पार्टी कार्यालयमा विद्यार्थीको घेरामा परे देउवा

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल विद्यार्थी संघका पार्टी कार्यालय सानेपामा घेरेका छन् । पार्टीको बैठकमा सहभागी हुन आएका सभापति शेरबहादुर देउवालाई विद्यार्थीहरुले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए ।

नेविसंघका पदाधिकारीहरुले संगठन भंग नगर्न नेतृत्वलाई दवाव दिँदै शनिबार पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य सम्पादन समिति बैठक बसीरहेको समयमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

पार्टीभित्र चर्को रुपमा देखापरेको गुटबन्दीका कारण लामो समयदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन । पछिल्लो पटक उमेर हदको कारण महाधिवेशन रोकिएको छ । पार्टीले ३२ वर्ष नाघेकाहरु नेविसंघमा बस्न नपाउने प्रावधान ल्याएपछि महाधिवेशन अन्यौलमा परेको हो । उक्त प्रावधानको पार्टीभित्रै एक समूहले विरोध गर्दै आएका छन् ।

पार्टीले तय गरेको उमेर हदका बारेमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपयुक्त नभएको बभ्दै आएको छ । पौडेल पक्षले त्यसलाई सच्याउन माग गर्दै आएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले भने अहिले लगाइएको उमेर हद नसच्चिने अडान लिएको छ ।

पटक पटक तोकिएको महाधिवेशन सर्दै आएको छ । उमेर हद लगायतका बिषय विवाद बढ्दै गएपछि नेविसंघको महाधिवेशन अन्यौलमा परेको हो । संघमा किचलो बढेपछि सभापति देउवा नेविसंघ नै विघटन गर्ने योजनामा लागेको स्रोतले बताएको छ ।

महाधिवेशनको म्याद थप्ने वा संघ नै विघटन गर्ने लगायतका बिषयमा छलफल गर्न पार्टीले शनिबार केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलाएको थियो । बैठक पार्टी कार्यालयमा सानेपामा जारी छ ।

संगठन नै बिघटन हुने प्रसंग चलेपछि नेविसंघका पदाधिकारीले शनिबार पार्टी कार्यालयमा धर्ना दिएका छन् । विद्यार्थी नेताहरुले संगठन विघटन नगर्न भन्दै पार्टी कार्यालयमा केहीबेर प्रदर्शन समेत गरे ।

प्रतिक्रिया