बलात्कारको घटना बढ्दो – इन्सेक

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा १० महिनाको अवधीमा ४६ वटा मानवअधिकार हननको घटना घटेका छन । त्यसमध्ये गत वर्षको तुलनामा यस बर्ष बलात्कारको घटना बढेको पाइएको छ ।  बुधबार सदरमुकाम खाँदबारीमा अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको छ ।

सन् २०१८ को जनवरीदेखि अक्टोबर महिनासम्म १० महिनाको अवधीमा जिल्लामा बलात्कारका घटनामा मात्रै ३० वटा घटना घटेको संखुवासभाका इन्सेक प्रतिनिधि बाबुराम बास्तोलाले बताए । ३० वटा मध्ये महिला दुई र बालिका आठ गरी १०, बलात्कार प्रयास १८ र यौन दुव्र्यवहार दुई वटा घटना घटेका छन । त्यसै गरी हत्या पाँच, हत्या प्रयास तीन, घरेलु हिंसा एक, कुटपिट धम्की दुई, मानव बेचबिखन एक र बहुविवाह चार गरी कुल ४६ वटा मानवअधिकार हननका घटना सार्वजनिक भएको हो ।

समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले जिल्लामा बलात्कारका घटना बढ्नुमा दुःखद भएको बताए । उनले नागरिकका अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बनेका कानुन कार्यन्वयनमा जोड दिए । पहुँच नभएका पछाडि पारिएका नागरिकहरूको आवाज पनि मानव अधिकारकर्मीले उठाउनुपर्ने भन्दै वर्ष पुस्तकका समावेश गर्न सुझाव दिए ।

खाँदबारी नगरपालिका न्यायिक समिति संयोजक डेगेश्वरी श्रेष्ठले विविध कारणले न्यायिक समितिमा घटनाहरू आउन नसकेको बताइन् । उनले जिल्लामा बलात्कारका घटना हुनका कारण खोज्ने जिम्मा स्थानीय तहलाई भएको पनि टिप्पणी गरिन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले मानवअधिकारको विषयवस्तु गहन भएकाले सबै नागरिक सम्मानित र स्वतन्त्र र मर्यादित रूपमा बाँच्न पाउनु मात्रै नभई स्वच्छ वातावारणमा बस्न पाउनु, विकासको अधिकार अनुभूति गर्न पनि मानवअधिकार भएको बताए । उनले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकोले यसमा प्रकाशन हुने कुरा सत्यतथ्य हुनुपर्ने सुझाव दिए ।

पत्रकार महासंघका संखुवासभाका सभापति इन्द्र गिरीले द्वन्द्वकालमा मानवअधिकारको अवस्थाका बारे जोखिम मोलेर भए पनि वर्ष पुस्तक प्रकाशन हुने गरेको स्मरण गरे । गिरीले छुटेका घटनाहरू प्रहरीसँग समन्वय गरी संकलन गर्न सुझाए । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक रामजी कटुवालले नागरिक समाज, राजनीतिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानवअधिकार उल्लंघनका घटनामा कमी आउने बताए ।

चेतनाको कमीले केही घटनाहरू प्रहरीमा ढिला गरी आउने गरेको अनुभव उनले सुनाए । उनले आत्महत्याको दर जिल्लामा अत्यधिक भएको भन्दै आत्महत्या हुनुको कारण कसैले नखोजेको बताए । कारण खोज्न मानवअधिकारकर्मीलाई आग्रह गरे ।

प्रतिक्रिया