आज महाष्टमी, आजै मध्यरातमा कालरात्री

काठमाडौं । नवरात्रको आठौँ दिन आज महाष्टमी। बुधबार दुर्गा भगवतीकी आठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ। अघिल्लो दिन अर्थात् सप्तमीमा आराधना गरिने कालरात्रि देवीको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन्। एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ।

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार) को पूजा गर्ने चलन पनि छ। नवरात्रका अरु दिन नसक्नेले यो दिन दुर्गा सप्तशती (चण्डी) पूरै पाठ गर्छन्।

अष्टमीदेखि शक्तिपीठमा हुने घुइँचोसमेत बढ्छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ।

यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन् ।

प्रतिक्रिया