जिपसहित काठ समातियो

रौतहट । डिभिजन वन कार्यालय रौतहटले तस्करी रोक्न विभिन्न उपाय अपनाउँदै आएको छ । वन कार्यालयले तस्करी रोक्नका लागि काठ तस्करी बढी हुने स्थानका जंगल प्रवेश गर्ने नाकाहरूमा ठुल्ठूला खाडल (टे«न्च) खनेर काठ तस्करीका सवारी साधन आवतजावतमा अवरोध पुर्याउँदै आएको छ ।

वन कार्यालयले वन क्षेत्रको नाकामा गस्ति बढाएसँगै सालका खोलियासमेत बरामद हुन थालेको छ । वन गस्ती टोलीले सोमबार राती चन्द्रपुर नगरपालिका–१ पौराई जंगलको राजमार्ग छेउबाट जीपसहित सखुवाको काँचो गोलिया बरामद गरेको छ । सोमबार राती पूर्व–पश्चिम राजमार्गको पौराइस्थित दोस्रो लच्का नजिकैबाट जिपमा लोड गरिएको काठ बरामद गरिएको रौतहटका डिभिजन वनअधिकृत विनोद सिंहले जानकारी दिए ।

डिभिजन वन कार्यालयका सहायक वनअधिकृत महेन्द्रप्रसाद जयसवालको नेतृत्वमा गएको वनगस्ती टोलीले काठ र जिप बरामद गरेको हो । तस्करहरूले दुई वटा सखुवाको रुख ढालेर गोलिया बनाइ जीपमा राखेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रमुख सिंहले जानकारी दिए । गस्तीटोलीलाई देखेपछि तस्करहरू अर्को जिपमा भागेको र एक राउन्ड गोलीसमेत चलाउनुपरेको अधिकृत सिंहले बताए ।

तस्करहरू भागेपछि ना ३ च ४१२८ नम्बरको जिपमा लोड गरिएको सात थान सालको गोलिया बरामद गरिएको अधिकृत सिंहले जानकारी दिए । रौतहटमा पछिल्ला दिनहरूमा जिप, ट्रयाक्टर, मोटरसाइकल, साइकलमा राखेर सालका गोलियाहरू तस्करी हुने गरेको पाइएपछि वन कार्यालयले सुरक्षा निकायहरूसँग समन्वय गरेर वनगस्ती बढाएको जनाएको छ ।

प्रतिक्रिया