मदिरा पिउन कार्ड अनिवार्य

बाजुरा । विदेशमा मदिरा सेवनका लागि लाइसेन्स लिनुपर्ने वा पुस्ताको जानकारी टिपाउनुपर्ने नियम सुन्नु वा भोग्नु भएको होला । नेपालमा यस्तो नियम अहिलेसम्म लागू हुन सकेको छैन । यद्यपि, १८ वर्ष मुनिकालाई भने मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ ।

तर, नेपालकै एक गाउँपालिकामा रक्सी पिउनका लागि परिचयपत्र अनिवार्य बोक्नुपर्ने नियम लागू भइरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । सेवा प्राप्ति र पहिचानका लागि देखाइने परिचयपत्र जस्तै रक्सी पिउनेहरूले पनि बोक्नुपर्ने प्रचलन लागू भएको छ, बाजुराको गौमुल गाउँपालिकामा । १ सय ४ वर्ष अघिदेखि लागू हँुदै आएका कानुन फेरिएकै दिन भदौ १ देखि सो गाउँपालिकामा रक्सी सेवनका लागि परिचयपत्र बोक्नुपर्ने नियम प्रचलनमा ल्याइएको हो ।

गौमुल गाउँपालिकाले प्रचलनमा ल्याएको मदिरा सेवन परिचयपत्रबाट मदिरा सेवनले समाजमा व्याप्त समस्या निराकरणमा सघाउ पुग्ने स्थानीय अधिकारीले अपेक्षा गरेका छन् । सामाजिक अपराध बढाउन मादक पदार्थको ठूलो योगदान रहने गरेको प्रहरीले बताउँदै आइरहेका बेला सो गाउँपालिकामा सम्भवतः नेपालकै पहिलोपटक परिचयपत्र लागू गरिएको हो ।

विकट जिल्ला बाजुराको करिब १० हजार जनसंख्या रहेको गौमुल गाउँपालिकाका ६ वटा वडाहरूमा करिब दुई सयवटा रक्सी पसलहरू छन् । ती पसलमा जथाभावी रक्सी पिएर गाउँ समाज नै अशान्त बनेपछि यस्तो अभ्यास थालिएको स्थानीयले बताएका छन् । गाउँपालिकाका १० वटा पसललाई मात्र मदिरा बिक्री वितरण गर्ने अनुमति दिइएको छ । ती पसललाई एउटा कार्ड लिएर आउनेलाई दैनिक एक सय ८० मिलिलिटर मात्र दिन पाइने मापदण्ड बनाइएको छ ।

गाउँपालिकाले असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ पास गरेको थियो । सोही ऐनअनुसार साउनदेखि नै मदिरा पिउन कार्ड बाँड्न थालेको थियो । अहिलेसम्म १५० भन्दा बढीले यो कार्ड लिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । वार्षिक ५०० रुपैयाँ बुझाएपछि पाउने मदिरा सेवन कार्ड भएपछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाइन्छ । यस्तो कार्ड गाउँमा आउने पाहुनाहरूले पनि लिनुपर्ने अध्यक्ष रोकायाले जानकारी दिए ।

‘एकपटकमा एउटा कार्ड बोक्नेलाई एक सय ८० मिलिलिटर मात्र दिन पाइनेछ,’ गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ खनालले भने, ‘नियमविपरीत मदिरा सेवन तथा बिक्री वितरण गरेको भेटिए दुई हजारदेखि चार हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।’ उनले हरेक दिन मदिरा सेवन गरी महिलामाथि हिंसा भएका घटनाको खबर आउने क्रम बढेपछि मदिरा सेवन परिचयपत्र प्रचलनमा ल्याउनुपरेको जानकारी गराए ।

परिचयपत्र देखाएर मात्र मदिरा पसलमा राखिएको रजिस्टरमा तोकिएको मात्रा र दस्तखत गरेर मात्र रक्सी पिउन पाइन्छ । मदिरा सेवनले परिवार मात्र नभई सिंगो समाज बिग्रने चिन्तासँगै ग्रामीण भेगमा अझ जटिल समस्याको रूपमा रहेको मदिरा सेवनलाई फरक ढंगले समाधान गर्न खोजिएकोमा स्थानीय महिलाहरूले खुसी व्यक्त गरेका छन् ।

‘उनीहरूले भदौबाट यो क्षेत्र निकै शान्त बनेको छ,’ स्थानीय महिला रिता रोकायाले भनिन्,‘यो एक महिनाको अवधिमा आपसी विवाद र झगडा पनि भएको छैन ।’ रक्सी सेवनका लागि नयाँ नियम प्रचलनमा ल्याइएपछि त्यसलाई स्वागत गर्दै गाउँका महिलाहरूले खुसियाली जुलुससमेत निकालेका थिए ।

गौमुल गाउँपालिकाले मदिरा सेवन परिचयपत्र देखाएर मदिरा पसल अर्थात् रक्सी भट्टीमा राखिएको रजिस्टरमा तोकिएको मात्रा र दस्तखत गरेर मात्र रक्सी पिउनुपर्ने भएपछि खुलेर आउनेहरूले मात्र रक्सी पिउने गरेका छन् । यसरी पटक–पटक रक्सी भट्टीमा परिचयपत्र देखाएर रक्सी लिनुपर्ने कुराले मदिरा सेवकलाई निरुत्साहित गर्ने र मदिरा सेवनका कारण व्याप्त समस्या कम हुँदै जाने पनि धेरैले विश्वास गरेका छन् ।

प्रतिक्रिया