नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागि एकको मृत्यु

काठमाडौं । सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।

प्रहरीले दिएको जानकारी अनुसार अन्य ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । जिल्लाको रामनगर गाँउपालिका–४ बहुअर्वामा उक्त घटना भएको हो ।

यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

झडपका क्रममा अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको बताएको छ । गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया