स्थापना दिवसमा ३ अक्षय कोष स्थापना

सल्यान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानमा तीन वटा अक्षय कोष स्थापना गरिएको छ । महासंघको २४औँ स्थापना दिवसको अवशरमा मंगलबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा तीन अक्षय कोष स्थापनाका लागि घोषणा गरिएको हो ।

जसमा नेपाल पत्रकार महासंघ सल्यानका संस्थापक अध्यक्ष हरिशरण आचार्यले ५० हजार ५१ रुपैयाँको, यस्तै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी र कल्पना आचार्यले स्व. छोरी अजिता अधिकारीको नाममा ५० हजार रुपैयाँको र रेडियो शारदा एफएफ सल्यानले नेपाल पत्रकार महासंघ सल्यानका पूर्वअध्यक्ष स्व.शालिकराम शर्माको नाममा १० हजार रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ । यसबाट पनि बर्सेनि जिल्लामा क्रियाशील एक÷एक पत्रकारलाई सम्मान गरिनेछ ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । स्थापना दिवसका अवशरमा जिल्ला शाखाका संस्थापक अध्यक्ष हरिशरण आचार्य सहितका पदाधिकारी, पूर्वअध्यक्षहरू स्व.शालिकराम शर्मा, स्व.उत्तम हमाल, रमेश कुमार गौतम, कार्यवाहक अध्यक्ष सनतकुमार शर्मालाई सम्मान गरियो ।

यस्तै हालसम्म जिल्ला अस्पतालमा सबैभन्दा बढीपटक रक्तदान गर्ने रक्तदाता पत्रकार डिल्लीराज रावत र विद्यार्थी नेता हिमाल योगीलाई प्रसंशापत्रले सम्मान गरियो । कार्यक्रममा बोल्दै प्रमुखअतिथी प्रतिनिधिसभा सदस्य बस्नेतले स्वच्छ र मर्यादित भएर पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरे । उनले पत्रकार राज्यको चौथो अंग भएकाले आवाजविहीनको आवाजको रूपमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, सल्लाहकार रमेशकुमार गौतम, जिल्ला हुलाक अधिकृत धीरेन्द्र भण्डारी, शारदा नगरपालिका–२ का वडाअध्यक्ष केशवसिं श्रेष्ठ लगाएतकाले मन्तव्य व्यक्त गरे ।

०५२ साल मंसिर ४ मा स्थापना भएको महासंघमा अहिले ८१ जना साधारण सदस्य रहेका छन् । महासंघका उपाध्यक्ष भरत बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव शिव डाँगीले गरे ।

प्रतिक्रिया