पुस्तक चर्चा – ‘ह्युमन राइट्स ह्युमन रङ्स’

कूटनीतिज्ञ शम्भुराम सिम्खडाले मानव अधिकारको क्षेत्रमा आफ्नो कूटनीतिक जीवनमा सम्हालेको कार्यभार र सँगालेका अनुभवबारे एक महत्वपूर्ण पुस्तक बजारमा ल्याएका छन् । ‘ह्युमन राइट्सः ह्युमन रङ्स’ (मानव अधिकार, मानवीय दोष, मानव चेतनाको कसीमा) नाम दिइएको अंग्रेजी भाषामा लेखिएको सो पुस्तक परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार विमोचन गरेका छन् ।

संयुक्त राष्ट्रसंघ र अन्य निकायहरूका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रहिसकेका तथा १५ वर्षको कूटनीतिक जीवनको अनुभव सँगालेका सिम्खडाले सन् २०००–२००१ मा संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगको ५६औँ सत्रको अध्यक्षता गरेका छन् । उनी एसियाली राष्ट्रको समूहले अध्यक्षमा प्रस्ताव गरी सर्वसम्मत चयन भएका छन् । सो बखत संसारभरिकै मानव अधिकार आयोगहरूले उनीसमक्ष नै मानव अधिकार प्रतिवेदन पेस गर्ने गरेको उनले बताए ।

उनले अध्यक्षता गरेको मानव अधिकार आयोगको प्रथम अध्यक्षमा सन् १९४६ मा अमेरिकाकी पत्नी इलिनोर रुजवेल्ट थिइन् । उनी प्रथमदेखि छैटौँ सत्रसम्म लगातार अध्यक्ष भएकी थिइन् । सिम्खडाले भने सो जिम्मेवारी सन् २००० मा आयरल्यान्डकी एन्नी एन्डरसनबाट प्राप्त गरी सन् २००१ मा अर्जेन्टिनाका लिएन्डो डिस्पोइलाई हस्तान्तरण गरेका थिए । नेपालजस्तो सानो मुलुकले संयुक्त राष्ट्रसंघको त्यति ठूलो आयोगको अध्यक्षता गर्न पाउनु ठूलो सौभाग्यको कुरा भएको उनी बताउँछन् । उनले सो बखत अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा मानव अधिकारको अवस्थाबारे विशेष छलफलको अध्यक्षता पनि गरेका थिए ।

मानव अधिकार आयोगको सत्रको अध्यक्षता निकै चुनौतीपूर्ण भएको र यसमा निष्पक्षता चाहिने उनी बताउँछन् । कसैको पक्ष नलिँदा सो अध्यक्षतापछि धेरै कम मात्र साथी बाँकी रहने उनका पूर्ववर्तीहरूले बताएको उनी स्मरण गर्छन् । सो बखत आफूले गरेका काम र पूरा गरेका जिम्मेवारीबाट द्वन्द्वमा परेका बालबालिकाको अधिकार, महिला अधिकार तथा गरिबी र मानव अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा भएका काममा उनी गौरव गर्छन् ।

सो बखत आफूले निर्वाह गरेको कुशल भूमिकाबाट पछि संयुक्त राष्ट्रसंघको सहायक महासचिव जस्तो उच्च पदमा पुग्न सफल कुलचन्द्र गौतमले उनलाई भेट नभए पनि इमेल पठाएर ‘म तपाईंले गरेका काम टाढैबाट नियालिरहेको छु र तपाईंले हामी नेपालीलाई गौरव गर्ने अवसर दिनुभएको छ,’ भनेकोबाट आफ्नो भूमिकाको कसै न कसैले मूल्यांकन गरिरहेको र नेपालीलाई गौरव गर्न लायक काम भएकामा सन्तोष व्यक्त गर्छन् उनी ।

उनले पुस्तकमा मानव अधिकारको ऐतिहासिक परिप्रेक्ष्य र वर्तमान विकासक्रम, सारांश मानव अधिकार आयोगको ५६औँ सत्र, आयोगको पाँचौँ विशेष सत्र, विश्वव्यापी मानव अधिकार एजेन्डामा उठिरहेको मुद्दा आदिबारे सविस्तार व्याख्या गरेका छन् ।

