आैँलाले क्यानभास रंग्याउने प्रमिला

मान्छेको चाहना र सृजनालाई उमेरले छेक्दैन भन्छन् । काठमाडौं विशालनगरकी प्रमिला गिरीका लागि पनि त्यो लागू हुन्छ । उनका सृजना र जाँगर हेर्ने हो भने एक तन्नेरीको भन्दा कम छैन । आफूलाई मन परेका कुनै पनि वस्तुलाई कलामा उतार्न उनलाई न अल्छी लाग्छ, न झन्झट । सायद, उनी चित्र कोर्नकै लागि यो धर्तीमा जन्मिएकी हुन् ।

उमेरले वृद्धावस्थामा हिँड्दै छिन् उनी । तर, उनको सृजना र ऊर्जा कुनै तन्नेरीको भन्दा कम छैन । चार दशकअघि पुरुष कलाकारको भिडमा एकाध महिलामध्ये एकका रूपमा उदाएकी प्रमिला अझै युवा जोशमा चित्र कोर्दै छिन् । अरूभन्दा फरक, कुचीको सट्टा औँलाले नै क्यानभास रंग्याउछिन् । ‘कुचीले रङ भर्दा आत्मीयता भेट्दिनँ, औँलाले काम गर्दा रङ र क्यानभाससँग म अन्तक्र्रिया गर्छु, भावना पोख्छु, क्यानभासमा,’ प्रमिला भन्छिन् । मन परेको चित्र क्यानभासमा उतार्दा आनन्द लाग्छ उनलाई ।

सन् १९६० को दशकतिर उनी भारतको बैंगलोरस्थित शान्ति निकेतन स्कुलमा पढ्न गएकी थिइन् । चार वर्ष पढेर फर्केपछि त्यो वेलाका कलाकार शशिविक्रम शाह, गोविन्द डुंगेल, विजय थापालगायत मिलेर नेपालमा ललितकला क्याम्पस खोल्ने अभियान थाले । क्याम्पस खुलेपछि त्यहाँ १८ वर्ष कला पढाएको अनुभव उनीसँग छ । उनीहरूले खालेको कलेजले उनीजस्ता धेरै चित्रकार जन्माइसकेको छ । कतिले नाम कामाए, कतिले दाम ।

पहिले-पहिले कुचीमा पानी रङ चढाउन मन पराउने उनी विस्तारै तेल रङसँग खेल्न थालिन्, त्यही पनि औँलाले पोतेर । सिर्जनासँगै स्वदेश र विदेशमा उनको कला प्रदर्शनी वृद्धावस्थामा समेत जारी छ । कुचीभन्दा उनलाई आफ्नै औँलाले बनाएका चित्र मन पर्छन् र काम गर्न पनि जाँघर चल्छ । सायद, उनका लागि ती अर्गानिक चित्र होलान् । हिजोआज उनीजस्तो औँलाले चित्र कोर्ने मान्छे पाउन मुस्किल छ । प्रायः कुचीले कोर्छन् चित्र ।

नर्वेका एन्डर्ससँग विवाह भए पनि कहिले नेपाल त कहिले नर्वेमा दिन बिताइन् उनले । त्यो क्रम अहिले पनि जारी छ । जहाँ बसे पनि उनको सृजना रोकिएको छैन, निरन्तर चलिरहेकै छ । नर्वेमा बस्दा बनाएका चित्र उतै हुने प्रदर्शनीमा बेचेर उनी नेपाल आउने गर्छिन् । उनको चित्र ११ लाख रुपैयाँसम्ममा बिक्री भएको उनले सुनाइन् । त्यहाँ पनि नेपालको सुन्दरता, कलात्मक विविधतालाई क्यानभासमा कैद गर्थिन् उनी ।

देशको माटोको भाव जोगाउनुपर्छ भनेर धेरै कला उनले संरक्षण गरेकी छन् । ‘किन्न खोज्ने धेरै छन्, तर नबेच्ने,’ प्रमिला भन्छिन्, ‘भावी पुस्तालाई पनि राख्नुप¥यो नि ।’ आफ्ना लागि मात्रै होइन, आउने पुस्ताका लागिसमेत पनि चिन्ता छ उनीभित्र । उनका सबै सृजना पैसासँग साटिँदैन । उनका लागि पैसा मात्रै सबै कुरा पनि होइन, राष्ट्र र भोलिका पुस्ता पनि केही हुन् ।

