अस्ताए पद्मरत्न

काठमाडौं । केही समयदेखि अस्वस्थ रहेका पुराना वामपन्थी नेता एवं मानवअधिकारकर्मी पद्मरत्न तुलाधारको आइतबार निधन भएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।

तुलाधरलाई मस्तिष्कघात भएपछि ६ गते शुक्रबार अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मिर्गाैलामा समस्या देखिएपछि डायलाइसिसका लागि अन्नपूर्ण न्युरो अस्पतालबाट नर्भिक अस्पतालको आइसियुमा सारिएको थियो ।

नर्भिकमा तीनपटक डायलाइसिस लगायतको अन्य समस्याको उपचारपश्चात् पनि उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि केही दिनअघि भेन्टिलेटरमा राखिएको थियो । उनको आइतबार अपराह्न दुई बजेर ४ मिनेटमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

तत्कालीन कम्युनिस्ट पार्टीहरूको समर्थनमा जनपक्षीय उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायतको सदस्यसमेत भएका उनी प्रखर वक्ताका रूपमा परिचित छन् । बहुदल आएपछि उनले पहिलोपटक सूर्य चिह्न लिएर चुनाव लडेका थिए । त्यसवेला उनको चुनाव चिह्न सूर्य परेको थियो । त्यसवेला मतदातामा सूर्य छापप्रति परेको प्रभावका कारण नेकपा एमालेले सोही चुनाव चिह्न लिएको थियो । जुन अहिले नेकपा हुँदा पनि कायमै छ ।

आधिकारिक रूपमा कुनै पनि दलको सदस्य नबनेका उनी लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रियतापूर्वक लागे । ०४६ सालमा उनी पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र वाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारमध्ये एक थिए

पञ्चायतका वेला चुनाव लड्दै सांसद भएपछि उनले प्रजातन्त्रका बारेमा आवाजसमेत उठाएका थिए । त्यसपछि तुलाधर ०४८ र ०५१ मा गरी दुईपटक सांसद भएका थिए । उनले ०५१ सालमा स्वास्थ्य मन्त्रीका रूपमा समेत काम गरेका थिए ।

स्वास्थ्यमन्त्रीको कार्यकाल सकिएपछि भने उनले सक्रिय राजनीतिबाट विस्तारै हात झिकेर मानवअधिकारका विषयमा काम गर्न थालेका थिए । पछिल्लो समय आदिवासी जनजातिहरूको अधिकारका लागि आवाज उठाउँदै आएका उनले नेपालमा मानव अधिकारवादीका रूपमा परिचय बनाएका थिए । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर भाषिक आन्दोलनमा लागेका काठमाडौंका रैथाने तुलाधर चालिसको दशकअघि भाषिक अधिकारकर्मीका रूपमा परिचित थिए । पछि एमाले नजिक भए । त्यसपछि माओवादीनिकट भनेर चिनिए । त्यससँगै उनले पहिचानवादी आन्दोलनका अभियान्ताको दह्रिलो पहिचान पनि बनाए ।

आधिकारिक रूपमा कुनै पनि दलको सदस्य नबनेका उनी लोकतान्त्रिक र वामपन्थी आन्दोलनमा सक्रियतापूर्वक लागे । ०४६ सालमा उनी पञ्चायतविरुद्ध संयुक्त आन्दोलनका लागि कांग्रेस र वाममोर्चालाई एक ठाउँमा ल्याउने सूत्रधारमध्ये एक थिए ।

शान्त, सरल र मिजासिला स्वाभावका तुलाधर मञ्चमा भने निकै चर्को भाषण गर्थे । उनका भाषण त्यसवेला क्यासेटमा हालेर पनि सुन्नेको भिड हुने गर्दथ्यो । उनका समकक्षी र स्वयं गणेशमान सिंहले पनि उच्च नेताका रूपमा तुलाधरलाई लिने गरेका थिए ।

