नवौं बबिन स्मृति खुला ब्याडमिन्टन अर्को साता

काठमाडौं । नवौँ बबिन बिक्रम बिष्ट स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता माघ १२ गते देखि आयोजना हुने भएको छ । भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित क्लब किङ्ग कम स्पोर्टस् क्लबले सदस्य एवं खेलाडी बबिन बिक्रम बिष्टको सम्झनामा आयोजना गरेको प्रतियोगिता नवौं संस्करण सम्म आई पुगेको क्लबका सल्लाहकार प्रतियोगिता संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविन बिक्रम शाहले जानकारी गराए ।

पुरुष युगलमा मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न क्लब, संस्था तथा ब्याक्तिगत रूपमा करिव १५० खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका पुरुष एकल र पुरुष युगल तर्फ शिर्ष २० बरियतामा रहेका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

स्थानिय स्तरमा खेलाडी उत्पादन गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्य रहेका कारण पुरुष एकल र युगल तर्फ शिर्ष २० बरियता प्राप्त खेलाडीहरूलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्न बन्देज गरिएको संयोजक शाहले बताए । भिमसेनगोलास्थित खुल्ला कोर्टमा बिहानको समयमा मात्र हुने प्रतियोगितामा शिर्ष तीन स्थान हात पार्ने जोडीले नगद ४० हजार, २५ हजार र १५ हजारका साथै मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । माघ २६ गते सम्म हुने प्रतियोगिताको अनुमानित लागत करिव ४ लाख ९५ हजारको रहेको छ ।

प्रतिक्रिया