पुस्तकमा मानव अधिकारको विश्वव्यापी घोषणा पनि समावेश गरिएको छ भने संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानले आयोगको ५५औँ सत्रमा दिएको वक्तव्य पनि समावेश छ । पुस्तकमा मानव अधिकार आयोगको व्यक्तिहरूको नामसमेत उल्लिखित छ ।

पुस्तकमा उनले जेनेभामा कार्यभार सम्हालेका बखतका राष्ट्रसंघका महासचिव कोफी अन्नानसँगै बैठकको अध्यक्षता गरिरहँदाका ऐतिहासिक तस्बिरहरूसमेत समाविष्ट भएका छन् । प्राचीन हिन्दू ग्रन्थहरूमा ‘वसुधैव कुटुम्ब’ उल्लिखित हुनुको अर्थ सो बखत सबैलाई समान आदर गरिनुपर्ने दर्शन रहेको र हिन्दू र बौद्व धर्ममा धर्मको अर्थ सेवा र अरूलाई हानि नगर्ने हुनु पनि मानव अधिकारकै सुरुआतको अर्थमा लिएका छन् ।

यसैगरी, सर्वप्राचीन इसापूर्व १७८० को हम्मुराबी कोडले पनि मानव अधिकारको अर्थमा बलियाले निर्धालाई हानि–नोक्सानी गर्न नहुने विचार निहीत रहेको पुस्तकमा उनी उल्लिखित गर्छन् । आधुनिक युगमा सन् १२१५ को म्याग्नाकार्टा, सन् १६८९ को इंलिस विल अफ राइट्स, सन् १७७६ को भर्जिनिया घोषणा, सन् १७८९ को फ्रेन्च घोषणा र सोही वर्ष भएको अमेरिकी विल अफ राइट्स मानव अधिकारकै विकासक्रम रहेको पुस्तकमा उल्लिखित छ ।

पछि संयुक्त राष्ट्रसंघले आफ्नो बडापत्रको धारा १ र ५५ मा मानव अधिकारलाई उल्लिखित गरेपछि सन् १९४६ मा मानव अधिकार आयोग स्थापित भयो भने सन् १९४८ को डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा आएको इतिहास पुस्तकमा उल्लिखित छ । सोही आयोग सन् २००६ मा मानव अधिकार परिभाषामा परिणत भएको थियो ।

मानव अधिकारको अभावमा २०औँँ शताब्दीमा विभिन्न युद्व, आमहत्या, जातिहत्या र युद्घ अपराधका कारण धेरैले ज्यान गुमाउनु परेको र अझै पनि धेरैले रोग, अन्याय र अज्ञानतामा जीवन बिताइरहनु परेको पुस्तकमा उनी उल्लिखित गर्छन् । उनी शीतयुद्घ समाप्त भएर बर्लिन पर्खाल ढले पनि अन्य कैयौँ युद्घ सुरु भएका र अन्य पर्खालहरू बन्न थालेका पनि पुस्तकमा उल्लिखित गर्छन् । जे भए पनि मानव अधिकार घोषणा भने संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगले हामी मानव जातिलाई दिएको सर्वोत्तम उपहार भएको उनको भनाइ छ ।

समग्रमा पुस्तक मानव अधिकारको क्षेत्रमा संसारले गरेका कामकारबाही, मानव अधिकार आयोगदेखि हाल मानव अधिकार परिषद्सम्म बन्दाका विकास तथा विश्वभर मानव अधिकार उल्लंघनका घटनामा कसरी त्रुटिहरू भए भन्ने बारे व्याख्या गरिएको छ ।

पुस्तक मानव अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी, अन्तर्राष्ट्रिय कूटनीति तथा सम्बन्धमा जानकारी राख्न चाहने जिज्ञासुलगायत मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीलाई उपयोगी हुने देखिन्छ । पुस्तक केडब्ल्यु पब्लिसर्स, नयाँ दिल्लीले प्रकाशन गरेको हो भने २ सय ३ पृष्ठको सो पुस्तकको मूल्य ६ सय ८० भारू रहेको छ ।

प्रतिक्रिया