बजारभरि प्लास्टिकका फूल

ताप्लेजुङ । रंगीचंगीको पर्व तिहारमा प्राकृतिक फूलको ठाउँमा प्लास्टिकको फूल तथा मालाले बजार भरिएको छ । कुनैवेला सयपत्री, मखमली तथा गोदावरी फूलले ढपक्कै ढाकिने बजार अहिले विदेशी प्लास्टिकका मालाले ढाकिएको छ ।

यो दृश्य ताप्लेजुङ सदमुकाम फुङलिङ बजारमा मात्र नभई अन्य बजारमा पनि सजिलै देख्न पाइन्छ । फूलहरूको पर्वले परिचित तिहारमा ताप्लेजुङमा भने फूलकै अभाव भएको छ ।

अघिल्ला वर्षको तुलनामा यसवर्ष ताप्लेजुङमा सयपत्री फूलको अभाव भएको फुङलिङ नगरपालिका–७ का स्थानीय राजकुमार तामाङ बताउँछन् । केहीवर्ष अघिसम्म ढकमक्क फूल्ने सयपत्री र मखमली फूल हिजोआज लोप हुँदै गएपछि यसको विकल्पमा भारतबाट आयातित प्लास्टिकको माला बनेको छ ।

प्राकृति फूलल कमै मात्र पाउन थालेपछि प्लास्टिकको मालाको बिक्री भने बढ्दै गएको छ । शनिबार र मंगलबार लाग्ने हाट बजारमा सयपत्री र मखमली फूलकै मात्र बिक्रीका लागि आउने र यसले उपभोक्ताको माग धान्न नसकेको व्यवसायीहरूको भनाइ छ । फूल राम्ररी नफूल्नु, फूल्ने  समयमा पानी पर्नु फूल अभावको मुख्यकारण रहेको फूल कृषक सोमनाथ दाहालको बुझाइ छ । फूल फूल्ने समयमा अत्यधिक पानी परेपछि फूलका थुंगा कुहिएर नस्ट भएका छन् ।

प्राकृतिक फूले माग थेग्न नसकेपछि बजारबाट किनेर ल्याइएको प्लास्टिकको मालाले यस वर्षको तिहार टार्नुपर्ने अवस्था आएको फुङलिङ् नगरपालिकाकी कमला लिम्बु बताउँछिन् ।

घरका झ्यालढोका, भाडावर्तन र कलश सजाउनसमेत फूलको प्रयोग गरिन्छ । अझ भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरंगी टीका र गलाभरि माला पहिरिएर हिँड्दा तिहार फूलकै पर्व हो भन्ने भान हुन्छ ।

पहिला ढकमक्क फूल्ने सयपत्री फूल आजभोलि अमृतझैँ बनेको छ । पहिले पहिले तिहारमा सहरमा बस्ने दिदीबहिनीले मरमसला, तेल र चिनीजस्ता समान बोकेर गाउँ जान्थे र सयपत्री फूलको माला लगाइदिन्थे भने आजभोलि मरमसलासँगै प्लास्टिकको माला पनि सँगै बोकेर जानुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । फूको अभावका कारण ताप्लेजुङ बजारमा सबै व्यवसायीले यसवर्ष पनि प्लास्टिकको माला बिक्रीका लागि ल्याएका छन् ।

हराउँदै तिहारको मौलिकता

यता तिहारको अर्को महत्वपूर्ण पक्ष देउसी भैलोसमेत अचेल लोप हुँदै गएको छ । लय हालेर देउसीको भाका मादलसँग गाउँदै हिँड्ने टोली भेट्न मुस्किल नै पर्छ । ‘५ देखि १० जनाको टोली बनाई घरैपिच्छे गएर तिहारको शुभकामना बाँड्ने परम्परा थियो । अहिले त त्यसको सट्टा कुनै रेष्टुराँ र होटलहरुमा भेला भएर ह्विस्की, र बियरसँग मनाउने चलन बढ्न थालेको छ’ स्थानिय ज्ञानु लिम्बू भन्छन् ‘कहीँ कसै घरघरमा गए पनि हिन्दी गीतमा उत्ताउला खालका नाचहरू देख्न सकिन्छ ।’

फुङलिङ नगरपालिका–१० फुरुम्वुका दिनेश फुरुम्वो लिम्बूले यसपालि तिहारका लागि भनेर हिन्दी गीतमा नृत्य गर्न सिक्दै गरेको बताए । प्रायःजसो समूह बनाएर हिँड्ने टोलीमा युवायुवतीहरू रहेका हुन्छन् । उचित जनचेतनाको अभावमा हाम्रा परम्परामा समेत विकृती आउन थालेको छ । तिहारको सांस्कृतिक महत्वलाई जोगाइराख्न यसको सांस्कृतिक पक्षलाईसमेत युवाहरूमाझ सिकाउन जरुरी रहेको सामाजिक अगुवाहरूको भनाइ छ ।

प्रतिक्रिया