीन जिल्ला विकास समिति र लेखक रमानन्द आचार्यसहित जुम्ली अगुवाको पहलमा वि सं २०६५ देखि शब्दकोश लेख्न शुरु गरिएको थियो । सम्पादक आचार्यको दैनिकी आधा घण्टाको बाटो हिँडेर कार्यालय पुग्छन् ।

बिहान घरमा खाएको खानाकै भरमा दिनभर व्यस्त रहने गरेको एक दशक भयो । आफू बाँचुञ्जेल आफ्नै हातबाट शब्दकोश प्रकाशन गर्ने चाहना रहेको उनको भनाइ छ ।

शब्दकोश अहिले आर्थिक अभावकै कारण सुस्त गतिमा लेखन हुँदैछ । ‘बजेट नहुँदा शब्द नै सङ्कलन गर्न सकिएको छैन, भएका शब्द पनि कम्प्युटर टाइपिङ भएका छैनन’, सम्पादक आचार्यले गुनासो गरे, ‘म एक्लैले शब्द खोज्नु कि शब्द अथ्र्याउनु ।’ निःशुल्क सहयोग गर्ने कोही नभएको उनले बताए ।

जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख खस नेपाली भाषा तथा नेपाली भाषाको संरक्षण गर्न शब्दकोशको तयारी भएको हो । उनका अनुसार विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न शब्दकोशले सहयोग पु¥याउने छ । शब्द सङ्कलनका लागि आचार्य अन्य सहकर्मीसहित डोल्पाको तलिभोटान, कालीकोटको रासकोट भेक, मुगु तथा हुम्लाका विभिन्न गाउँ घुमिसकेका छन् ।

उनीसँगै सदस्य गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईंसमेत खटिएका छन् । पुराना खस शब्द सङ्कलनमा भने सिञ्जाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तङ्गानाथ उपाध्यायले सहयोग गरको उनको भनाइ छ । खस शब्द सङ्कलनका लागि जुम्लाका सिञ्जा, पाँचसय, चौधबीस र असी भएकलाई केन्द्रविन्दु बनाइएको छ । अहिले ‘खसिया आखर’ लेख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । पहिलो पटक खस भाषामा लेख्न लागिएको ‘खसिया आखर’ को पाण्डुलिपि तयार हुँदैछ ।

प्रतिक्रिया