नेपालको लगातार दोस्रो जित


काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया सब–रिजनको छनोटमा लगातार दोस्रो सानदार जित निकालेको छ । शनिबार मलेसियाको क्वालालम्पुरमा भएको खेलमा नेपालले मलेसियामाथि ८ विकेटको जित निकाल्यो ।

मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले ४५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्यो । नेपालका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ६९ रनको अविजित साझेदारी गर्दै जित दिलाए ।

पारसले ५२ रनको अर्धशतकीय पारी खेल्दा ५ चौका र २ छक्का प्रहार गरे । उपकप्तान ज्ञानेन्द्रले २ चौका र १ छक्काको मद्दतमा २७ रनमा अविजित रहे । त्यसअघि नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर अनिलकुमार शाहलाई १ रनमै गुमाउँदा झड्का पाएको थियो ।

त्यसपछि अर्का ओपनर विनोद भण्डारी पनि १२ रनमा आउट हुँदा नेपालको खातामा ३२ रन थियो । तर, पारस र ज्ञानेन्द्रले पारी सम्हाल्दै जित दिलाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ दशलमव ३ ओभरमा १०० रनमै समेटिएको थियो ।

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान साफिक सरिफले ४९ र सयद ऐजाजले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए ।

उनले ४ ओभरमा २० रन मात्र खर्चिए । सोमपाल कामीले ३ र कप्तान पारस खड्काले १ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

टी–२० प्रतिस्पर्धामा नेपाल र मलेसियाबीच ५ वर्षपछि प्रतिस्पर्धा भएको हो । सन् २०१३ मा काठमाडौंको कीर्तिपुरमा भएको एसिसी टी–२० कपमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।

७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको छनोटमा नेपाल तेस्रो स्थानमा छ । एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए ।

प्रतिक्रिया