देउवाकाे निर्देशनमा बैठक स्थगित

काठमाडौं । पार्टीमा बढ्दै गएको चरम असन्तुष्टि र मतभेदका कारण आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेपाल विद्यार्थी संघको प्रस्तावित विधान मस्यौदामा सदस्यताको उमेर हदसम्बन्धी विद्यमान व्यवस्था कायम गर्ने अथवा त्यसलाई खुला गर्ने भन्ने विषय चर्किएर कांग्रेसभित्र चरम मतभेद सिर्जना भएको हो ।

संस्थापन पक्षसँग मतभेद भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका केही नेताले आजको बैठकमा अनुपस्थित रहने अडान लिएपछि केन्द्रीय बैठक अनिश्चित बनेको छ । सभापति देउवाले बैठक स्थगित गर्न मुख्यसचिवलाई निर्देशन दिएका कांग्रेसले जनाएको छ ।

सभापति देउवाले बहुमतको आडमा अल्पमतलाई पेलेको आरोप लगाउँदै पौडेल, सिंह, सिटौलासहित ६ जना सदस्यले आफ्नो फरक मत लिखित रूपमा दर्ता गरेका थिए

नेविसंघको १२औँ महाधिवेशनबाट लागू हुनेगरी सदस्यताको सन्दर्भमा ३२ वर्ष उमेर हद कायम गरेकोे थियो । तर, अधिकांश पदाधिकारी र नेतृत्वको आकांक्षी रहेको वर्तमान नेविसंघ केन्द्रले यो प्रावधान हटाउने प्रस्तावसहित विधान संशोधनको प्रस्ताव पार्टीमा पठाएको थियो ।

जसलाई पौडेल, पूर्व–महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नेताहरू अर्जुन नरसिंह केसी, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले २१ गतेको केन्द्रीय कार्यसमितिमा उमेर हद हटाउन माग गरेका थिए ।

तर, बैठकमा उनीहरूबाहेक अन्य पदाधिकारी र सदस्यहरूले संगठनलाई चुस्त र दुरुस्त राख्दै व्यवस्थित बनाउन यसअघि कायम गरिएको प्रावधानलाई यथावत कायम राख्ने निर्णय गर्दै विधानका बाँकी विषयवस्तु आजको बैठकमा छलफल गरी टुंग्याउने भनिएको थियो ।

सभापति देउवाले बहुमतको आडमा अल्पमतलाई पेलेको आरोप लगाउँदै पौडेल, सिंह, सिटौलासहित ६ जना सदस्यले आफ्नो फरक मत लिखित रूपमा दर्ता गरेका थिए ।

आफ्नै गुटमा निरन्तर रहँदै आएका महामन्त्री शशांक कोइरालादेखि अधिकांश केन्द्रीय सदस्यहरूले समेत साथ नदिएपछि निरीह बन्न पुगेका वरिष्ठ नेता पौडेल, सिंह, सिटौला र केसीले सोमबार आन्तरिक छलफल गरी सभापति देउवाकोे कार्यशैैलीको विरोधमा आजको बैठकमा अनुपस्थित रहने रणनीति तय गरेका थिए ।

पार्टीका केही नेताहरूले विवाद साम्य पार्दै बैठक बहिष्कार नगर्न सुझाए पनि असन्तुष्ट पक्ष बैठकमा अनुपस्थित रहने अडान नछाडेपछि सभापति देउवाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गर्न निर्देशन दिएका हुन् । नेविसंघको विधान सम्बन्ध विवादमा सभापति देउवाले कुनै नयाँ निर्णय नगरी विधानको पुरानै प्रावधान यथावत कायम मात्रै गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विद्यार्थीको अघिल्लो महाधिवेशनले पारित गरेको विधान संशोधन आगामी महाधिवेशनले पास गर्नुपर्ने उनको धारणा छ । हालको विधानको व्यवस्थाबमोजिम नेविसंघको सदस्य हुन ३२ वर्ष उमेर कट्न नहुने व्यवस्था पारित भइसकेकाले अन्य प्रावधानका सम्बन्धमा आगामी बैठकमा निर्णय हुने उनले जनाए ।

पार्टी सभापति देउवाले हरेक निर्णय एकपक्षीय गरेको भन्दै अधिकांश केन्द्रीय नेताहरू आप्mनै ढंगले राजधानीबाहिर पुगेका छन् । सभापतिले आजलाई बोलाएको केन्द्रीय बैठकलाई बेवास्ता गर्दै दशैँका विभिन्न शुभकामना कार्यक्रममा नेताहरू जिल्ला दौडाहामा छन् ।

नेता पौडेलले आज बिहान तनहुँ सदरमुकाम दमौलीमा जिल्ला कार्यसमितिले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुने कार्यसूची बनाएका छन् । पौडेल पार्टीको कार्यक्रममा दुई दिनसम्म उपत्यकाबाहिरै रहनेछन् ।

नेता सिटौला बुधबारै विराटनगर पुगेका छन् । मोरङ क्षेत्र नम्बर–५ ले आज आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उनी प्रमुख अतिथि बनेका थिए । उनी बिहीबार सुनसरी, शुक्रबार बारा र शनिबार वीरगञ्जमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुने भएका छन् ।

नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र डा. रामशरण महत आज बिहान नुवाकोट सदरमुकाम विदुरमा जिल्ला समितिले आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए ।

महामन्त्री डा. शशांक कोइरालाले आजको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन नसक्ने जनाइसकेका छन् । महामन्त्री कोइराला आजै चितवन र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनले आज नवलपरासीको गैँडाकोटमा आयोजित क्षेत्रीय आमसभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने भएका छन् ।

महामन्त्री कोइरालाले शुक्रबार भने नेपाल प्रेस युनियन चितवनको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला भने देउवाले आइतबार बोलाएको बैठकमा पनि सहभागी थिएनन् । अन्य अधिकांश केन्द्रीय सदस्यहरू पनि आ–आफ्नो जिल्लाका कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिक्रिया