ढाकाविरुद्ध सन्दीप महँगा सावित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको तेस्रो खेलमा महँगो साबित भएका छन् ।  सन्दीपले लिगमा अपराजित रहेको ढाकाविरुद्ध ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । यसअघिको खेलमा चित्तागोंग भाइकिंग्ससँगको खेलमा पनि सन्दीप विकेटविहिन बनेका थिए ।

शनिबार खेलको आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ छक्का सहित कुल १२ रन खर्चिए । तेस्रो बलमा रोनी तालुकदारले छक्का प्रहार गरेपछि सन्दीप पहिलो ओभरमै महँगो सावित हुन पुगे । ११ औं ओभरमा सन्दीपले एक चौका सहित ८ रन खर्चिए । यस ओभरको पाँचौ बलमा कप्तान सकिब अल हसनले चौका प्रहार गरेका थिए । सुरुवाती २ ओभरमा २० रन खर्चेका सन्दीपमाथि ठूलो आसा राख्दै कप्तान डेविड वार्नरले १४ औं ओभरका लागि पुन बलिङ गर्न ल्याए ।

उक्त ओभरको दोस्रो बलमा आन्द्रे रसेलले चौका प्रहार गर्दा कुल ६ रन खर्चिए । तर विकेट लिन सकेनन् । यस ओभरमा ३ बल डट गराएका थिए । १६ औं ओभरमा सन्दीपले ८ रन खर्चिए । चौथो बलमा मोहम्मद नईमले छक्का प्रहार गरेका थिए । योसँगै सन्दीपले आफ्नो बलिङको कोटा सकाए ।

यसअघि सन्दीपले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । दोस्रो खेलमा चित्तागोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट भने लिन सकेका थिएनन् ।

प्रतिक्रिया