पत्रकार सम्मेलनमा उपहार नलिन आह्वान

बनियानी । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ । महासंघ झापा शाखाको सोमबार बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक भएको र यसले विकृत रूप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो ।

बैठकपछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्चले समाचार नै नहुने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएको उल्लेख छ । महासंघ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, संघ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको हो ।

विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ र नेपाल पत्रकार महासंघ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न गराउन पत्रकार महासंघका सदस्यलाई आह्वान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरिएको छ । पाँच पत्रकारलाई आर्थिक सहयोग सोही बैठकले झापाका पाँच पत्रकारलाई उपचार सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ ।

पत्रकार सहारा उपचार कोष सञ्चालक समितिको पहिलो बैठकबाट निर्णय भई सिफारिश भएका मिर्गौला रोगबाट पीडित पत्रकार अमृतलाल श्रेष्ठ र माया पकुवाल, क्यान्सर रोगबाट पीडित पत्रकार शुभद्रा खड्का अधिकारी, दुर्घटनाबाट घाइते धर्मेन्द्र भट्टराईलाई जनही रु २० हजार र पत्थरी रोगको उपचारका लागि वेदप्रकाश हुमागाईंलाई रु सात हजार प्रदान गर्ने निर्णय भएको हो । पत्रकार महासंघ झापा शाखाले कोष स्थापनापछि पत्रकारलाई पहिलोपटक संस्थागत सहयोग प्रदान गरेको हो ।

प्रतिक्रिया