उतिवेलाका मूर्तिकलाका उत्कृष्ट नमुना काठमाडौंको भृकुटीमण्डपलगायत विभिन्न स्थानमा अहिले पनि हेर्न पाइन्छ । चित्रकला तथा मूर्तिकलामा अब्बल उनको सोच अहिलेको सहरलाई वातावरणमैत्री कलाले सजाउने छ । ‘हरेक सरकारी कार्यालयले कला किनेर सजाउनुपर्छ, हरेक चोक र सार्वजनिक स्थल नेपाली कलाले भर्नुपर्छ, तब मात्र नेपालको वास्तविकता झल्किन्छ,’ प्रमिला थप्छिन् ।

उतिवेला र अहिलेको अवस्थाको विश्लेषण भने उनी फरक तरिकाले गर्छिन् । अहिले कलाको अवस्था दयनीय बन्दै गएकोमा उनी दुःखी छिन् । क्षमता विदेशीको दाँजोमा राम्रो भए पनि नेपालका कलाकारले उचित वातावरण पाउन नसकेको उनको बुझाइ छ । यसमा सरकारले ध्यान दिनुपर्ने उनको धारणा छ ।

उनीबाट हामीले कलाकारिताको शिक्षा मात्र होइन, कलाकारिताकै भविष्य कता लैजाने भन्नेसमेत मार्गनिर्देशन पाउने कलाकार ज्योतिप्रकाश विक बताउँछन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने कलाकारको रूपमा गिरीलाई सम्झन्छन् उनी ।

अध्ययनसँगै कलाकारिता गर्ने उनले सन् १९९० ताका तिब्बतमा गरेको अध्ययनको फलस्वरूप जन्मियो, तिब्बत कलाको शृंखला । तिब्बतको मूर्तिकला, चित्रकला, थांका अनि त्यहाँको कलात्मक गुम्बा र दरबारको कलाले तान्यो । ‘पहिलोपटक तिब्बत जाँदा देखेको बुद्धको ध्यान, धार्मिक आस्था, भाषा नबुझे पनि आँखाको इसारा अनि सरलताको भाव चित्रमा उतारेको छु,’ गिरी भन्छिन्, ‘त्यही भाव तिब्बत कला शृंखलामा छ ।’

उनको लामो तिब्बत बसाइँको अनुभव नेपाल कला परिषद्मा एक सातादेखि जारी कला प्रदर्शनीमा हेर्न पाइन्छ । सन् २०१६ को कला प्रदर्शनीमा छुटेको कला यसपालि समावेश छ । यहाँ हिन्दू संस्कृतिसँग जोडिएको भैरव कला शृंखलाले पनि निरन्तरता पाएको छ ।

तत्कालीन तन्त्र विद्याका अध्येता श्रीधरशमशेर राणाबाट भैरव भनेको भीषण नाद (ठूलो आवाज) हो भन्ने बुझेपछि त्यसको सार खोज्न उनले अर्काे अध्ययन गरिन् । पशुपतिनाथलगायत विभिन्न धार्मिकस्थल घुमेर भैरवको भाव, चरित्र, महत्व र अस्तित्व चित्रमा उतारेकी छन् । शुक्रबार नर्वेका कला पारखीको समूह आएर प्रदर्शनी अवलोकन गरे । प्रदर्शनी अवलोकनमा नेपालीको पनि भिड थियो ।

नर्वेका स्भेरे नेडवर्गले गिरीकै कला प्रदर्शनीको समय मिलाएर नेपाल घुम्न आएको बताउँदै नेपालको प्रकृतिजस्तै उनको कला चम्किलो रहेको प्रतिक्रिया दिइन् । उनसँगै हिल्डे, बेस्सी, एन्डर्स लगायतले पनि कला अवलोकन गरे । प्रदर्शनीमा क्यान्भासका चित्रसँगै ढलोट, पित्तल, तामा तथा सिमेन्टबाट निर्मित मूतिकलाको मिश्रित रूप देख्न सकिन्छ ।

प्रतिक्रिया