भाषणकै क्रममा उनी पटक–पटक भावुक बन्ने तथा सार्वजनिक कार्यक्रममै रोएका पनि थिए । भाषणकै कारण तुलाधर ०५१ सालमा स्वास्थ्यमन्त्री बनेका बेला ‘गाई विवाद’ मा मुछिए । उनले गाई काटेर मासु खान पाउनुपर्ने अवाज उठेपछि त्यस वेलाको सरकार नै निकै अप्ठेरोमा परेको थियो । उनको परिवारसँग कम्युनिस्ट आन्दोलनका नेताहरू जोडिएका कारण उनको पनि झुकाव कम्युनिस्टप्रति बढेको थियो । पुष्पलाल लगायतका नेताहरू उनका पितासँग तिब्बतका विषयमा जानकारी लिन आउने गर्दथे । सोही क्रममा उनी पनि चाख मानेर कुरा सुन्ने गर्दथे ।

०३६ मा भएको विद्यार्थी आन्दोलनमा उनी सहभागी भएका थिए । कुनै विद्यार्थी संगठनको सदस्य नभएका उनी सबैको जुलुसमा जान्थे । सधँै सडक आन्दोलनमा पुगिरहने उनी त्यसपछि भएका भाषा आन्दोलन र आदिवासी जनजातिको आन्दोलनका लागि पनि सडकमा पुग्थे । उनले ०४८ मा मनमोहन अधिकारी, मदन भण्डारी, सहाना प्रधान, केपी शर्मा ओली र उपनिर्वाचनमा विद्या भण्डारीको निर्वाचन क्षेत्रमा गएर भाषण गरेका थिए ।

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनले ठूलो भूमिका खेलका छन् । कुनै समय उनलाई नै ‘प्रचण्ड’ हुन् भनेर प्रहरीले पक्राउसमेत गरेको थियो भने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रचारबाजीसमेत गरेका थिए । पछिल्लो समय भने स्वास्थ्यमा समस्या देखिएपछि उनी सबैखाले आन्दोलन र संघ संगठनबाट अलग भएर बसेका थिए ।

असल र वरिष्ठ वामपन्थी नेता तुलाधर

तुलाधरको निधनप्रति कम्युनिस्ट नेताहरूले उनी एक असल र वरिष्ठ वामपन्थी नेता भएको बताएका छन् । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न दलका शीर्ष नेताले विज्ञप्ति जारी गर्दै उनको निधनप्रति गहिरो दुःखसमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेताको संज्ञा दिँदै तुलाधरले पु¥याएको योगदान सधा स्मरणीय रहने बताएका छन् ।

‘श्री पद्मरत्न तुलाधार, एक देशभक्त, लोकतन्वादी, सामजिक न्याय तथा समानताका पक्षधर र देशमा शान्ति एंव समृद्धिप्रतिको संघर्षका अथक अगुवा र वास्तविक जनपक्षीय व्यक्ति हुनुहुन्छ । त्यसैकारण उहाको छवि शान्ति र मानवअधिकारको अभियन्ताका रूपमा बढी स्थापित छ ।’ प्रधानमन्त्री ओलीले जारी गरिएको श्रद्धाञ्जलि वक्तव्यमा भनिएको छ । उनले तुलाधरको निधनबाट देश र मानवअधिकारको आन्दोलनमा गम्भीर क्षति पुगेको पनि उल्लेख गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रजका रूपमा स्वर्गीय तुलाधरलाई सम्झँदै उनले मानवाधिकार संरक्षणको क्षेत्रमा पनि गरेको योगदानलाई नेपालीले सधैँ सम्झिरहने बताए । ‘नेपालको शान्ति प्रक्रियामा उहाँले यस्तो समन्वयकारी भूमिका निर्वाह गर्नुभयो, जसले साँच्चै नै नयाँ राजनीतिक वातावरण बनाउन महत्वपूर्ण योगदान गर्नुभयो,’ दाहालले भने ।

प्रतिक्रिया