अग्रतासहित शिवराम फाइनलमा

काठमाडौं । नेपाल नम्बर–१ शिवराम श्रेष्ठले १० स्ट्रोक्सको अग्रतासहित सूर्य नेपाल सेन्ट्रल ओपनको फाइनल राउन्डमा स्थान बनाएका छन् ।

बुधबार पार–७२ को गोकर्ण गल्फ क्लबमा शिवरामले ३ अन्डर ६९ को स्कोर कार्ड बनाउँदै ५४ होलको समाप्तिमा १२ अन्डर २०४ स्कोर बनाए ।

सूर्य नेपाल गल्फ टुर २०१८–१९ को पहिलो संस्करणमा भुवन नगरकोटीले इभन पार ७२ सहित कुल २ अन्डर २१४ को स्कोर कार्ड जोडे ।

एमेच्योर गल्फर टासी छिरिङ ओभरलमा तेस्रोको अग्रता बनाइरहँदा इभन पार २१६ स्कोर बनाएका थिए । उनले बुधबार २ ओभर ७४ स्कोरको खराब प्रदर्शन गरेका थिए ।

टासी आफ्नै भाइसमेत रहेका अर्का एमेच्योर गल्फर वाङचेन धोन्डुपभन्दा ५ स्ट्रोक्सले अगाडि छन् । धन थापा (२ ओभर २१८) र वाङचेन(५ ओभर २२१) क्रमशः चौथो र पाँचौँमा छन् ।

एमेच्योर गल्फर विनोद तामाङ बुधबार सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ६ अन्डर ६६ स्कोर गरे पनि समग्रमा ८ ओभर २२४ स्कोरसहित रबि खड्कासँग संयुक्त आठौँ स्थानमा रहे ।

चुडाबहादुर भण्डारी(६९) र एमेच्योर सुनील केसीले समान ९ ओभर २२५ स्कोरसहित नवौँ स्थानमा छन् । बुधबार शिवरामले पहिलो नाइनमा ३ अन्डर ३३ को कार्ड बनाउँदा दोस्रो, तेस्रो र छैटौँ होलमा बर्डिज प्रहार गरेका थिए ।

दोस्रो हाफमा १२औँ होलमा इगल गरेका शिवरामले १३औँ र १७औ होलको सट खेर फाल्दा इभन पार ३६ को स्कोरमा चित्त बुझाएका थिए । भुवनले भने दुवै नाइनमा इभन पार ३६ को स्कोर कार्ड बनाएका थिए ।

कुल ३० प्रोफेसनल गल्फर र ११ एमेच्योर गल्फरको सहभागिता रहेको प्रतियोगितामा २२ प्रो र ९ एमेच्यार गल्फर कटअपबाट बच्दै फाइनल राउन्डमा (३६ होल) प्रवेश गरेका छन् ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ७७ हजार र तेस्रो स्थानले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा शीर्ष २२ गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया