रंग‍-विविध

पाल्पा लोक आइडलमा धनमाया दिसुवाले मारीन् बाजी

सौर्य अनलाइन २०७५ मंसिर ९ गते ११:४० मा प्रकाशित

पाल्पा । तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी भएकी छन् । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल भएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित भएकी छन् । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनरअपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल हुनुभएको हो । गत पुस १५ गतेदेखि शुरु भएको ‘पाल्पा लोक आइडल’मा बगनासकालिका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा उत्कृष्ट पाँचमा प्रतिपस्र्धा भएको थियो ।

जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौटमा हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिश्प्रधा भएको थियो ।
कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताए । पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा ५ नं प्रदेशका सांसद डा पुरन बज्रचार्य, वीरबहादुर राना, नेकपाका खिमान्द्र पाण्डेय, नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर सारु, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनालले हराउँदै गएको लोकसंस्कृति संरक्षणका लागि लोक आइडल प्रतियोगिता आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय