बालविवाहमुक्त पालिका बनाउने प्रतिबद्धता

बाँके । बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकालाई आगामी पाँच वर्षभित्र बालविवाह मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्लान इन्टरनेसल नेपालको सहयोगमा खजुरा गाउँपालिकाको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै कक्षपतिले बालविवाह मुक्त बनाउने गाउँपालिकाको अभियानमा साथ दिन विद्यालयका शिक्षक, विद्यार्थी अभिभावक र सम्बन्धित सरोकारवालाहरूलाई आग्रहसमेत गरेका छन् ।

खजुरा क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक समितिका पदाधिकारीहरूका लागि लैंगिक मैत्री वातावरण र बालविवाह न्यूनीकरणका लागि खजुरामा आयोजित एकदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कक्षपतिले विद्यालयले अतिरिक्त क्रियाकलाप नै सञ्चालन गरेर लैंगिक समानता र बालविवाह रोकथामको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अधिवक्ता वसन्त गौतमले लैंगिक मैत्री शैक्षिक वातावरण, बालविवाहसम्बन्धि कानुनी व्यवस्था र यसमा सरोकारवालाको भूमिकाको बारेमा अभिमुखीकरण गरेका थिए ।

यस क्रममा गौतमले विद्यालयको बालसंरक्षण नीति, विद्यालयको शैक्षिक र लैंगिक मैत्री वातावरण र बिद्यालयमा लैंगिक मैत्री बातावरण बनाउनमा विद्यालय व्यवस्थापन समितिलगायत अन्य सरोकारवालाको भूमिकाको बारेमा समूहगत छलफल गराई विषयबस्तुका बारेमा प्रष्टाएका थिए ।

विद्यालयमा हुने शिक्षणका क्रममा शिक्षकले विद्यार्थीहरूलाई बालविवाहले पार्ने नकारात्मक प्रभाव र कानुनी व्यवस्थाका बारेमा जानकारी गराई बालविवाह रोक्न अभिप्रेरित गर्ने, विद्यालयलाई बालमैत्री र लैंगिक मैत्री बातावरण सञ्चालन गर्नमा मद्दत गर्ने र विद्यालयमा बालसंरक्षण नीति बनाई कार्यान्वयमा ल्याउने लगायतका उदेश्यका साथ अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो । खजुुरा गाउँपालिका–२ मा हुुन गइरहेको बालविवाह रोक्न सफल भएको कार्यक्रममा जानकारी गराईएको थियो ।

खजुुरा गाउँपालिका शिक्षा शाखाप्रमुख विश्वराज ढकालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा श्रोतव्यक्ति टंकनाथ दाहाललगायत सरकारी र मदरसाका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी अभिभावक गरी ४० जनाको सहभागिता रहेको थियो ।

कतिपय विद्यालयमा अझै पनि लैंगिक समानता कायम हुन नसकेको, उचनीच र धनीगरिबका आधारमा विभेद हुने गरेको, लैंगिक मैत्री भौतिक संरचना हुन नसकेकोले लैंगिक समानता कायम राख्न र बालविवाह रोक्न सम्बद्ध सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए ।

प्रतिक्रिया