वरिष्ठलाई हटाउँदै कनिष्ठलाई तालिम

काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी विमान सञ्चालनका लागि दक्ष जनशक्ति तयार पार्ने तालिममा नियमविपरीत कनिष्ठलाई पठाउने तयारी गरेको छ । सिनियर पाइलटलाई पाखा लगाउँदै कनिष्ठ पाइलटलाई तालिममा पठाउन लागेको खुलासा भएको हो ।

वाइडबडी खरिद प्रकरणमा अनियमितताको चर्चा चुलिँदै गइरहेका वेला कनिष्ठलाई तालिममा पठाउन लागेको भन्दै निगमभित्रै विरोध भइरहेको छ ।

वाइडबडी जहाजका लागि भनेर निगमले केही साताअघि मात्र केही पाइलटहरूलाई विदेश तालिम पठाउन लागेको थियो । निर्देशकको ठाडो निर्देशनमा निगमको कार्य निर्देशिका विपरीत निकै कनिष्ठ पाइलटलाई सो तालिममा पठाउन लागेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहलले सो निर्णय निगमको नियम संगत नभएको भनी रोकिएको थियो ।

तर, अहिले सोही नाम प्राधिकरणले अनुमोदन गर्ने तयारी गरिरहेको उच्चस्रोतले जानकारी दिएको छ । ‘पहिला बदर गरिएको तालिम अहिले आएर पुनः सदर गर्न खोज्नु आफैँमा आर्थिक चलखेल भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ’ स्रोतले भन्यो ।

साना तथा मझौला हवाई जहाजहरूबाट ठूला जहाजहरूमा मौका वा तालिम अवसर प्रदान गर्दा नेपाल वायु सेवा निगमको नीति नियमको परिच्छेदअनुसार वरिष्ठ पाइलटलाई पहिलो मौका दिनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर, तालिममा पठाउने पाइलटमा वरिष्ठभन्दा निकै तल रहेकाहरूको नाम उल्लेख गरिएको छ । निर्देशिकाअनुसार वरिष्ठ पाइलटहरूलाई तालिमका लागि पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

कनिष्ठहरूलाई नै मात्र रोजेर तालिममा पठाउन सञ्चालन निर्देशक रविन्द्र कुमार सेरचनको हात रहेको त्यहीका कर्मचारीले आरोप लगाएका छन् । निगमको रेकर्ड हेर्ने हो भने ०७० फागुन १४ गते नियुक्तिपत्र पाएका क्या. संजयवादे श्रेष्ठ र क्या. नृपेन्द्र भट्टराई लगायत अन्यपछि मात्र हाल छानिएका पाइलटहरू वरिष्ठताको क्रममा पर्ने देखिन्छ । तर, उनीहरूलाई हटाएर कनिष्ठलाई तालिमका लागि पठाउन लागिएको हो ।

कनिष्ठहरूलाई पठाउन लागेपछि वरिष्ठ पाइलटले आपत्तिसमेत जनाउँदै सञ्चालन निर्देशक र अध्यक्षलाईसमेत पत्र लेखेका छन् । मंसिर १४ गते दर्ता ५३१ बाट सञ्चालन निर्देशक र पौष ११ गते अध्यक्षलाई दर्ता नं. ९८९ तथा दर्ता नं. ६४८ सञ्चालन निर्देशकलाई नेपाल वायु सेवा निगमको नीति र आफ्नो हालसम्मको मूल्यांकन समेतलाई मध्यनजर गरियोस् भनि निवेदन दिएका थिए । सो निवेदनको हालसम्म कुनै सुनुवाइ नभएको उनीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया