दीपिका–रणवीरको बिहे ‘भिला’ मा हुने

एजेन्सी, भारत । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बुधबार बिहे हुँदैछ । वैवाहिक कार्यक्रम नोभेम्बर १४ र १५ गरी दुई दिनको राखिएको छ ।  इटालीको ‘लेक कोमो’मा सिन्धी र दक्षिण भारतीय परम्पराअनुसार बिहे हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी इटालीमा अवस्थित कोमो तालको किनारमा हुने बिहेका लागि रणवीर र दीपिका त्यहाँ पुगिसकेका छन् । बिहेमा उनीहरूका नजिकका साथीभाइ र थोरै आफन्त मात्र उपस्थित हुने बताइएको छ ।

कोमो ताल एल्प्स पहाडको फेदमा रहेको प्रसिद्ध पर्यटकीय स्थान हो । यो ताल प्राकृतिक सुन्दरताको लागि चर्चित छ । धेरै सेलिब्रेटीहरूले यो ठाउँलाई आफ्नो बिहेका लागि छानिसकेका छन् । १४६ वर्ग किलोमिटरमा फैलिएको इटलीको तेस्रो ठूलो ताल कोमो १३ सय फिट गहिरो छ ।

रोमनकालदेखि नै कोमो ताल पर्यटकीय गन्तव्य रूपमा चर्चित छ । यहाँका भवनहरू गथिक आर्किटेक्चरबाट बनेका छन् । यहाँ ५२ भिला छन् । यीमध्ये भिला देल बल्बियानेलोमा रणवीर–दीपिकाको बिहे हुने बताइएको छ । यो भवन ७ सय वर्ष पुरानो मानिन्छ ।

रणवीर–दीपिका छ वर्षअघि फिल्म रामलीला गर्ने क्रममा नजिकिएका थिए । बिहेपछि १८ नोभेम्बरमा उनीहरू भारत फर्किने र २१ मा दीपिकाको गृहजिल्ला बैंगलोरमा रिसेप्सन पार्टी दिने पनि सञ्चारमाध्यमले जनाएका छन् । बलिउडका लागि भने २८ नोभेम्बरमा पार्टी राखिएको छ ।

प्रतिक्रिया